२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मनास्लुमा खचाखच पर्यटक

विदेशीका लागि सन् १९९५ बाट घुमघामको प्रवेश खुला गरिएको मनास्लु क्षेत्रमा बर्सेनि अवलोकनकर्ता बढेका छन् 
हरिराम उप्रेती

गोरखा — मनास्लु संरक्षण क्षेत्र (एमक्याप) अन्तर्गतको जगतस्थित पर्यटक जाँच चौकीमा गत बुधबार एकै दिन १ सय ६३ पर्यटकको तथ्यांक संकलन गर्‍यो । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लुलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको थियो ।

मनास्लुमा खचाखच पर्यटक

पर्यटकका लागि प्रवेश खुला गरिएको लामो समयपछि एकै दिन उक्त संख्यामा पर्यटक ‘इन्ट्री’ हुनु ‘रेकर्ड ब्रेक’ भएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को दाबी छ । ‘खुला गरेपछि केही सालसम्म एक वर्षमा तीन–चार सय पर्यटक आउँथे, पोहोर सात/सात हजार आए,’ एमक्यापका प्रमुख नरेन्द्र लामाले भने, ‘यो वर्ष कम्तीमा आठ हजार पर्यटक आउँछन् भन्ने हाम्रो प्रक्षेपण हो । गत सालकै अवस्था हेर्दा एक दिनमा ९० देखि सयको हाराहारीमा इन्ट्री हुन्थ्यो । यो वर्ष एकै दिन १ सय ६३ पर्यटक इन्ट्री हुनु भनेको रेकर्ड ब्रेक नै भयो ।’


उक्त क्षेत्रमा वर्षैपिच्छे पर्यटकको संख्यामा वृद्घि भएको उनले बताए । सन् २०१८ को नेभेम्बर ११ सम्मको तथ्यांकअनुसार ६ हजार ४ सय ११ पर्यटकले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरिसकेका छन् । साहसिक पदयात्रा गर्ने र प्रकृतिप्रेमी पर्यटकको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको छ । अक्टोबर, नोभेम्बर, सेप्टेम्बर, अप्रिल र मे महिना मनास्लु भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ । चालु वर्षको अक्टोबरको सुरुकै दिनबाट उक्त क्षेत्र अवलोकनका लागि आउने पर्यटकको संख्या दिनदिनै बढेको चुम्चेत लोक्पाकी सुनीता गुरुङले बताइन् ।


हाल उक्त क्षेत्रका होटलहरू पर्यटकले खचाखच भरिएको व्यवसायी बताउँछन् । ‘सिजन सुरु भएपछि होटलमा ग्राहकको कमी छैन । पाँच कोठा दिनमै बुकिङ हुन्छ,’ होटल व्यवसायी समेत रहेकी गुरुङले भनिन्, ‘यो टुरिस्ट आउने सिजन हो । भएका कोठा दिउँसै बुकिङ भइसकेका हुन्छन्, साँझमा कोही आइपुगे फर्काउनुपर्ने बाध्यता पनि छ ।’


उक्त क्षेत्रमा पुगेका पर्यटकले स्थानीय परिकारको खानेकुरा नै रोज्ने गरेको उनले बताइन् । मनास्लु क्षेत्रमा सयदेखि १ सय ५० वटासम्म होटल छन् । सबैजसो होटल अहिले आन्तरिक र बाह्य पर्यटकले भरिएको व्यवसायीहरू बताउँछन् । ‘पहिले जस्तो क्याम्प खडा गरेर बस्ने पर्यटक अहिले थोरै हुन्छन् । गाइड र एक/दुई जना भरिया लिएर आउने पर्यटक होटलमै बस्छन्,’ उनले भनिन्, ‘यसो हँुदा व्यवसायीको व्यापार बढेको छ ।’


मनास्लु आरोहण र लार्केपास पर्यटकको रोजाइमा पर्ने गरेको छ । पदमार्ग आउने धेरैजसो पर्यटकले ५ हजार १ सय ६० मिटर उचाइको लार्के पास गर्न रुचाउने गरेको जगतमा भेटिएका ट्रेकिङ गाइड टीका तामाङले बताए । ‘चुम र नुव्री दुवै भ्याली अवलोकनका लागि १९ दिनको प्याकेज हुन्छ,’ उनले भने, ‘कम समय लिएर आएका पर्यटक नुव्री हुँदै लार्केपास गरेर फर्कन्छन् । समय भएका दुवै भ्याली हेर्न मन पराउँछन् ।’


उक्त क्षेत्रको प्रकृति र वातावरणसँग पर्यटक रमाउने गरेको उनले बताए । मनास्लु क्षेत्र जैविक विविधता र प्राकृतिक भू–बनोटको हिसाबले सुन्दर भएकाले पर्यटकको संख्यामा बर्सेनि वृद्घि हुँदै गएको एमक्यापका प्रमुख लामाले बताए । ‘हिजोको अवस्थामा यहाँ पर्यटक भित्र्याउन सहज थिएन । अहिले हामीले प्रचारप्रसारमै जोड दिएका छौं,’ उनले भने, ‘प्रमोसनल मुभी बनाएर प्राचीन र सांस्कृतिक सम्पदा, वन्यजन्तुको अवस्था, भूबनोटको बारेमा विभिन्न भाषामा उल्था भएको मुभी बनाएर प्रचार गरेका छौं ।’


अन्नपूर्ण पदमार्गमा ग्रामीण सडक सञ्जाल विस्तार भएपछि पदयात्राको ठाउँ खुम्चिएका छन् । यसको विकल्पका रूपमा पर्यटकले मनास्लुलाई लिने गरेको उनले बताए । ‘यहाँ हालसम्म सडकले असर गरेको छैन । कल्चर नेचुरल बेस टुरिजमको रूपमा पनि यसलाई विकास गर्दा पर्यटक आकर्षित हुने नै भए,’ उनले भने ।


गोरखाको चुमनुव्री गाउँपालिकाअन्तर्गत पर्ने ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास र सामागाउँका पर्यटकीय क्षेत्रलाई मनास्लु संरक्षण क्षेत्रका रूपमा विकास गरिएको हो । उत्तरी क्षेत्रको भौगोलिक अवस्थिति, हिमशृंखला, सांस्कृतिक मठ, मन्दिर र गुम्बा अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?