सुरु भयो मुस्ताङीको उँधौली

चिसो बढेपछि एकाध कुरुवाबाहेक सबै मुस्ताङी बेंसी झर्न थालेका छन्
कान्तिपुर संवाददाता

म्याग्दी — चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङका विभिन्न भागबाट स्थानीय जाडो छल्न बेंसीका बस्ती झर्न थालेका छन् । गाउँले धमाधम बेंसी झरेपछि मुस्ताङको उपल्लो भेगका अधिकांश घर र होटल रित्ता भएका छन् ।

अधिकांश स्थानमा एकाध कुरुवा मात्रै बसेका छन् । न्यानो खोज्न बेंसी झर्ने मुस्ताङीको परम्परागत पद्धति भने फेरिएको छ । गधा र घोडाको बथानसँगै हिमाली जडीबुटी बोकेर परिवारसँगै पैदल बेंसीका बस्तीमा झर्ने मुस्ताङीहरू अहिले भने बस, जिप र ट्रकमा कोचिएरै झरिरहेका छन् । फाट्टफुट्ट घोडाको बथानलाई हिमाली जडीबुटी बोकाएर पैदल नै तल ओर्लिरहेकाहरूको लस्कर बेनी–जोमसोम सडकमा भेटिन्छ ।


‘कोही जहाजमा, कोही गाडीमा जान्छन् । खल्तीमा सुको नहुने हिंडेरै बेंसी झरेका छौं,’ हिमाली जडीबुटी र केही चिनियाँ सामग्री घोडामा बोकाएर पोखरा हिंडेका चराङका थुप्तेन गुरुङले भने, ‘बालबच्चा स्कुले असोजमै पोखरा झारेका छन् । महिलाहरू गाडीमा झरे, हामी घोडा धपाएर झर्दैछौं ।’


हिउँदको कात्तिकदेखि माघसम्मका चार महिना उनीहरू म्याग्दी, पर्वत र पोखरा हुँदै भारतका विभिन्न सहरसम्म पुगेर घुम्ती व्यापार गरी बिताउने गर्छन् । मुस्ताङीका हरेक वर्षका हिउँद यसरी नै बित्ने गरेको छ । सम्पन्न अधिकांशका घर पोखरा र काठमाडौंमा पनि छन् । अन्य जिल्लामा घर भएकाहरू माथिल्लो भेगमा चिसो हुन्जेल तलै हिउँद काट्छन् । सदरमुकाम जोमसोममा पनि हिउँदमा निकै कम होटल खुलेका हुन्छन् ।


मंसिरदेखि माघसम्म जिल्लाका विभिन्न भागमा हिमपात हुन्छ । सडक सञ्जालमा जोडिन थालेका मुस्ताङका गाउँहरूमा कृषि उपज र पर्यटनको आम्दानीले स्थानीयको बर्सेनि स्तरवृद्धि भइआएको छ । च्यांग्रा, आलु र स्याउले हातहातै नगद दिन थालेपछि व्यावसायिक कृषि र होटल सञ्चालनमा मुस्ताङी आकर्षित छन् । जाडो छल्न झर्ने परम्परामा पनि यसको असर परेको छ ।


जाडो छल्न झर्दा व्यापार गर्दै हिंड्ने परिवार पनि दशक अघिको तुलनामा घटेका छन् । बेंसीमा राखेर केटाकेटी पढाउने अभिभावक जाडो छल्न झर्दा पहिले जसरी व्यापारका लागि हिंड्दैनन् ।


आर्थिक स्थिति कमजोर भएकाहरूले भने घोडा र खच्चरमा सामान झारेपछि व्यापारका लागि हिंड्ने चलनलाई निरन्तरता दिएका छन् । हिउँदका चार महिना मुस्ताङीको जाडो छल्ने समय हिमाली जडीबुटीलाई बेचेर फर्कंदा खाद्यान्नको जोहो गर्ने गतिलो अवसर पनि हो ।


जाडो छल्न हिंडेकाहरू गर्मी सुरु भएपछि आफ्नो पुरानो थलो फिर्दा खाद्यान्न र अत्यावश्यक सामानको जोहो गरेर आइपुग्छन् ।


जौ, उवा, फापर र केही तरकारीबाहेक अन्य खेती नहुने र चौंरी, भेडा/च्यांग्रा पालेर जीविकोपार्जन गर्दै आएका उपल्लो भेगका मुस्ताङीको जीवन हिउँदमा कष्टप्रद हुन्छ ।


मुस्ताङका लोमन्थाङ, डालोमे र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाबाट बढी मात्रामा जाडो छल्न बेंसी छर्ने गर्छन् । मोटरबाटोको पहुँचले मुस्ताङको जनजीवनमा व्यापक फेरबदल आए पनि जाडो छल्न बेंसी झर्नुको विकल्प अझै टरेको छैन । हिउँदमा अत्यधिक चिसो हुने भएकाले घोडा खच्चर पनि बेंसी झार्ने चलन अझै छँदैछ ।


सरकारी कार्यालय र कर्मचारीहरू पनि तल्लो क्षेत्रमा ओर्लेका छन् । उपल्लो मुस्ताङका प्रहरी, हुलाक र स्वास्थ्यका कर्मचारीलाई चार महिनाका लागि तल्लो क्षेत्रका सम्बन्धित कार्यालयमा समाहित गराइएको छ ।


विद्यार्थीहरूसँगै झरेका शिक्षकहरूले पोखरामा अस्थायी विद्यालय स्थापना गरी अध्यापन गराउन थालेका छन् । कात्तिकदेखि मध्यफागुनसम्म मुस्ताङका विद्यालय बन्द गरेर पोखरामा अस्थायी कक्षा सञ्चालन गर्ने चलन पुरानै हो ।


‘मुस्ताङको उपल्लो भेग अब शून्य हुँदै गएको छ । आफूसँगै हिँडाउन नसकिने अवस्थाका वृद्धावृद्धा, घर कुरुवा र भेडा/च्याङ्ग्रा, चौंरीसमेतका पशुचौपाया मात्र छोडिएका छन्,’ चराङ माविका शिक्षक शिव बरुवालले भने, ‘चिसो बढे पनि अझै हिउँ परेको छैन । तर, सबै विद्यालयमा फागुनसम्मका लागि जाडो बिदा भयो ।’ तल झरेकाहरू अब आगामी फागुनको दोस्रो सातामात्रै माथि उक्लने उनले बताए ।


मुस्ताङी मात्र होइन उपल्लो भेगका डोल्पालीहरू पनि जाडो छल्न मुस्ताङको बाटो हुँदै बेनी आइपुगेको भेटिएका छन् । उनीहरूको केही समूहले पोखरा हुँदै दिल्ली पुग्ने योजना रहेको बताए । डोल्पाको छर्काभोट लगायत आसपासका बस्तीबाट सबैभन्दा नजिकको पैदल मार्गबाट मुस्ताङी बाटो हुँदै जाडो छल्न म्याग्दी र पोखरा पुग्ने गरेका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?