२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हाते कागजमा रोजगारी

कान्तिपुर संवाददाता

दमौली — पाल्पा रामपुरकी ३२ वर्षीया प्रेमकुमारी थापा तनहुँ शुक्लागण्डकीको नेपाली कागज उद्योगमा काम गर्छिन् । ११ महिने छोरा ढाडमा बोकेर उनी श्रीमान् दुर्गाबहादुरसँगै खट्छिन् । 

हाते कागजमा रोजगारी

ऋण गरेर दुर्गाबहादुर वैदेशिक रोजगारीमा गएका थिए । कतार र मलेसियामा लगभग पाँच वर्ष बसे पनि उनले कमाउन सकेनन् । ‘पैसा कमाउनुको सट्टा उल्टो ऋण भयो । काम गरेको तलब पनि उहाँले पाउनुभएन,’ प्रेमकुमारीले भनिन्, ‘ऋण तिर्नका लागि पनि दुवैजना मिलेर तीन वर्षदेखि यो उद्योगमा काम गरिरहेका छौं ।’ अझै करिब एक लाख रुपैयाँ तिर्न बाँकी रहेको उनले बताइन् ।


दुवै जनाले हाते कागज उद्योगमा काम गरेर मासिक करिब ४० हजार कमाउँछन् । दुर्गा जस्तै शुक्लागण्डकीका रामु सुवेदी पनि रोजगारीका लागि साउदी अरब पुगेका थिए । सोचेअनुसारको कमाइ भएन । अन्तत: घर आँगनमा खोलेको नेपाली कागज उद्योगमा काम गर्न फर्किए । उनीसँगै श्रीमती नीरु सुवेदी पनि काम गर्छिन् । ‘दम्पती मिलेर काम गरेका छौं,’ उनले भने, ‘विदेशजस्तो त किन हुन्थ्यो तर, जति भए पनि घरमा बसेर काम गर्न पाएका छौं ।’ दुर्गाबहादुर र रामुजस्ता २० जना दम्पती सँगै हाते कागजको काम गर्छन् । एक दम्पतीले मासिक न्यूनतम २४ हजारदेखि ४८ हजार रुपैयाँसम्मका कागज बनाउँछन् ।


हाते कागज सरकारी कामकाजमा उपयोग हुने भएकाले बजार राम्रै छ । उत्पादित कागज स्टक रहन पाउँदैन । शुक्लागण्डकी–४ मा सञ्चालित उद्योगले मागअनुसारको उत्पादन पुर्‍याउनै सकेको छैन । बजारमा रहेको मागको १० प्रतिशत मात्र कागज उत्पादन गर्न सकिएको शुक्लागण्डकी नेपाली कागज उद्योगका सञ्चालक सन्तोष सिग्देलले बताए ।


‘मागअनुसार उत्पादन गर्न सक्ने हो भने प्रशस्त आम्दानी हुन्थ्यो,’ उनले भने, ‘मागको अनुपातमा हामीले १० प्रतिशतमात्रै दिन सकेका छौं ।’ स्थानीय तह कार्यान्वयन भएयता कागजको माग झन् बढेको उनले बताए । चार वर्षअघि एक करोडको लागतमा स्थापना गरिएको उद्योग उनले विस्तार गर्दै लगेका छन् । ‘अहिले लगानी दुई करोड रुपैयाँ हाराहारी पुग्यो,’ उनले भने, ‘एक कोरीमा दुई सय पिस कागज हुन्छ । मासिक ६ सय ५० कोरी कागज उत्पादन हुने गरेको छ ।’


यहाँ उत्पादित कागज थोक व्यापारीले पोखरा र नारायणगढमा लैजान्छन् । प्रति कोरीको मूल्य १ हजार ६ सय रुपैयाँसम्म पर्छ । नेपाली शैली र जापानी प्रविधिको हाते कागज तयार गर्ने गरिएको उनले बताए ।


कागज बनाउने मुख्य कच्चा पदार्थ लोक्ता हो । अर्गेलीको बोक्रा ताछेर केमिकल प्रयोग गरी कागज बनाइन्छ । कागज उत्पादनका लागि बाहिरबाट केमिकलमात्रै आयात गरिन्छ । उद्योगमा लोक्ता इलाम र बाबियो दाङबाट ल्याउने गरिएको छ ।


कच्चा पदार्थलाई भुस, दाउराको आगोले पकाउने र त्यसलाई पखाल्ने गर्नुपर्छ । त्यसपछि मिक्स्चरमा हालेर पेलेपछि लेदो पदार्थ निस्कन्छ । लेदो पदार्थलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागजको आकार दिइन्छ । त्यसलाई घाममा सुकाएपछि कागज तयार हुन्छ । उद्योगमा १ हजार ८ सय वटा कागज सुकाउने फर्मा छन् ।


लगानी थपेर उत्पादन वृद्धि गर्न अपेक्षितरूपमा दक्ष कामदारको अभाव रहेको सञ्चालक सिग्देलले बताए । ‘अहिले श्रीमान् श्रीमती नै काम गरिरहेकाहरूको काम नियमित छ, नत्र कामदार टिक्दै नटिक्ने समस्या सधैं छ,’ उनले भने, ‘ज्याला नियमित दिए पनि कामदार नटिक्ने समस्या देख्दा लगानी थप्न जोखिम हुन्छ ।’ हाते कागजको बढ्दो उपयोगले स्थानीयस्तरमा पाइने कच्चा पदार्थ संकलकको हातमा पनि पैसा पुगेको उनले बताए ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?