धान थन्क्याउन हतार

जिल्लाका अधिकांश ग्रामीण भेगमा धान काट्ने काम सकियो 
कान्तिपुर संवाददाता

लमजुङ — दसैंअघि र पछि हतार हतार धान काटेका किसानलाई यतिबेला कुन्यु लगाएर राखेका धान झारेर घरमा भित्र्याउने हतारो छ । जिल्लाका अधिकांश ग्रामीण भेगमा धान काट्ने काम सकिएको छ । 

धान थन्क्याउन हतार

बजार र फाँटका ठूला खेतमा दाइँ हाल्ने चटारो छ । कृषि प्राविधिकका अनुसार अब धान काट्न पछौटे तथा ठूला फाँटका केही ठाउँमा मात्रै बाँकी छन् । करिब २५ प्रतिशत धान काट्न बाँकी छ ।


अधिकांश किसानले धान थन्क्याइसकेका छन् । लमजुङमा जेठ अन्तिम सातादेखि साउन पहिलो सातासम्म रोपाइँ हुन्छ । सुरुमा रोपिएका क्व्होलासोंथर गाउँपालिका ४ भुजुङ र मर्स्याङ्दी गाउँपालिका ५ घेर्मुका किसानले खेतबारीका सबै धान काटिसकेका छन् । घेर्मुका घनश्याम घलेले भने, ‘अब त खेतबारीमा आलु, काउली, बन्दा, साग लहलहाउन सुरु हुन लाग्यो ।’ भुजुङका यमबहादुर गुरुङका अनुसार घिम्चे खेतमा धान काटेर भित्र्याएपछि करु, जौ र गहुँ लगाउने तयारी छ ।


बेंसीसहरकी डम्बरकुमारी गुरुङले धान थक्याएर पनि खेतमा आलु लगाएको बताइन् । ‘आफ्नो खेत हुनेले आफैं धान काटेर आलु लगाए,’ उनले भनिन्, ‘आफ्नो खेत नहुनेले अरूको धान काटेर त्यही ठाउँमा आलु, काउली, लसुनप्याज रोपेका छन् ।’ मध्यनेपाल नगरपालिका भोर्लेटारका रमेशचन्द्र घिमिरेले भोर्लेटार, इशानेश्वर क्षेत्रका धान करिब ७० प्रतिशत काटिसकेको बताए । यसमा आधाभन्दा बढी किसानले धान झारेर पराल पनि तह लगाइसकेका छन् ।


‘अहिले कोही खाली छैनन् । आफ्नो खेतको धान भित्र्याएर अरूकहाँ खेताला जाने गरेका छन्,’ उनले भने, ‘धान थन्क्याउन माचोमाच छ ।’ राइनासटार सिँचाइ जलउपभोक्ता समितिका अध्यक्षका अध्यक्ष रामचन्द्र भट्टका अनुसार राइनासटार क्षेत्रका तीनपिप्ले, अलकाटार र भलायखर्कका किसानले धान काट्ने काम सकेका छन् । थन्क्याउने काम धमाधम छ । धमिलिकुवाको धान आधाआधी कटिसकिएको छ । उक्त ठाउँमा पनि धान भित्र्याउने चटारो छ । ‘सिँचाइ समस्याले केही खेतमा धान रोप्न पाइएन,’ उनले भने, ‘ढिलोचाँडो रोपेका धान पाकेर थन्क्याउने चटारो छ ।’


लमजुङका ४ नगरपालिका र ४ गाउँपालिकाका सबैजसो क्षेत्रमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लाका ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये १५ हजार बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ । पछिल्लो समय रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धानको खेती गर्ने गरिएको छ ।


हाइब्रिडमा लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको खेती गर्ने गरिएको छ । धमिलिकुवा, भोर्लेटार, सोतिपसल, रम्घा, राइनासटार, सुन्दरबजार, भोटेओडारका ठूलाठूला फाँटमा उन्नत तथा हाइब्रिड जातको धान खेती गरिएको कृषि प्राविधिकहरूले बताएका छन् । उनीहरूका अनुसार राम्रो उत्पादन दिने भएकाले उन्नत र हाइब्रिड धान किसानको रोजाइमा पर्ने गरेको छ ।


कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार जिल्लाका ७० प्रतिशत धान काटिसकेका छन् । करिब ३० प्रतिशतले धान झारेर भकारीमा भित्र्याएका छन् । ‘खेतबाट धान काट्ने काम सकेर भित्र्याउने कामको हतारो छ,’ उनले भने, ‘तल्लो क्षेत्रको बेंसी र चिसो ठाउँमा बाहेक प्राय: सबै ठाउँमा धान काटिसकेका छन् ।’ ढिलो पाक्ने क्षेत्रका धान मंसिर पहिलो सातासम्म काट्ने काम सकिने उनले बताए ।

प्रकाशित : कार्तिक २८, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?