कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

घर भत्काउँदै सडक चक्ल्याउँदै

कान्तिपुर संवाददाता

पर्वत — जलजला गाउँपालिका ७ मिलनचोकका भीमसेन आचार्यको घर सडकमै जोडिएको थियो । सँगैका रामकृष्ण आचार्य, बाबुराम कार्की र देवबहादुर पुन लगायतले पनि दुई दशकअघि बनाएका घर बाटोसँगै जोडिएका थिए । यसपटक उनीहरूले घरहरू आफंै धमाधम भत्काएर सडक फराकिलो पार्न थालेका छन् । 

घर भत्काउँदै सडक चक्ल्याउँदै

दुई दशकअघि धाइरिङका बासिन्दालाई गाउँको तरकारी ढुवानी गर्न ट्रयाक खोलेको सडक ३ मिटरको मात्रै थियो । हाल यो सडक मिलनचोक–धाइरिङ हुंदै शालिजा, फलामेडाँडा, लेकफाँट लगायतका गाउँसम्म फैलियो । सडकमा सवारी चाप बढ्न थालेपछि साँघुरो सडकलाई स्थानीयले आफ्नै सक्रियतामा फराकिलो बनाउन थालेका हुन् । गाउँपालिका र वडा कार्यालयको आग्रहमा स्थानीयले ११ घर पूर्णरूपमा र ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो पार्न थालेका हुन् । ‘घर मात्रै देखेर भएन,’ रामकृष्ण आचार्यले भने, ‘घरसम्म आउने निकास गतिलो हुनुपर्‍यो । निकासकै लागि घर भत्काइयो ।’ अन्यत्र सडक फराकिलो पार्न सरकारले बल प्रयोग गरेका बेला मिलनचोकवासीले भने स्वतस्फूर्त रूपमा घर भत्काएर सडक चक्ल्याउन सहयोग गरेको उनले बताए ।


मिलनचोकदेखि लेकफाँट र शालिजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करिब ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाइएको भीमसेन आचार्यले बताए । सानो गाडी एकतर्फी मात्रै चल्ने गरी निर्मित साँघुरो सडकलाई संरचना हटाएर हाल आठ मिटरको फराकिलो बनाइएको छ । पहिला दुईतर्फबाट जिप आउँदा जाम हुने, धुलाम्मे हुने सडक अहिले दुईतर्फ सहज रूपमा सवारी आउजाउ गर्न सक्ने र धूलो पनि नउड्ने भएको स्थानीय बाबुराम कार्कीले बताए । ‘बिहानदेखि बेलुकासम्म धूलोले बसिसाध्य हुन्थेन,’ उनले भने, ‘अहिले आनन्द भएको छ ।’


सडक ढलान र नाली बनाउन स्थानीयले घरलौरी पाँच–पाँच दिनका दरले श्रमदानसमेत गरेका थिए । दुई सय मिटर सडक फराकिलो गरी दुइतर्फी नाली सहित ढलान गर्नका लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले मिलनचोकवासीको सक्रियताले आफू छक्क परेको बताए । ‘सडकमा खरबारी पर्दासमेत झगडा गर्न आउने मान्छे हुन्छन्,’ उनले भने, ‘मिलनचोकमा आफैं घर भत्काएर सडक चक्ल्याउने लहरै चल्यो । मैले पत्याएकै थिइनँ ।’ सुरुमा २० लाख बजेट माग गर्दा गाउँपालिकाले त्यहाँको बस्तीमा सडक चक्ल्याउन समस्या हुने भन्दै बजेट विनियोजन गर्न आनाकानी गरेको थियो । तर, स्थानीयले प्रतिबद्धता जनाएपछि चालु वर्षमै काम सक्ने गरी गाउँसभाले बजेट विनियोजन गरेको हो ।


२०० मिटर सडक ढलान र नाली बनाउने योजना पूरा गर्न रकम अभाव भएपछि आर्थिक संकलनको तयारी भएको उपभोक्ता समितिका अध्यक्ष लालवीर पुनले बताए । सडकको दुवैतर्फ नाली बनिसकेको छ । ‘७० प्रतिशतभन्दा बढी काम भइसकेको छ,’ उनले भने । उपभोक्ताले २ लाख ३७ हजार ७ सय ८० रुपैयाँ बराबरको श्रमदान गरेका छन् । सडक फराकिलो बनेपछि मिलनचोकको स्वरूप नै फेरिएको छ । गत असोज ५ मा सम्झौता भएको योजना आगामी वैशाख १५ भित्र सक्ने लक्ष्य छ । उपभोक्ताको सहयोग र सक्रियताका कारण लक्ष्यअघि नै सकिनेमा ढुक्क भएको अध्यक्ष पुनले बताए । जनसहभागिता र समुदायको सहयोगका कारण मिलनचोकको सडक ढलान योजना नमुना र उदाहरणीय भएको वडाध्यक्ष टुंगनाथ शर्माले बताए ।

प्रकाशित : कार्तिक २८, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?