टेकनथुम्कीमा ल्यान्डफिल

स्थानीय असहमत 
प्रताप रानामगर

दमौली — वातावरण प्रभाव मूल्यांकन समितिले व्यास ५ को टेकनथुम्की सामुदायिक वन क्षेत्रमा व्यास नगर क्षेत्रको फोहोर तह लगाउन ल्यान्डफिलका लागि उपयुक्त भएको प्रतिवेदन तयार पारेको छ । 

टेकनथुम्कीमा ल्यान्डफिल

व्यास नगर क्षेत्रबाट निस्केका फोहोर जथाभावी व्यवस्थापन गरिँदै आएको छ । मादी नदी किनारमा फोहोर फाल्नुभन्दा व्यवस्थापनको उपयुक्त ठाउँ चयन गर्न नगरपालिकाले खोजी गरिरहेको थियो । यसका लागि ल्यान्डफिलका लागि प्रस्तावित टेकनथुम्की वन क्षेत्रमा वातावरण प्रभाव मूल्यांकन गरिएको हो ।


उपयुक्त भएको प्रतिवेदनमा आएपछि योजना अघि बढाउने बाटो खुलेको व्यास नगरपालिकाकी उपप्रमुख मीरा जोशीले बताइन् । ‘ल्यान्डफिलका बारेमा राय लिन स्थानीयसँग छलफल सुरु गरेका छौं,’ उनले भनिन्, ‘प्रतिवेदन आएपछि यो पहिलोपटकको छलफल हो ।’ ल्यान्डफिल बनाउन स्थानीयले साथ दिने विश्वास लिइएको उनले बताइन् । ‘प्रस्तावित ठाउँमा नकुहिने फोहोर मात्रै लैजाने, कुहिने फोहोर व्यवस्थापन बेग्लै गर्ने योजना छ,’ उनले भनिन्, ‘स्थानीयले कुरा बुझिदिए यो नगरको हितमै हुने योजना हो ।’ वर्षौंदेखि फोहोर व्यवस्थापन गर्न उपयुक्त स्थान छनोट हुन नसक्दा योजना अगाडि नबढेको उनले बताइन् ।


उता टेकनथुम्की क्षेत्रका स्थानीय भने नगरपालिकाको प्रस्तावमा असहमत छन् । बस्ती नजिक ल्यान्डफिल्ड राख्दा वातावरण प्रदूषण हुने भन्दै उनीहरूको चिन्ता छ । ‘नजिकै फोहोर फाले दुर्गन्ध हुन्छ,’ स्थानीय आइतबहादुर दरैले भने, ‘मान्छेको स्वास्थ्यमा असर पर्नेगरी ल्यान्डफिल साइट बनाउनु उपयुक्त होइन ।’


प्रस्तावित योजना भएकाले यसमा उपयुक्त निकासका लागि छलफल गर्न सकिने उनले बताए ।

उक्त ठाउँमा ल्यान्डफिलका लागि सामुदायिक वन र जिल्ला वन कार्यालयले पनि स्वीकृति दिइसकेका छन् । व्यास नगर क्षेत्रका घर र पसलहरूबाट निस्कने फोहोरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गर्ने गरिएको छ ।


कुहिने फोहोर लगेर जमिनमा गाड्ने गरिएको छ भने नकुहिनेमा पनि सिसा र प्लास्टिक आदि कबाडीले लैजाने गरेका छन् । बाँकी रहने फोहोर मिल्काउन उपयुक्त स्थानको अझै टुंगो लागेको छैन । व्यास नगरका १, २, ३, ४ र ५ नम्बर वडाबाट दैनिक ८ टन हाराहारी फोहोर संकलन हुन्छ । भित्री सडक, पृथ्वी राजमार्ग र दमौली बजार क्षेत्रका टोलबाट बढी फोहोर निस्कन्छ ।


नगर क्षेत्रबाट संकलन हुने फोहोर व्यवस्थापनका लागि स्थायी ल्यान्डफिल साइट नहुँदा मादी नदी किनारको भटेरीमा फाल्ने गरिएको छ ।


फोहोर संकलनका लागि नगरपालिकाका तीनवटा ट्रयाक्टर र दुईवटा टिपर छन् भने व्यवस्थापन गर्न एक/एकवटा जेसीभी र डिस्पोज ट्यांकर उपयोग गरिएको छ । फोहोर संकलन र व्यवस्थापन गर्न २१ जना कर्मचारी खटिएका छन् ।


फोहोर व्यवस्थापनमा वार्षिक ५६ लाख रुपैयाँ खर्च हुँदै आएको सरसफाइ शाखाका अधिकृत कृष्णराज घिमिरेले बताए । उनका अनुसार नगरवासीबाट मासिक रूपमा सरसफाइ शुल्क लिने गरिएको छ ।


‘प्रत्येक घरधुरीबाट निस्कने फोहोरका आधारमा २५ देखि ७५ रुपैयाँका दरले लिने गरिएको छ,’ उनले भने, ‘यसबाट वार्षिक १६ लाख रुपैयाँ उठ्छ । सरसफाइमा लाग्ने नपुग खर्च नरगपालिकाले आन्तरिक स्रोतबाट गर्दै आएको छ ।’

प्रकाशित : कार्तिक २९, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?