परदेशको कमाइ गाउँको विकासमा

गुणस्तरीय शिक्षा, नि:शुल्क स्वास्थ्य सेवा र दैवीप्रकोप पीडितलाई राहत र उद्धार अभियानमा परदेसीको कोष परिचालन
कान्तिपुर संवाददाता

बागलुङ — रोजगारी खोज्दै २१ वर्षअघि जापान पुगेका इन्द्र सुवेदी बर्सेनि बिदा मिलाएर गाउँ फर्कन्छन् । काम गरेर बचाएको रकमबाट गाउँ विकासका लागि खर्च गर्ने उनको नियमितता भइसकेको छ ।

परदेशको कमाइ गाउँको विकासमा

काठेखोला ५ बिहुँका सुवेदीजस्तै सयौंको संख्यामा बागलुङे जापानमा छन् । उनीहरूले हरेक वर्ष आर्थिक संकलन गरेर गाउँ र जिल्लाको विकासका लागि सहयोग गर्दै आएका छन् । गाउँमा सडक निर्माण, मठमन्दिर मर्मत, दैवीप्रकोप उद्धार, शिक्षा, स्वास्थ्य र अपांगता क्षेत्रका लागि उनीहरूले लगानी गर्दै आएका हुन् ।


एक्लाएक्लै सहयोग गर्दै आएका यहाँका युवाहरूले तीन वर्षयता संगठित रूपमा सहयोगी अभियान थालेका छन् । बिहुँकै दीपक कँडेल अध्यक्ष रहेको बिहुँकोट समाज जापान गठन भएको छ । उक्त संस्था जापानको टोकियो र खान्साई दुई स्थानमा संगठित छ ।


संस्थामा बिहुँकोटका मात्र ३ हजार १ सयजना सदस्य भइसकेका छन् । ‘एउटै गाउँबाट गएर जापानमा व्यवसाय गर्ने र रोजगारी गर्नेको संख्या यति धेरै भएको नेपालकै पहिलो होला,’ सुवेदीले भने, ‘गाउँघरमा महिला, बालबालिका र बूढाबूढी मात्र भएकाले सहयोगी अभियान चलाएका हौं ।’ हरेक घरका काम गर्न सक्नेजति तन्नेरी जापानमै रहेकाले जुनसुकै काम पर्दा पनि उनीहरूलाई नै गुहार्ने चलन बसिसकेको छ ।


जापानमा रहेको उक्त संस्थामार्फत बिहुँकोटमा पनि सहायक संस्था गठन गरिएको छ । जापान समाज बिहुँकोटले जापानबाट आएको सहयोगलाई सदुपयोग गर्ने र विकासमा लगानी गरिरहेको अध्यक्ष गौरीशंकर शर्माले बताए । ‘रगतलाई पसिना बनाएर कमाएको पैसा बचाएर पठाएका छौं । उहाँहरूले सदुपयोग गर्नुभएको छ,’ सुवेदीले भने, ‘गाउँकै शिक्षा र स्वास्थ्यका लागि पनि १ करोड रुपैयाँको अक्षय कोष बनाएका छौं ।’


संस्था स्थापनाको तीन वर्षभित्रै झन्डै ३ करोडको लगानी भइसकेको उनले बताए । जापानमा काम गर्नेले सामान्य शुल्कमा सदस्यता काट्ने चलन छ । आजीवन सदस्य बनेमा ५० हजार रुपैयाँ तिर्नुपर्छ । धेरै वर्षदेखि काम गरिरहेकाहरूले आजीवन सदस्य बनेर संकलित रकम गाउँ पठाएको खान्साईका अध्यक्ष कृष्ण सुवेदीले बताए ।


चालु वर्ष मात्र समितिले सामुदायिक भवन, मठमन्दिर र सडक मर्मतलगायतमा ५० लाखभन्दा बढी लगानी गरेको छ । त्यस्तै भूकम्प र बाढीपहिरो पीडितलाई जनही १० हजारदेखि आवश्यकता हेरेर नगद सहयोग गरेका छन् ।


दीर्घरोग लागेकालाई उपचार खर्च, महिला स्वास्थ्यका लागि आवश्यकताअनुसारको उपचार खर्च समेत दिएका हुन् । बिहुँमै विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजनाको तयारी पनि गरिएको जापान समाजका उपाध्यक्ष देवीप्रसाद कँडेलले बताए ।


जापानमा बसेका नेपाली युवाले दैनिक १४ देखि १६ घण्टासम्म काम गर्ने गरेका छन् । उनीहरूले आफ्नो गाउँघरका लागि गरिने सहयोग संकलनमा सक्रियतापूर्वक साथ दिन्छन् । समयमा उपचार पाउन नसकेका र सुत्केरी सेवाका लागि अक्षय कोषबाट सहयोग गर्न थालिएको छ ।


‘समयमा उपचार गर्न नसक्दा अकालमा कसैको मृत्यु नहोस्, आर्थिक अभावमा अभिभावकले बालबालिका पढाउन नसकेको समाचार सुन्न नपरोस् भनेर कोष प्रयोग गरेका छौं,’ सुवेदीले भने, ‘अझै बढाएर कोषलाई ५ करोडसम्मको बनाउने चाहना छ ।’ केही पर्दा झट्ट अघि सर्नसक्ने हिम्मतिला र बलिया तन्नेरीहरू परदेसमा पुगेका छन् ।


गाउँमा बाढीपहिरो गयो भने उद्धार गरिदिने युवा थोरै छैन । ‘त्यस्तो अवस्थामा तत्काल पुन:स्थापना गर्नुपर्ला, हामी विदेशमा छौं, अर्काको सहयोग लिनुपर्छ,’ उपाध्यक्ष कँडेल भन्छन्, ‘हामीले बनाएको कोषबाट प्रारम्भिक चरणको राहत प्रदान गर्न सकिन्छ ।’ कानुनी रूपमा नेपालको संस्था दर्ता छ । त्यसैले दर्ता भएकै संस्थाबाट उनीहरूले यो सहयोग अभियान सञ्चालन गरेको बताए ।


गुणस्तरीय शिक्षा, नि:शुल्क स्वास्थ्य सेवा र दैवीप्रकोपपीडितलाई राहत र उद्धार अभियानमा परदेसीको कोष परिचालन भइरहेको छ । गाउँलाई पर्यटनको गन्तव्य बनाउने काममा पनि लगानी बढाउने योजना बनेको उनीहरूले बताए ।


मध्यपहाडी लोकमार्गले १९ किमि क्षेत्र ओगटेको बिहुँकोटमा मात्र वार्षिक ५ करोडको सुन्तला फल्छ । युवाहरूले जापानको बजारमा ती सुन्तला निर्यात गर्ने र जैविक उत्पादनको केन्द्र बनाएर केही वर्षमा रोजगारीका लागि विदेशिएकालाई स्वदेश फर्काउने योजना पनि बनाएका छन् । अक्षयकोषले शिक्षाको गुणस्तर विकासमा समेत सहयोग पुग्न थालिसकेको सचिव भीष्म कँडेलले बताए ।


देवघाटधामको हरिहर आश्रमका पीठाधीश परमानन्द सरस्वती र हालका सञ्चालक ज्ञानानन्द सरस्वतीको जन्मस्थान रहेकाले बिहुँकोटमा धार्मिक पर्यटक भित्र्याउनका लागि पनि उनीहरूले लगानी गरेको बताए । दुई करोड रुपैयाँको लागतमा निर्मित त्रिपुरेश्वर मन्दिरमा सयौं पर्यटक लैजाने गुरुयोजना पनि उनीहरूले बनाइसकेका छन् ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?