कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बालविवाहविरुद्ध कचहरी

–जन नेत्र मावि, भुकदेउराली मावि, झिलिभर्‍याङ आधारभूत विद्यालय, भवानी आधारभूत विद्यालय र जनज्योति थम मावि र हिमालय माविका विद्यार्थी ‘कचहरी’ मा सामेल
–मुलुकमा बालविवाहको कारण, अवस्था र त्यसपछिको असरबारे बहस 
कान्तिपुर संवाददाता

पर्वत — बालविवाहविरुद्ध मोदी गाउँपालिकाका ६ विद्यालयका बालबालिका एकै थलोमा भेला भएका छन् । विभिन्न धार्मिक परम्परामा अझै पनि बालबालिकाको कलिलो उमेरमै विवाह हुने र त्यसपछि पर्ने शारीरिक र सामाजिक समस्याबारे सचेत गराउन विद्यार्थीले अभियान नै चलाउने प्रतिबद्धता जनाएका छन् ।

बालविवाहविरुद्ध कचहरी

जन नेत्र माध्यमिक विद्यालयमा भएको ‘बालकचहरी’ मा मोदी १ को भुकदेउराली मावि, झिलिभर्‍याङ आधारभूत विद्यालय, भवानी आधारभूत विद्यालय र जनज्योति थम मावि, मोदी २ को जननेत्र मावि तथा मोदी ३ को हिमालय माविका विद्यार्थी भेला भएर बहस चलाएका हुन् । कचहरीमा उनीहरूले मुलुकमा बालविवाहको कारण, अवस्था र त्यसपछिको असरबारे खुलेर कुरा गरे ।


‘छोरीको महिनावारी नहुँदै बिहे गरिदिए पुण्य हुन्छ भन्ने धार्मिक मान्यता अझै छ,’ जननेत्र माविकी छात्रा स्वस्तिका चापागाईंले भनिन्, ‘यही कारणले घरबारविहीन भएका घटना हाम्रै गाउँमा छन् । यस्ता कुरीति जरैदेखि उखेल्न जरुरी छ ।’ भुकदेउराली माविका छात्र सोमबहादुर परियारले दलित समुदायमा १५ वर्ष नपुग्दै छोरीको विवाह गर्ने चलन अझै कायमै रहेको बताए । ‘हाम्रो समुदायका अभिभावक खासै पढेलेखेका अझै छैनन्,’ उनले भने, ‘छोराछोरीको छिटो विवाह गरिदिए परिपक्व हुन्छन् भन्ने अज्ञानले सानैमा विवाह गरिदिन्छन् । अभिभावकले करकापमा विवाह गरिदिएपछि नाइ भन्ने अवस्था हुँदैन ।’ दलित र विपन्न समुदायमा बालविवाहविरुद्धको कानुनले कुनै प्रभाव नपारेको उनले बताए ।


सहभागी विद्यार्थीहरूले बालविवाहविरुद्ध बनेका कानुन र कसुरदारलाई हुने सजायँबारे गाउँ–गाउँ र घरघरै खुला बहस चलाउन आवश्यक रहेको औंल्याए । नवज्योति थम माविकी रोशनी थापाले गाउँघरमा हुने बालविवाहलाई अगुवाहरूले नै गुपचुप राख्दा त्यसको असर पछिसम्म पर्ने गरेको बताइन् । ‘हाम्रै गाउँमा एउटा दाइको केही वर्षअघि १७ वर्षमै करकापमा विवाह गरिदिए,’ उनले भनिन्, ‘त्यसको केही वर्षमै डिभोर्स भयो । बिहे गराइदिनेलाई कुनै चासो भएन । दाइ भाउजुको बिचल्ली छ ।’


बालबालिकाहरूले अब बालक्लब गठन गरेर पनि गाउँमा बालबिवाहविरुद्ध चेतनामूलक कार्यक्रम गर्नुपर्ने निचोड निकाले । करिब ३ घण्टा भएको कचहरीमा सहभागी बालबालिकाहरूले बालक्लबमार्फत हुने सचेतनामूलक कार्यक्रममा स्थानीय समुदाय, विद्यालय, शिक्षक, अभिभावक लगायत सबै पक्षको सहयोग आवश्यक रहेको औंल्याए ।


‘बालबालिका भोलिका कर्णधार भनेर सबैले भन्छन्,’ हिमालय माविका धनबहादुर पुनले भने, ‘आजका सुनौला फूल कसैले सोच्दैनन् । हामीले अगुवाइ गरेका कार्यक्रमलाई कसैले वास्तै गर्दैनन् ।’ उमेर नपुगी विवाह भएको जोडी दुवैलाई आपसमा पारिवारिक समस्या हुने सहभागीले औंल्याए ।


सहभागी विद्यार्थीलाई जननेत्र माविका शिक्षक भूमिराज शर्माले बालविवाहको वर्तमान अवस्था, त्यसले पार्ने असर लगायतबारे सुनाएका थिए । कचहरीका छात्राछात्राका सहयोगीका रूपमा सहभागी शिक्षकहरूले पछिल्लो समय सामजिक सञ्जालको प्रयोगले धेरैजसो बालबालिका आफूखुसी विवाह गर्ने प्रचलन बढेको भन्दै त्यसतर्फ सचेत रहन विद्यार्थीलाई आग्रह गरे ।


‘पहिला अभिभावकले करकापमा विवाह गरिदिन्थे । अहिले अवस्था बदलिएको छ,’ शिक्षक बुद्धिमान गुरुङले भने, ‘८ कक्षा नपढ्दै फेसबुकमा कुराकानी गर्छन् । केही समयमै विवाह हुन्छ । कुरा नमिल्नेबित्तिकै डिभोर्स । सामाजिक सञ्जालको दुरुपयोग बालबालिकाबाटै हुनेगरेको छ । त्यसलाई रोक्न बालबालिका नै सचेत हुनुपर्छ ।’

प्रकाशित : कार्तिक २९, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?