२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बैंकबाट पेन्सन झिक्नै सास्ती

भारतीय सेनाको पेन्सन लिन तोकिएको बैंक धाउनुपर्ने र क्याम्पमा पुगेर हरेक वर्ष आफू जीवितै भएको प्रमाण र सिफारिससमेत बुझाउनुपर्ने झन्झट 
प्रकाश बराल

बागलुङ — जैमिनी नगरपालिकाको राङखानीका ७१ वर्षीय गंगाबहादुर राना भारतीय सेनाका सेवानिवृत्त हुन् । सैनिक बोर्डले दिने पेन्सन बुझ्न उनले सदरमुकाम आइरहनुपर्छ । 

बैंकबाट पेन्सन झिक्नै सास्ती

सदरमुकाममा पेन्सन क्याम्प र बैंक छ । पेन्सन लिन तोकिएको बैंक नजिक नभएपछि सदरमुकाम धाउनुपर्ने बाध्यता एकातर्फ थियो, क्याम्पमा पुगेर हरेक वर्ष आफू जीवितै भएको प्रमाण र सिफारिससमेत बुझाउनुपर्दा अर्को झन्झट भएको उनको गुनासो छ ।


यसअघि सदरमुकामस्थित सैनिक बोर्डमा आएर उनले पट्टा देखाएपछि पेन्सन पाउँथे । हरेक वर्ष ६/६ महिनामा बोर्डले पेन्सन वितरण गथ्र्यो । बोर्डको कागजात मिलाएपछि मात्र फेरि बैंकमा घण्टौं लाइन बसेर खाता ‘अपडेट’ गर्नुपर्ने झन्झट उनीजस्तै थुप्रै भूपू सैनिकहरूलाई परेको छ ।


गत वैशाखदेखि बोर्डले पेन्सन बैंकमा पठाउने निर्णय गरेको थियो । पेन्सन पाउनका लागि सदरमुकाममा मात्र शाखा भएको एसबीआई र एभरेस्ट बैंक तोकिएको छ । हरेक वर्षको एकपटक पेन्सनकर्ता जिउँदै छु भन्ने प्रमाण जुटाउन सैनिक बोर्डमा अनिवार्य आउनुपर्ने व्यवस्थाले सास्ती भोग्नु परेको हरिचौरका ८१ वर्षीय टेकबहादुर खत्रीले गुनासो गरे ।


बोर्डले भारतीय बैंकसँग कारोबार भएका एसबीआई र एभरेस्ट बैंकमा मात्र खाता खोल्ने सुविधा दिएको छ । नियमित सदरमुकाम आउन साथी चाहिने र सदरमुकाम आउजाउ गर्न हजारौं खर्च हुने समस्याले पेन्सनधारी वृद्धवृद्धा निरास छन् । नयाँ नियमले हैरानी बढाएको उनीहरूको गुनासो छ ।


बोर्डले एक पटकमा एक लाख रुपैयाँभन्दा धेरै रकम झिक्नसमेत नदिने व्यवस्था गरेको छ । ‘एक लाखभन्दा बढी पैसा झिक्नुपरे पटक–पटक बैंकमा धाउनुपर्ने बाध्यता भयो,’ रानाले भने, ‘बुढेसकालमा आफ्नै पैसा झिक्न पनि दु:ख पाइएको छ ।’ गलकोटका पूर्णबहादुर रानाले पनि यस्तो नियमले झन्झट खेपेको गुनासो गरे । ‘बैंकमा राख्दा आफ्नो पैसा सुरक्षित त भयो तर चाहिएका बेला झिक्न हजारौं खर्चेर आउनै समस्या छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रबाट सहयोगी लिएर आउनेलाई परेको झन्झट बारे बुझ्ने काम कसैबाट भएन ।’


गाउँ तहमा पुगेका सबै बैंकबाट रकम झिक्ने व्यवस्था गरेर मात्र यो व्यवस्था लागू गर्दा सहज हुने उनको भनाइ छ । पेन्सन वितरण गर्ने दुई बैंकका शाखा सदरमुकाममा मात्र हुनुले टाढा र अप्ठ्यारो बाटो आउजाउमा असजिलो भएको हो ।


बोर्डले भने क्याम्पबाटै पेन्सन वितरण गर्दा समय र जनशक्ति धेरै लागेको, बूढाबूढीको पैसा ठगिने वा चोरिने समस्या हुने गरेकाले यो नयाँ व्यवस्था गरेको जनाएको छ । केही समयअघि भारतीय सेनाका समाज कल्याण प्रमुख बागलुङ आएर बैंकबाट पेन्सन वितरण हुने घोषणा गरेका थिए । उक्त घोषणापछि पेन्सनको रकम सम्बद्ध व्यक्तिको बैंक खातामा पठाउन थालिएको छ । बोर्डमा दर्ता भएर पेन्सन थाप्ने धौलागिरि अञ्चलका ७ हजारभन्दा धेरै भूपू सैनिक र तिनका आश्रित छन् ।


क्षेत्रगत आधारमा पहिले–पहिले क्याम्पबाट बागलुङ, पर्वत र म्याग्दीका भूपूलाई १२ दिनसम्म लगाएर पेन्सन वितरण गरिन्थ्यो । यहाँबाट वर्षमा ७० करोड रुपैयाँभन्दा बढी रकमको पेन्सन वितरण हुने गरेको छ । पेन्सन क्याम्प सञ्चालनका बेला बागलुङमा मेला पनि लाग्थ्यो । पेन्सनको रकम बुझेकाहरूले मेलामा गर्ने खर्चले मेलामा धेरैको व्यापार चल्थ्यो ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?