कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नापी र मालपोत सहयोगीका भरमा

दसैंका लागि गएका कर्मचारी तिहार सकिएपछि पनि फिरेनन्
अधिकृतको दरबन्दी छ, कर्मचारी छैनन् 
हरिराम उप्रेती

सिर्दिवास, गोरखा — सेवाग्राही सिर्दिवासको कार्यालय जान्छन् । जिम्मेवार कर्मचारी कहिल्यै भेटिँदैनन् । चुमनुव्री गाउँपालिका ३ सिर्दिवासमा रहेका नापी र मालपोत कार्यालयमा कर्मचारी नबस्दा सेवाग्राही हैरान छन् । 

नापी र मालपोत सहयोगीका भरमा

दुर्गमका बासिन्दालाई सहज सेवा उपलब्ध गराउन पाँच वर्षअघि दुवै कार्यालय सिर्दिवासमा स्थापना भएको थियो । दुवै कार्यालय अहिले कार्यालय सहयोगी (पियन) को भरमा छन् । स्थापनाकै चरणदेखि दुवै कार्यालयमा अक्कल–झुक्कल मात्र कर्मचारी आउने गरेको स्थानीय बताउँछन् ।


‘वर्ष दिनमा तीन/चार पटक कर्मचारी आउँछन्, दुई/चार दिन बसेर फर्कन्छन्,’ स्थानीय नसानी गुरुङले भनिन्, ‘कर्मचारी बस्दैनन् भनेर यहाँका मान्छेलाई पहिल्यै थाहा छ । त्यही भएर नापी र मालपोतको काम पर्दा सदरमुकाम नै धाउनु परेको छ ।’ कहिलेकाहीं कर्मचारी आइपुगे कि भन्दै सोध्न कतिपय सेवाग्राही पुग्ने गरेको उनले बताइन् ।


फोन गरेर कर्मचारी भए/नभएको सोधेर मात्र सेवाग्राही आउने गरेका छन् । ‘बूढाबूढी मान्छेसँग फोन हुँदैन, दुर्गम ठाउँमा फोन पनि लाग्दैन,’ उनले भनिन्, ‘कतिपल्ट काम परेकाहरू आएर त्यसै फर्कने गरेका छन् ।’ दसैं बिदामा गएका कर्मचारी तिहार सकिए पनि कार्यालय आइनपुगेको उनले बताइन् ।


दुवै कार्यालयमा कार्यालय सहयोगी मात्र भेटिने गरेका छन् । नापीमा ठस्याङ गुरुङ र पार्वती गुरुङ कार्यालय सहयोगी छन् । उक्त कार्यलयमा एक अधिकृत, तीन नासु र एकजना खरिदारको दरबन्दी छ । एकजना खरिदार कास्कीमा काजमा गएका छन् । दुवै कार्यालयमा दरबन्दी भए पनि अधिकृत छैनन् ।


दुई नासु मात्र नापी कार्यलयमा कार्यरत छन् । ‘हाकिम नहुँदा काम पनि हुँदैन,’ कार्यालयमा भेटिएका ठस्याङले भने, ‘थोरै जनसंख्या छ । हाकिम भएको बेला पनि सेवाग्राहीको त्यति भीड हँुदैन ।’ मालपोतमा पनि दुई कार्यालय सहयोगीसहित एक नासु र खरिदार कार्यरत छन् । कहिलेकाहीं कार्यालय पुगेका बेला उनीहरू वर्ष दिनकै हाजिर भने गर्न छुटाउँदैनन् ।


दुई साताअघि सिर्दिवास पुगेका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई दुवै कार्यालयमा अनुगमनका लागि पुग्दा कर्मचारी भेटिएनन् । इलाका प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा रामप्रसाद शर्मालाई उनले निर्देशन दिए । प्रजिअको निर्देशनअनुसार आगामी दिनमा कर्मचारी कार्यालयमै बस्न भनिएको शर्माले बताए । ‘कर्मचारी सिर्दिवास तर्फ गएका छन्,’ उनले भने ।


साबिकका उहिया, केरौंजा, सिर्दिवास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारका बासिन्दालाई सेवा दिन दुवै कार्यालय राखिएका हुन् । दुर्गम गाउँमा स्थापना भएका कार्यालय भाडाको घरमा छन् । गोरखा सदरमुकामबाट दुई दिनको पैदल यात्रापछि सिर्दिवास पुगिन्छ । अनुगमन निरीक्षण गर्न उच्च तहका कर्मचारी हतपत जाँदैनन् । कसैले छड्के चेकजाँच गर्ने नभएकाले पनि कर्मचारी कार्यालय नबस्ने गरेको स्थानीय गुनासो गर्छन् ।


जग्गा पास, नामसारी, सर्जिमिन, कित्ता काट र लालपुर्जामा, देखिएका त्रुटी सच्याउन सेवाग्राही उक्त कार्यालयमा आउने गरेका छन् । जिम्मेवार कर्मचारी नै नभेटिँदा सेवाग्राही मर्कामा परेका छन् । सिर्दिवास र छेकम्पारबाट गोरखा सदरमुकामका कार्यालयसम्म आउन कम्तीमा सात दिन खर्चनुपर्छ ।


सडक सञ्जालले नछोएको दुर्गमका अन्य गाउँबाट सदरमुकामसम्म आउन पनि दुई दिनभन्दा बढी

समय लाग्छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?