कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

हस्तकलाको सीप तिखार्दै

सिल्मी, पर्वत — एउटा खुट्टा र हातले राम्रोसँग काम गर्दैनन् । हड्डीमा देखिएको क्षयरोगको उपचार सफल नभएपछि यस्तो भएको हो । कुश्मा ११ सिल्मीका मणिलाल पौडेल शारीरिक रूपमा जति अशक्त छन्, उनको कलाको क्षमता भने विलक्षणको छ । 

हस्तकलाको सीप तिखार्दै

उनले बाँस, निगालो, कटुस र सालका पातबाट बनाएका हस्तकलाका सामान नमुनाका रूपमा देख्न सकिन्छ । मणिलालले कलम, डायरी, झोला, टेबुल, कुर्ची, कलमदानी र फोटा राख्ने फ्रेमलगायतका आकर्षक सामग्री बनाउँदै आएका छन् । उनले यो सीपका लागि कतै तालिम लिएका भने होइनन् ।


बाल्यकालमा घरमा हरेक दिन घाँसदाउरा गर्ने र मेलापातमा हँसिया, बाउसोलगायत घरेलु हतियारको सहारामा काम गर्ने क्रममा उनले नयाँ आकृति बनाउन सकिने कल्पना गर्थे । स्कुले उमेरमै बाँसको खोक्रोमा सिमीका पात र ब्याट्रीको कार्बनको मसी बनाएर लेख्ने गर्थे । ‘मैले फाउन्टेन पेन बनाएर लेख्दा साथी र सरहरू छक्क पर्नुभयो,’ उनले विगत सम्झँदै भने, ‘त्यसले धेरै मसी सोस्यो । त्यसपछि नयाँ आइडिया निकालें ।


निगालोको आँख्लोमा फलामको तार तताएर छेडेपछि सुइरो छिराएर लेख्न मिल्ने कलम बनाएँ ।’ स्थानीय स्रोत र साधनको उपयोग गरेर पनि दैनिक जीवनमा काम लाग्ने सामान किन नबनाउने भन्दै सोच्दै जाँदा कलमबाहेक अरू पनि थुप्रै विकल्प मस्तिष्कमा आएको उनी बताउँछन् ।

तीन वर्षअघि जंगलमा हिँड्दै गर्दा साल र कटुसका पातबाट ज्याकेट, टोपी, झोला बनाउने जुक्ति निकालेको उनले बताए । ‘जंगलबाट साल र कटुसका पात ल्याएँ । तीन दिनमै ज्याकेट, टोपी र झोला तयार पारें,’ उनले भने । आफूले तयार पारेका ती सामग्री सदरमुकाममा भएको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत उपहार दिएको उनले बताए । उनले बनाएका बाँसका कलम, डायरी नेता तथा सरकारी कर्मचारीलाई उपहार दिने गरेका छन् ।


‘मैले ३ घण्टा कुरेर त्यसबेलाका प्रधानमन्त्रीलाई मेरो कला उपहार दिएँ । धेरै सीडीओहरूका टेबलमा लगेर टक्र्याएँ,’ उनले भने, ‘तर, कसैले यसबारे केही बोलेनन् । बरु पोखराको लेकसाइड र काठमाडौंको ठमेलमा यसको महत्त्व चिनेर धेरै माग आउँछ ।’ उनले आफूले बनाएका कलम र डायरी धेरैजसो विदेशीले माग गर्ने गरेको बताए ।


मणिलालले थोकमा बिक्री गरेका कलम र डायरी पसलेहरूले ५ गुणासम्म मुनाफा लिएर बिक्री गरेको देख्दा मन खिन्न हुने सुनाए । पोखराको लेकसाइडमा आफूले १ सय १० रुपैयाँमा बेचेको कलम विदेशीलाई पसलेले एक हजारसम्ममा बेचेको आफैंले देखेको उनले बताए । सुरुमा हँसिया र चक्कुलगायतबाट बाँस, निगालो तिखारेर कलम बनाउँथे ।


त्यो गर्दा धेरै समय लाग्ने भएपछि आफंैले ड्रिल औजार बनाएँ । अहिले त्यसैको मद्दतले दिनमा ८ वटासम्म कलम तयार गर्छन् । घरमै पुग्ने पाहुनालाई कलम उपहारका रूपमा दिन्छन् । थोकमा लिनेलाई प्रतिगोटा १ सय १० रुपैयाँमा बेच्दै आएको उनले बताए । मेला, महोत्सव र पर्यटकीय बजारमा विदेशीले खुसी भएर एउटै कलमको ५ सय रुपैयाँसम्म दिएर लैजाने गरेका छन् ।


मणिलालले पछिल्लो समय बाँसबाट विभिन्न साइजका टेबुल, कुर्सी र पलङसमेत बनाउन थालेका छन् । वरपर पाइने बाँस र निगालोबाट सहजै बनाउन सकिने यस्ता सामाग्रीको व्यावसायिक उत्पादन गर्न सके बजार पाउनेमा उनी आशावादी छन् । उनलाई पछिल्ला केही वर्षयता नवलपरासी, तनहुँ र कास्कीलगायतका विभिन्न संघसंस्थाले बाँसका हस्तकलाको तालिम सञ्चालन गर्न बोलाउने गरेका छन् ।

मणिलालको हस्तकलाको सीप अन्यत्र देख्न नपाएको कुश्मा ११ का वडाध्यक्ष शिव शर्मा पौडेल बताए । ‘उहाँको कला बेच्न समस्या छैन,’ उनले भने, ‘व्यावसायिक उत्पादनका रूपमा अघि बढाएमा राम्रो आयआर्जन हुने अवस्था छ ।’

प्रकाशित : मंसिर १, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?