१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आलोपालोमा भूकम्पपीडितका घर निर्माण

गाउँमा समूह बनाएर आलोपालो घर बनाउँदै स्थानीय
नाजुक आर्थिक अवस्थाका स्थानीयलाई सिंगो गाउँका बासिन्दाले सघाउने चलन
आश गुरुङ

लमजुङ — काम गरेबापत कामदारले ज्याला लिन्छन् । सित्तैमा कसैले काम गर्दैन र कसैले सित्तैमा लगाउँदैन पनि । एकजनाको दैनिक ज्याला हजार रुपैयाँ रहेका बेला दूधपोखरी गाउँपालिका ३ फुलिङगिरी माडीका गाउँले भूकम्पपीडितका घर सित्तैमा बनाइदिने गरेका छन् । आलोपालो खट्छन् । ज्याला लिँदैनन् ।

घरधनीले साँझ–बिहानको खाना र खाजा दिन्छन् । जसको घर तयार हुन्छ, उनीहरू पनि अर्काको घर

बनाउन खटिन्छन् ।


गाउँलेको समूह एउटाको घर बनाएपछि अर्काको बनाउन अघि सर्छन् । झट्ट हेर्दा आलोपालो अर्थात् पर्म लगाउनेजस्तै देखिने गरी काम भए पनि उनीहरूको चलन अन्य ठाउँको भन्दा फरक छ । अझ आर्थिक अवस्था ज्यादै नाजुक भएकालाई सिंगो गाउँका बासिन्दाले सित्तैमा सघाउने गरेका छन् ।


२/४ जनाले गर्न गाह्रो तथा अप्ठ्यारो हुने कामका लागि गाउँ समुदायले सघाउने गरेको स्थानीयले बताएका छन् । फुलिङगिरीका राम तामाङको घर बन्दै गर्दा स्थानीय १२ जनाले सित्तैमा काम गरिरहेका छन् । उनीहरू २ सातायता उनको घर बनाउन खटिएका हुन् ।


आफ्नो घर बनाइसकिएका सुनार तामाङ अहिले राम तामाङको घर बनाउन खटिएका छन् । ‘मेरो घर बन्यो । मैले ज्याला दिइनँ । रामको घर बन्दैछ । मैले ज्याला लिने कुरा आउँदैन । हामी यता पनि पैसा नलिइकन, उता पनि पैसा नलिइकन घर बनाइराखेका छौं,’ उनले भने । सुनारले दोस्रो किस्ताको रकम पाएर तेस्रो किस्ताको सिफारिस भइसकेको बताए ।


एक वर्षयता उनीहरू सामूहिक रूपमा भूकम्पपीडितका घर बनाउन जुटेको उनले बताए । सबैभन्दा पहिले भगिलाल तामाङको घर बनाएका उनको टोलीले एउटा घर बनाउन करिब १ महिना लाग्ने बताए । ‘हिसाब गर्ने हो भने अहिलेसम्म ६ लाख रुपैयाँ लाग्यो होला । अन्तिमसम्म ८ लाख रुपैयाँ हिसाब पुग्छ होला तर ज्याला दिनु नपरेकाले कम्तीमा डेढ–दुई लाख त जोखिन्छ नि ।’


फुलिङगिरी माडी क्षेत्रमा ४ जनाको समूहले सामूहिक रूपमा भूकम्पपीडितका घर बनाउँदै आएको स्थानीयले बताएका छन् । एउटा समूहमा कम्तीमा १० जना छन् । रामका अनुसार यसअघि सित्तैमा ६/७ घर बनाइसकिएको छ । आफ्नो घर बनिसकेपछि धनसिंह तामाङ, बालध्वज तामाङलगायतका घर बनाउने तयारी भइरहेको उनले बताए । धनसिंहका अनुसार एउटा अर्काकोमा जाँदा पैसा नलिने गर्नाले आर्थिक हिसाबमा सबैलाई केही सहज भएको छ ।


‘अब बनाउने पालो मेरो हो । हामी एउटाको बनाउँदै गर्दा अर्कोको कसरी बनाउने ?, कहिलेसम्म बनाउने ? भनेर योजना बनाउँछौं’ उनले भने । अहिले धान, कोदो थन्क्याउने बेला भएकाले पनि घर बनाउन समय व्यवस्थापन गरिएको उनले बताए । उनीसँगै स्थानीय गमबहादुर घलेले भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिएका छन् । ‘तामिल लिएपछि मैले यहाँका स्थानीयलाई सिकाएँ । अहिले तालिममा भने अनुसारकै काम गरेका छौं,’ उनले दाबी गरे ।


दूधपोखरी गाउँपालिका ३ का वडा सदस्य एवं स्थानीय औतराम लामाका अनुसार १ सयभन्दा बढी घर रहेको फुलिङगिरी माडीका ७० घरभन्दा बढी घर पुनर्निर्माण गर्नुपर्ने छ । यी सबैले पहिलो किस्ताबापतको रकम बुझेका छन् । ४/५ घरले गुनासो फारम भरेका छन् । केही घरको आर्थिक अवस्था ज्यादै नाजुक रहेको र केही घरको पारिवारिक अवस्थाका कारण सुरु हुन सकेको छैन । साबिक इलमपोखरी गाविस १ र २ नं. वडामा पर्ने उक्त गाउँका बासिन्दा टोलटोलकाहरू समूहगत रूपमा घर बनाउने काममा खटिएका छन् ।


‘गाउँमा कामदारको अभाव । एकले मात्रै गर्न सक्ने काम भएन । बरु एउटाको काम सबै मिलेर गर्ने, पैसा नलिने । अर्कोको काम सबै मिलेर गर्ने, पैसा नलिने । यसो भएपछि समयमै काम सकिने । झन्डै आधा पैसा कटौती हुने । एक–आपसमा भ्रातृत्व कायम पनि हुने यो राम्रो चलन हो,’ उनले भने । वडाअध्यक्ष तिलकबहादुर गुरुङका अनुसार स्थानीय सबै निजी आवास पुनर्निर्माणमा जुटेका छन् ।


घर बनाउन बाँकी लाभग्राही काठ, ढुंगा, बालुवा, रड, सिमेन्टलगायत आवश्यक सामग्री जुटाउन व्यस्त छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको अनुदान व्यवस्थापन गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ लमजुङका फोकल पर्सन शिव रेग्मीका अनुसार पछिल्लो समय लमजुङमा भूकम्पपीडितका निजी आवास पुनर्निर्माण कार्यले गति लिएको छ । लमजुङ कम प्रभावित १७ जिल्लामा पर्छ ।


लमजुङको पनि बढी प्रभावित गोरखासँग सीमा जोडिएको दूधपोखरी गाउँपालिकामा निजी आवास पुनर्निर्माण कार्य धमाधम भइरहेको उनले बताए । ‘फुलिङगिरी, दूधपोखरी र बिचौर क्षेत्रमा भइरहेको पुनर्निर्माण हेर्‍यौं । काम धमाधम भइरहेको छ,’ उनले भने । उनका अनुसार कुल लाभग्राही सूचीमा १३ हजार ९ सय ५९ जना छन् ।


यसमा पहिलो किस्ता १३ हजार ३ सय १८ जनाले सम्झौता गरिसकेका छन् । दोस्रो किस्ता ५ हजार ४४ जनाले लिएका छन् । तेस्रो किस्ता ७ सय ५१ जनाले लगिसकेका छन् । लमजुङमा निजी आवास पुनर्निर्माण कार्यक्रमका लागि विस्तृत सर्वेक्षण २०७३ पुस २१ गतेदेखि सुरु भएको उनले बताए ।


चैत २८ देखि अनुदान सम्झौता थालिएकोमा ०७४ असार १४ देखि अनुदान वितरण गरिँदै आएको छ । ‘कम प्रभावित १७ जिल्लामा तुलाना गर्ने हो भने हाम्रोभन्दा प्रगति अरूको भएको छैन,’ रेग्मीले दाबी गरे ।

प्रकाशित : मंसिर १, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?