टिप्न सुरु भयो सुन्तला

स्याङ्जा — पाकेर पँहेलपुर हुन थालेपछि स्याङ्जाका विभिन्न स्थानमा कृषक सुन्तला टिप्न व्यस्त भएका छन् । खरिदका लागि व्यापारी घरदैलोमै आउने भएपछि किसानको व्यस्तता बढेको हो । 

टिप्न सुरु भयो सुन्तला

कतिपय कृषक भने आफैं बजार पुर्‍याउन थालेका छन् । ‘आफैंले बेच्दा राम्रै दाम आउँछ, उपभोक्ताले पनि सस्तोमा पाउँछन्,’ बिरुवा गाउँपालिका–८ का शिव वाग्लेले भने, ‘अब टिप्न र बेच्न सुरु भयो ।’ वाग्ले शुक्रबार र शनिबार दिनभर सुन्तला टिपेर बेच्न व्यस्त रहे । व्यापारीले प्रतिकिलो ६० देखि ९० रुपैयाँसम्म लिइरहेको सुन्तालामा फलाउने किसानले बढीमा ४०/४५ रुपैयाँमा चित्त बुझाउनुपर्ने अवस्था रहेको उनले गुनासो गरे ।


‘अहिलेसम्म ९ क्विन्टल जति बेचियो,’ उनले भने, ‘दरभाउ निर्धारण भइदिए बजार सजिलो हुने थियो ।’ आफूले लगाएका नयाँ पुराना करिब तीन सय बोट रहेको उनले बताए ।


बिरुवाकै तारेन्द्र केसी पनि सुन्तलाले व्यस्तता बढाएको बताउँछन् । घरमा खेताला लगाएर सुन्तला टिप्ने र गाडी रिजर्भ गरेर पोखरा पुर्‍याउने गरेको उनले बताए । ‘ठेकेदारहरू ३० रुपैयाँ प्रतिकिलो दिन्छौं भन्दै घरमा नआएका होइनन्,’ उनले भने, ‘त्यति सस्तोमा सुन्तला दिन सकेनौं ।


गाउँमा सरसल्लाह गर्‍यौं र बेच्नका लागि पोखरा लग्ने गरेका छौं ।’ उनले पोखरामा पनि प्रतिकिलो ४५ रुपैयाँ मूल्य पाएको बताए । ठेकेदारलाई पुरै बगान दिने हो भने किसानले आफैं खेताला खोज्न, टिपाउन र गाडीसँगै बिक्रीका लागि भौंतारिनु नपर्ने उनी बताउँछन् ।


‘आफ्नै हातले टिपे बोट सुरक्षित हुन्छ,’ उनले भने, ‘बेच्न लाँदा भाउ पनि पाइन्छ ।’ बर्सेनि फल दिने बोटको संरक्षणमा पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । लामो समयदेखि सुन्तला खेती गरेका कृषकले अझै पनि उचित मूल्य पाउन नसकेको गुनासो गर्छन् ।


बिरुवा ८ का डिलबहादुर केसी भन्छन्, ‘सुन्तलामा गरेको दु:ख र लगानीबाट कहिल्यै चित्तबुझ्दो मूल्य पाइएन,’ उनले भने, ‘भाउ पाउने लोभले पोखरासम्म पुग्यौं पनि । थोक व्यापारीले हामीलाई थोरै दिन्छन्, खुद्रा किन्नेसँग कसेर असुल्छन् ।’ सुन्तला राख्नका लागि जिल्लामा शीतभण्डार स्थापना हुन सके भाउ पाउने बेलामा बेच्न सजिलो हुने उनले बताए ।


आँधीखोला गाउँपालिका–४ विचारीचौतारका सुवास पौडेल सुन्तालाले आम्दानी दिन थालेको बताउँछन् । ‘सुन्तलालाई समय दिने भनेको वर्षमा तीन/चारपटक हो,’ उनले भने, ‘अरू व्यवसाय जस्तो सुन्तला त्यति गाह्रो छैन । बिक्री गर्ने बेला अलिकति समय निकाल्नुपर्छ ।’


पुतलीबजारको करेन्डाँडामा सुन्तला खेती गरेका उनले ठेकेदारलाई बगान नै बिक्री गर्ने योजना रहेको बताए । ‘ठेकेदारलाई एकमुष्ठ सुन्तला बेचेपछि अरू तनाव लिनुपर्दैन,’ उनले भने, ‘आफ्नो भाउ आउनेगरी दिँदा किसानलाई मर्का पर्दैन ।’

प्रकाशित : मंसिर २, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?