१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चेपाङ बस्तीमा बिजुली योजना

लमजुङ — बस्ती अगाडि नै ठूला आयोजना र आँगनबाटै तार गएको भए पनि चेपाङका घर टुकीको उज्यालोको भरमा थिए । अब उनीहरूले बिजुली बाल्न पाउने भएका छन् । 

चेपाङ बस्तीमा बिजुली योजना

चेपाङलाई बेंसीसहर नगरपालिकाले बिजुलीको व्यवस्थापन गरिदिने प्रक्रिया थालेको छ । बेंसीसहर नगरपालिका ११, चिती बरबोटका चेपाङबस्तीमा विजुली बाल्न आवश्यक तार, मिटरबक्स र विद्युत् प्राविधिकसहितको व्यवस्था गरेर बिजुली बालिदिने तयारी गरिएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए ।


उनका अनुसार चेपाङबस्तीका १० घरमध्ये ७ घरले आर्थिक अभावका कारण बिजुली बाल्न सकेका छैनन् । चेपाङबस्तीमा बिजुली बाल्न बेंसीसहर नगर कार्यपालिकाको बैठकले ६० हजार बजेट विनियोजन गरेको प्रमुख अर्यालले बताए । ‘घर अगाडि नै ७० मेगावाटको मध्यमस्र्याङ्दी छ । घरआँगनबाट अन्य घरमा टाँग्न तार लगिएका छन् । नजिकै पोल छ । तर, चेपाङ समुदाय भने अँध्यारोमा बस्न बाध्य रहेछन् । अहिलेको अवस्थामा पनि बिजुली बिना कोही बस्न सक्छ ?’ उनले भने ।


कार्यपालिकाले विनियोजन गरेको बजेटबाट मिटरबक्स, आवश्यक पर्ने तार र विद्युत प्राविधिकको व्यवस्था गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताए । रकम दिएरमात्रै उनीहरूले विजुली बाल्न समस्या भएकोले वडा कार्यालयसँग समन्वय गरेर मिटरबक्स, आवश्यक पर्ने तार र विद्युत प्राविधिकको व्यवस्था गर्न लागिएको उनले बताए ।


चेपाङ गाउँका धनी मानिएको सुकबहादुर चेपाङले आफ्नै बलबुता र आफन्तको सहयोगमा ३ घरमा मिटर जडान गरी केही वर्षयता बिजुली बाल्दै आएको र अन्य घरमा बिजुली नरहेको बताए । ‘बिजुली नहुनेले मिटर भएका घरबाट तार जोडेर बालेका छन् । यसले त कसरी हुँदो हो र ?’ उनले भने, ‘विद्युत् उपभोक्ता समितिमा जति हारगुहार गरे पनि मिटर बक्स पाइएन । अब नगरपालिकाको सहयोगमा बिजुली बाल्न पाइने भयो ।’


चेपाङबस्तीको पारिपट्टि ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थल र जलाशय छ । एक दशकअघि उक्त आयोजनाबाट विद्युत् उत्पादन भइरहे पनि बत्तिमुनीको अँध्यारो झैं चेपाङबस्तीमा बिजुली नबलेको नेपाल चेपाङ संघकी जिल्ला सचिव अमृता चेपाङले बताइन् । ‘वरपरका घरहरू झिलिमिली छन् । हाम्रै चेपाङको घरमा मात्रै बिजुली नबल्नु दु:खको कुरा हो,’ उनले भनिन् ।


वर्षौंदेखि टुकीको सहारामा बसेको र मट्टीतेल किन्ने पैसा समेत नहुँदा अँध्यारोमा बस्न बाध्य भएको उनले बताइन् ।


स्थानीय राजु चेपाङका अनुसार बिजुली नहुँदा सञ्चारको साधनबाट स्थानीय वञ्चित हुनु परेको छ । रेडियो, टेलिभिजनबाट हेर्न स्थानीय दायाँबायाँका घर जान बाध्य छन् । गृहिणीले खाना बनाउनदेखि बालबालिकाको पठनपाठनमा समेत निकै समस्या परेको उनले बताए ।

नगरपालिकाले चेपाङबस्तीमा सामुदायिक भवन निर्माणका लागि ३ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । चेपाङका कलासंस्कृति, सामाजिक चालचालन र सचेतनामूलक कार्यक्रम गर्न सामुदायिक भवन आवश्यकको महसुस गरी नगरपालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख अर्यालले बताए ।


नगरपालिकाले उनीहरूलाई दसैंखर्चस्वरूप ६० हजार रुपैयाँ सहयोग गरेको थियो । बेंसीसहर नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी अधिकारीका अनुसार चाडबाड मनाउन समेत असहज भएपछि नगरपालिकाभित्रका १० घरलाई प्रतिपरिवार ६ हजारका दरले नगरपालिकाले सहयोग गरेको थियो । लमजुङमा बेंसीसहर नगरपालिका ११, चिती बरबोटमा १० र दोर्दी गाउँपालिका ९, भीरकुनामा ४ गरी १४ घर चेपाङ समुदायका छन् ।

प्रकाशित : मंसिर २, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?