कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

धान थन्क्याउन थ्रेसर

गोरुकै भरमा दाइँ गरिँदै आएको पहाडी जिल्ला पर्वतमा पनि यसपटकबाट थ्रेसर उपयोग बढ्यो
दिप्ती सिलवाल

कटुवाचौपारी, पर्वत — गएको वर्ष धान चुट्ने र दाइँ गर्ने खेताला नपाएर पुससम्म काम नसकेका कुश्मा ९ कटुवाचौपारीका केशवदास पौडेललाई यसपटक हाइसन्चो भयो । काटेको धान परालैसित मेसिनमा हालेपछि सुनजस्ता सुकिला गेडा र दाइँ गरेको भन्दा नरम पराल एकातिर निस्कँदा उनी छक्क परे । 

धान थन्क्याउन थ्रेसर

नजिकैका गोपालदास पौडेल, दण्डपाणि पौडेल र सुरेश पिसीलगायत दर्जनौं किसानले सजिलै धान र पराल भित्र्याउन पाउँदा राहत महसुस गरेका छन् । तराईका जिल्लाका लागि थ्रेसर अब नौलो यन्त्र होइन ।


गोरुकै भरमा दाइँ गरिँदै आएको पहाडी जिल्ला पर्वतमा पनि यसपटकबाट थ्रेसर उपयोग बढेको छ । कतिपय गाउँमा धान झारेको हेर्न रमिता हुने गरेको छ । कुश्मा ९ र फलेवासका केही वडामा थ्रेसर पहिलोपटक भित्रिएको स्थानीयले बताएका छन् । कुश्मा ९ को कटुवाचौपारी, फलेवासका ४, ५ र ६ नम्बर वडाका कृषकहरूले यसपटक थ्रेसरबाट धान झार्न पाउँदा निकै आनन्द मानेका छन् ।


रोपाइँअघि खेत तयार पार्न ट्रयाक्टरको उपयोग सुरु भइसकेको जिल्लामा धान चुट्ने मेसिन बल्ल भित्रिन सुरु भएको हो । धान चुट्ने खेताला नपाइने र पराल फाँड्न गोरु नपाएर हैरान भएकाहरूलाई थ्रेसरले निकै सजिलो पारेको छ ।


कटुवाचौपारीका ४० जना कृषकहरूले थ्रेसरले धान झारेका छन् । परम्परागत तरिकाबाट एक साता लाग्ने दाइँको काम केही घण्टामै गर्न पाएकोमा किसान दंग छन् । धान काटेर थन्क्याउने चटारोबीच भित्र्याइएको मेसिनबाट धान चुट्न र दाइँ गर्न अझै धेरैजना किसान पालो कुरिरहेका छन् ।


ज्यालामा कामदार नपाइने र दाइँ गर्न गोरुको पनि अभाव भएका बेला थ्रेसर अति उपयोगी भएको किसान केशवदास वैरागीले बताए । ‘मेरो ५ दिनपछि पालो परेको छ,’ उनले भने, ‘गोरु र मान्छे खोज्न तमादीदेखि सिल्मीसम्म पुग्नुपथ्र्यो । अहिले त्यो झन्झटबाट मुक्ति पाइयो ।’


मेसिनको सहायताले काम गर्दा धेरै फाइदा रहेको उनले बताए । ज्यालामा काम गर्ने एउटा खेतालाले दिनमा ४ मुरी धान झार्छ । त्यसलाई एक हजार पारिश्रमिक दिनुपर्छ । यो मेसिनले एक घण्टामा २० मुरी धान चुट्ने र त्यो परालको दाइँसमेत गर्ने किसान सुरेशबहादुर पिसीले बताए । ‘२० मुरी धानको सांगोपांगो लगाउँदा १२ हजार खर्च हुन्थ्यो,’ उनले भने, ‘मेसिनलाई ३५ सय दिएपछि सबै टन्टाबाट उम्कियो ।’


यो मेसिनले धान झार्ने र पराल फाँड्ने काम एकैपटकमा गर्ने भएकाले तीन गुणा फाइदा भएको उनले बताए । थ्रेसर भित्रिएपछि किसान हर्षित छन् । ‘धान बत्ताउन नपर्ने, धूलो सबै हटाउने, पराल पनि सुकिलो हुने,’ प्रसन्न पौडेलले भने, ‘यो मेसिन भएपछि थोरै दु:खमा धेरै काम सकिने रहेछ ।’


वर्षायाममा ट्रयाक्टरले खेत जोतेर रोपाइँ गरेका किसानले धान थन्क्याउँदा पनि मेसिनको सहयोग पाएपछि खेतीपातीमा थप सहज महसुस गरेका छन् । ‘पहिला–पहिला गाउँभरि हलगोरु खोजेर खेत रोप्नुपथ्र्यो,’ डण्डपाणि पौडेलले भने, ‘अहिले एक दिनमा १० हलको मेलो सकिन्छ ।’


यान्त्रीकरणले खेतीपातीमा सजिलो बनाएको उनले बताए । घरमा युवा जनशक्ति नहुनेहरूलाई यो थ्रेसर बढी उपयोगी भएको छ । गहुँ चुट्न पनि सजिलो हुने भएकाले कटुवाचौपारीका किसानले गहुँ काट्ने सिजनमा पनि थ्रेसर ल्याउने बताएका छन् ।


यहाँका सबै किसानहरूले थ्रेसर मेसिन भाडामा प्रयोग गरेका हुन् । ‘तराईका मान्छेले फलेवासमा ल्याएका रहेछन्,’ किसान गोपाल पौडेलले भने, ‘परीक्षणका लागि हामीले पनि मगायौं । प्रयोग गर्न थालेपछि धेरै किफायती लाग्यो ।’ किसानहरूले यस्तो मेसिनको व्यवस्था हुन सके खेतीपाती थन्क्याउन सहज हुने बताए । उनीहरूले यस्तै यन्त्रको व्यवस्था गर्न सरकारले सहयोग गर्नुपर्ने बताउँछन् ।


थ्रेसर मेसिन बजारमा ९ देखि १२ लाख रुपैयाँमा पाइन्छन् । ‘सरकारले दुई/तीन वटा वडालाई समेटेर यस्तो मेसिन दिने हो भने हामीलाई खेती थन्क्याउन टन्टा हुन्थेन,’ किसान पीताम्बर अधिकारीले भने, ‘सरकारले यसतर्फ चासो दिनुपर्छ ।’ यान्त्रीकरणका लागि पनि सरकारहरूले बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?