१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

परिश्रम गरे कृषिमै मनग्गे

बागलुङ — तरिका पुर्‍याएर लगानी र मेहेनत गरेमा ग्रामीण क्षेत्रमा बसेर पनि मनग्ये कमाइ गर्न सकिन्छ भन्ने यहाँका एक युवाले देखाएका छन् । बडिगाड गाउँपालिका २ का मनोज गैरे कृषि र पशुपालनबाटै राम्रो आम्दानी लिन सफल भएका हुन् । 

परिश्रम गरे कृषिमै मनग्गे

सुरु–सुरुमा उनले खरबाङ बजारमा जग्गा भाडामा लिएर च्याउ खेती गरेका थिए । कन्ये जातको च्याउ लगाएर राम्रो आम्दानी लिन थालेपछि उनले घरैमा बसेर काम गर्न सुरु गरे । आफ्नै बारीमा सिँचाइ सुविधा थपेर उनले कन्ये च्याउसँगै सिताके च्याउ पनि उत्पादन थालेका छन् । कन्ये च्याउ प्रतिकेजी २ सय रुपैयाँ र सिताके ७ सय रुपैयाँ बिक्री हुने गरेको छ ।


३५ वटा मुढामा लगाएको च्याउ बढाएर उनले १० हजार पुर्‍याउने लक्ष्य राखेका छन् । बजार खोज्न जानै नपर्ने, घरबाटै सहजै बिक्री हुने र धेरैले मन पराउने भएकाले सिताके च्याउमा लागेको उनले बताए । ‘भैंसी र बाख्रा पालेको छु, त्यसबाट मलका लागि भर छ,’ उनले भने, ‘आफ्नै बारीमा व्यावसायिक खेती गर्न सजिलै छ ।’ कृषि उद्यमको पैसाले घरव्यवहार चलाएर ५ सन्तानलाई पढाउन पनि सजिलो भएको उनले बताए । ‘मजदुरी गरेर परिवार पाल्न सास्ती खेपियो,’ उनले भने, ‘व्यावसायिक कृषिको आइडिया अलि ढिला आयो । जे भए पनि अहिले राम्रो हुँदै आएको छ ।’


बारीमा उनले च्याउ मात्रै फलाएका छैनन्, भुइँ स्याउ र तरकारी पनि लगाएका छन् । आफ्ना कृषि उपज खरबाङ र बडिगाडका बजारमा सजिलै बिक्री हुन थालेपछि लगानी बढाउने उनको योजना छ । परम्परागत पद्धतिबाट उनले मौरी पनि पालेका छन् । ‘लोकल मह खोज्नेहरू धेरै भएकाले मैले आधुनिक घारमा पालेको छैन,’ उनले भने, ‘अहिले मान्छेले जे भए पनि अर्गानिक खोज्न थालेका छन् । हामीले बनाउन सक्दा बेच्न समस्या हुँदैन ।’


स्थानीयस्तरमा पराम्परागत तरिकाले पालेको मौरीको मह प्रतिकेजी एक हजार रुपैयाँसम्ममा किन–बेच भइरहेको छ । ‘च्याउ, तरकारी र मह सबै गरेर मेरो वार्षिक करोबार ४ लाख हाराहारी हुन्छ,’ उनले भने, ‘गाउँमा बसेर यतिको गर्न सक्दा अरू काम खोज्न जान्छु भन्नुपरेको छैन ।’


कृषि कर्ममा उनको परिश्रम गाउँमा उदाहरणीय छ । उनलाई हेरेर सिको गर्ने युवा निस्कन थालेका छन् । ‘युवाहरूले चासो राख्दा तरिका बताउन मैले सहयोग पनि गरेको छु,’ गैरेले भने, ‘व्यावसायिक कृषिका लागि हामीले निर्वाहमुखी पराम्परागत तरिकाभन्दा केही फेरबदल गर्नैपर्छ ।’


आफ्नै गाउँठाउँमा बसेर व्यावसायिक कृषिका काम गर्न चाहनेका लागि राज्यले लगानी र प्रविधिमा सघाए धेरैले रोजगारीका लागि बाहिरिनुको साटो घरै बसेर काम गर्न सक्ने उनले बताए । गैरेका जसरी काम गर्न खोजे पनि प्राविधिक सहयोग पाउन सहज नभएको स्थानीय देवु नेपालीले बताइन् । ‘समयमा बीउ नपाउने, रोग कीरा लाग्दा उपचार नहुने समस्या छ,’ उनले भनिन्, ‘प्राविधिक सहयोग पाएमा घरघरमा व्यावसायिक किसान बनेर काम गर्न चाहने धेरै छन् ।’


लामो समयसम्म कृषि प्राविधिकको अभावमा ग्रामीण क्षेत्रका किसानले समस्या भोगेको बागवानी अधिकृत सुजितकुमार पौडेलले बताए । कृषि प्राविधिक ल्याएर किसानलाई सघाउन गाउँपालिका तयार रहेको अध्यक्ष मेयरसिंह पाइजाले बताए । उनका अनुसार कृषि र पशुका कार्यालय विषयगत इकाइका रूपमा स्थानीय तहमा आए पनि पर्याप्त संख्यामा प्राविधिक दरबन्दीका कर्मचारीको अझै अभाव छ ।


बाँझो खोस्रँदै केरा र कागती


लमजुङ (कास)– सदरमुकाममा व्यवसाय गर्दै आएका एक युवकले गाउँ फर्केर बाँझो जग्गालाई सदुपयोग गर्दै केरा र कागती खेती थालेका छन् ।


बेंसीसहरमा ६ वर्षदेखि सुन पसल गर्दै आएका सुन्दरबजार १ कुन्छाका सुनील सुनारले यस्तो गरेका हुन् । १० रोपनी जग्गामा उनले १ हजार ५ सय बोट केरा लगाएका छन् । ४ रोपनीमा कागतीका बेर्ना सारेका छन् । गत जेठमा केरा र असार–साउनमा कागती रोपेका हुन् ।


‘परम्पागत तरिकाको कृषिभन्दा केही व्यावसायिक प्रयोग गर्न मन लागेर एउटा कृषि कर्मको सुरुवात गरेको हुँ,’ उनी भन्छन्, ‘हाम्रो बजारको अवस्था हेर्दा व्यावसायिक कृषिमा हामीले गर्न सकिने काम थुप्रै देख्छु ।’


खेताला नपाउँदा खनजोत हुन छाडेको खेत बाँझोमा परिणत भइरहेको थियो । नियमितरूपमा लगाइरहनु र स्याहार पुर्‍याइरहनु नपर्ने बालीका बारेमा खोजी गर्दा केरा र कागती लगाए सजिलो हुने आफूले बुझेको उनले बताए । बाँझो खेतसँगै उनले धान फल्ने गह्रामा पनि केरा लगाएका छन् ।


‘धान खेती गर्दा श्रम र लागत जति पर्छ, केरा खेतीमा अलि सजिलो रहेछ,’ उनले भने, ‘खेतीको तरिका सिकेपछि सजिलै हुन्छ भन्ने लागेर थालेको हो ।’ अर्को वर्ष थप १० रोपनी जग्गामा खेती विस्तार गर्ने तयारी गरिएको उनले बताए । ‘केरा र कागतीका लागि यहाँको हावापानी राम्रो छ । यहाँको माटो सुहाउँदो छ,’ उनले भने । केरा र कागती लगाउन हालसम्म करिब ५ लाख रुपैयाँ लगानी भइसकेको उनले बताए ।


‘राम्रो फलाउन सके बजार यहीं छ,’ उनी भन्छन्, ‘हामीकहाँ फलाउन सकिने चीजबिज पनि बजारमा बाहिरबाट आइरहेका छन् । बजारको सानो हिस्समा पनि आफ्नो पकड बनाउन सके आम्दानी राम्रो हुन्छ ।’ लमजुङको बजारमा केरा र कागती तराईका जिल्लाबाट भित्रिने गरेका छन् ।

प्रकाशित : मंसिर ३, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?