१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गलकोटमा सिस्नो खोस्ने पर्वको रन्को

सिस्नो खोस्ने पर्वमा सहभागी तन्नेरीले जोडी पाउने, जीवन सुखी र वैवाहिक सम्बन्ध राम्रो हुने जनविश्वास
प्रकाश बराल

गलकोट बागलुङ — ताराखोला गाउँपालिका ३ हिल पुगेका आगन्तुकलाई यहाँका मगर समुदायको संस्कृति अनौठो लाग्छ । मुलुकमा अन्त देख्न सुन्न कमै पाइने संस्कृति यहाँ वर्षौंदेखि चलिआएका छन् ।

गलकोटमा सिस्नो खोस्ने पर्वको रन्को

पुराना पुस्ताले सिकाएर सांस्कृतिक पर्वले निरन्तरता पाएका छन् । हिलका होमबहादुर बगालेमगरले बिहानै नुहाइधुवाइ गरे । चोखो मानिएको भाङ्ग्रो लगाए । साथीहरूलाई बोलाए । चार भारी सिस्नो काटेर मुठा पारियो । काठका ससाना ठेकीमा जाँड राखियो ।


अघिल्लो दिनै भिजाएर राखेका गेडागुडीलाई पोको पारियो । अग्रजहरू जगबहादुर घर्ती, घमबहादुर घर्ती र खड्गबहादुर घर्तीले मन्त्र जपेर जाँड र गेडागुडी देवता र पितृलाई चढाए । आगो फुकेर धूप हाले । मागेपातको दुना बनाएर अक्षता र प्रसाद राखे ।


कटुसको रूख काटेर ल्याएको हाँगा गाडेपछि दुईवटा अरू काठका टुक्रा पनि गाडियो । त्यसपछि अविवाहित युवाहरूले मन्त्र जप्दै ढ्याङ्ग्रो बजाए । तन्नेरीको नाच्ने क्रम सुरु भयो । अर्गल, हिल र ताराखोला लगायतका मगरको संस्कृतिमा आधारित यो सिस्नो खोस्ने पर्वको विधि हो । यसपटक पनि मनाइएको यो पर्वमा विधि यतिमै सकिएको होइन ।


अविवाहित युवतीहरू ती भारीबाट सिस्नो र सुँगुरको मासु खोस्न निस्किए । निकै बेर खोसाखोस चल्यो । भारी बोकेका बलिया युवकले पूरै खोस्न नदिन प्रयास गरे । झम्टेर सिस्नोको पात, डाँठ जे सक्यो त्यही खोस्न आउने युवतीलाई धेरैबेरसम्म झुलाए । नाचगान चल्यो । त्यसपछि भोज । सिस्नो खोस्ने पर्वमा सहभागी तन्नेरीले जोडी पाउने, जीवन सुखी र वैवाहिक सम्बन्ध राम्रो हुने जनविश्वास यहाँ छ ।


पर्वमा दुईपटक गरिने पर्व मगर बहुल गाउँहरूमा चलिरहेको छ । ‘हाम्रा देवीदेवता खुसी पार्न र पितृको उद्धार हुन्छ भनेर यो पर्व गर्ने गरिएको हो,’ ६० वर्षीय खड्गबहादुर घर्तीले भने, ‘यो मेलामा तन्नेरी र तरुनी मात्र सहभागी हुनुपर्छ ।’ विवाहित गएमा पाप लाग्ने विश्वास छ । जबर्जस्ती गएको देखिएमा समूहले दण्ड पनि गराउँछ । हिल पँधेराखर्क भदौरे समूहमार्फत यो संस्कृतिलाई जोगाउने प्रयास भरहेको उनले बताए ।


खेतीपाती थन्क्याउने समयमा गरिने भएकाले सिस्नो खोस्ने नाच बालीको रक्षाका लागि देवीदेउता पूज्ने मेलाको रूपमा पनि चिनिन्छ । कुलदेवताको पूजामा पनि युवाहरूले सिस्नो खोस्ने पर्व मनाउँछन् । ‘अनौठो संस्कृति भए पनि यो पर्व पूरा गर्न प्रक्रियामा तल–माथि गर्न पाइँदैन,’ घर्तीले भने, ‘खर्च पनि लाग्ने भएकाले सिंगो गाउँलेको समान सहभागिता आवश्यक पर्छ ।’


यहाँको मगर समुदायमा विवाह युवाहरूको आफ्नै रोजाइमा हुन्छ । बाबुआमाले केटा वा केटी खोजेर गरिदिने चलन नभएकाले भविष्य सुखमय बनोस्, रोजेको केटा वा केटी राम्रो परोस् भनेर सिस्नो खोस्ने पर्वमा भाग लिन बाहिर गएकै भए पनि फर्केर आउने चलन रहेको होमबहादुर बगालेमगरले बताए ।


‘बाहिर गएको रहेछ भने पनि कुलपूजा र सिस्नो खोस्ने पर्वका लागि फर्केर आउने चलन छ,’ उनले भने, ‘कम्तीमा एकपटक सिस्नो नखोसेका युवा–युवतीको वैवाहिक जीवन सुखमय हुँदैन भन्ने चलन छ ।’ बूढापाकाबाट तन्नेरीहरूले मन्त्र सिक्ने, पूजा विधि सिक्नेसमेत गर्दै आएको उनले बताए ।


कुलदेवतालाई खुसी पार्न मेलाका रूपमा मनाइने पर्वमा सहभागी भए पुण्य मिल्ने विश्वास पनि उनीहरू राख्छन् । बाइसे–चौबीसे राज्यको पालामा धेरैजसो मगरले भाषा र अन्य संस्कृति गुमाए पनि सिस्नो खोस्ने मेला बचाएर राखेकाले अहिले पनि निरन्तर चलाउने गरेको कुलपूजाका गुरुबाउ अर्गलका भीमबहादुर घर्तीमगरले बताए । ‘हामीले हरेक वर्ष यो पूजा गरिरहेका छौं,’ उनले भने, ‘खेती थन्क्याउने बेलाको कृष्णपक्षमा यो पूजा गरेर नाच सुरु गर्ने परम्परा छ ।’

प्रकाशित : मंसिर ३, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?