२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तातोपानी संरक्षण स्थानीयको माग

सडक विस्तारका क्रममा तातोपानीको परम्परागत कुण्ड मासिने जोखिम बढ्यो
गाउँपालिकाद्वारा वैकल्पिक ठाउँमा त्यस्तै बनाउन बजेट विनियोजन

गोरखा — बेनिघाट–लार्के सडक विस्तारका क्रममा तातोपानी कुण्ड जोखिममा पर्ने अवस्था भएपछि धार्चे गाउँपालिका ३ उहियामा स्थानीय चिन्तित छन् । उहियामा रहेको प्राकृतिक तातोपानी कुण्ड
निकै पुरानो समयदेखि उपयोगमा छ ।

तातोपानी संरक्षण स्थानीयको माग

सडक आवश्यक भए पनि खन्ने क्रममा तातोपानी जोगाइदिन स्थानीयले माग गरेका छन् । ‘यो नेचुरल तातोपानीको कुण्ड हो,’ उहिया तातोपानीका रने गुरुङले भने, ‘सडकको ट्रयाक खोल्दा यही बाटो पर्छ भनेका छन् । एकतिर ठूलो चट्टान सहितको भीर छ, अर्कोतिर बुढीगण्डकी नदी । सडक अन्तबाट खन्ने विकल्प पनि छैन ।’


ऐतिहासिक ठाउँ भएकाले कुनै विकल्प अपनाएर भए पनि तातोपानी संरक्षण गरिनुपर्ने उनले बताए । मनास्लु पदमार्गअन्तर्गत पर्ने तातोपानी धारासँगै तीनवटा घर छन् । सडकको क्षेत्र विस्तार गर्दा घर भत्के पनि तातोपानी जोगाउने उपाय खोजिनु जरुरी रहेको गुरुङले बताए । ‘घर भत्काएर अरू ठाउँ फेरि बनाउन सकिन्छ, तातोपानी कुण्ड नासियो भने अरू ठाउँ सार्न–बनाउन मिल्दैन,’ उनले भने ।


उत्तरी गोरखा आएका पर्यटक पनि उक्त तातोपानीमा घण्टौं रमाउने गरेका छन् । ‘चिसो ठाउँमा तातो पानी पाएपछि असिनपसिन भएर आएका पर्यटक कोही नुहाएर त कोही मुख मात्र धोएर मात्र भए पनि भुल्ने गरेका छन्,’ गुरुङले भने, ‘यो गाउँलेले मात्रै उपयोग गर्दै आएको कुण्ड होइन ।’


तातोपानीमा तीनवटा धारा र नवनिर्मित कुण्ड छ । स्रोत संरक्षणको अभावमा तीनमध्ये एउटा धारा सुकेको छ । उक्त धाराबाहेक पनि उक्त क्षेत्रमा तातोपानी आउने मुहानहरू अरू पनि छन् । तर, अन्त कुण्ड व्यवस्थापन गरिएको छैन ।


ट्रयाक खुल्दैमा तत्काल धारा, मुहान र कुण्ड विस्थापित नहुने भए पनि सडक विस्तारका क्रममा नास हुने अवस्था रहेको स्थानीयको चिन्ता हो । ‘अहिले त ट्रयाक मात्र खोल्ने भनेका छन्, धारा छलेर साघुँरो बाटो बनाए पनि भयो,’ स्थानीय जितमायाँ गुरुङले भनिन्, ‘पछि सडक फराकिलो बनाउँदाचाहिँ यसको नामनिसाना नरहने भयो ।’


२०६३ सालमा तातोपानीको पानी परीक्षण गर्दा ४६.५ डिग्री सेल्सियसको तापक्रम रहेको पाइएको रने गुरुङले बताए । प्राकृतिक तातोपानीमा नुहाउँदा बाथ, हाडजोर्नी तथा छालासम्बन्धी रोगहरू निको हुने जनविश्वास छ । त्यसैले गाउँले नुहाउनुपर्दा कुण्डमा पुग्छन् ।


सडकको ट्रयाक खोल्दा गरिने बम विस्फोटबाट पानीको मूल दबिन सक्ने भन्दै स्थानीय सरिता गुरुङले चिन्ता जनाइन् । ‘पानीले गर्दा यो ठाउँको नाम नै तातोपानी भनेर परिचित छ । वर्षको एकपल्ट यहाँ जात्रा पनि लाग्छ,’ उनले भनिन्, ‘पुरानो चीजको संरक्षण गर्नुपर्ने हो । फेरि सडक नखन भन्न पनि भएन ।’ गाउँको छुट्टै चिनारी दिने तातोपानी पनि जोगाउनुपर्ने उनले बताइन ।


धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ सडक विस्तार गर्दा उक्त धारा र कु्ण्ड जोगाउन नसके माछाखोलामा वैकल्पिक कुण्ड बनाउन सकिने बताउँछन् । ‘सडक क्षेत्रभित्र परेपछि तातोपानी जोगाउन मुस्किल देखेका छौं,’ उनले भने, ‘अहिले माछाखोलाको पारिपट्टि पनि तातोपानी निस्कन्छ । त्यसको स्रोतलाई व्यवस्थित बनाउन प्रयासमा जुटेका छौं ।’ विकल्पका अर्को कुण्ड निर्माण र व्यवस्थापनका लागि चालु वर्ष २० लाख रुपैयाँ छुट्याइएको उनले बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?