सार्वजनिक सवारीमा सास्ती उस्तै

स्याङ्जा — ठूला सवारी दुर्घटनामा धेरैको ज्यान गएपछि सरकारले यातायातको सिन्डिकेट अवैध ठहर गरेको थियो । सिन्डिकेटको वैधता हटेको सरकारी घोषणाको लामो समयपछि पनि यहाँका ग्रामीण क्षेत्रमा सवारी भने पुरानै पारामा चलेका छन् । 

सार्वजनिक सवारीमा सास्ती उस्तै

पालो लगाएर चलाउने, एउटाको यात्रु अरूले बोक्न नपाउने र गाडी भरिएपछि मात्रै चलाउने मात्रै होइन पालो नपरेका गाडी कसैले लिएर लगे बाटैमा यात्रुलाई झारेर सास्ती दिने क्रम यथावत् छ । यातायात व्यवसायी सिन्डिकेट हटेको दाबी गर्छन् तर यात्रु भने व्यवहारबाट नहटेकाले सास्ती रहेको बताउँछन् ।


‘ठूलो एक्सिडेन्ट नभएसम्म प्रहरी प्रशासनको ध्यान जाँदैन,’ चापाकोट ६ का अर्पण थापामगर भन्छन्, ‘सिन्डिकेट कुरामा मात्रै हट्यो, व्यवहारमा अझै छँदैछ ।’ प्रहरीले अनुगमनमा कडाइ नगर्नुका कारण यात्रुले सास्ती पाइरहेको उनले बताए ।


सिन्डिकेट हटाइएको सरकारी घोषणापछि बसको यात्रा केही सहज भए पनि जिपको मनपरी नहटेको चापाकोटकी रेनुका भट्टराईले बताइन् । ‘सुन्तलीटार बजारमा एउटा कार्यक्रमका लागि जिप रिजर्भ लिएर हामी आएका थियौं,’ उनले भनिन्, ‘बाटोमा तीनजना महिला अलपत्र परेको देखेर हामीले चढायौं । हाम्रो ड्राइवरलाई अर्को जिपको ड्राइवरको फोन आयो र बाटोमै झार्न लगायो । महिला पनि लुरुक्क झरे ।’


किन झारेको भनेर सोध्दा चालकले भोलिपर्सि यही बाटो हिँड्नुपर्ने भएकाले रुटका जिपसँग शत्रुता हुनेगरी यात्रु चढाउन नपाइने जवाफ पाएको उनले बताइन् । ‘त्यसरी बाटोमा अलपत्रलाई उद्धार गर्न पनि नपाइने भएको छ,’ उनले भनिन् ।


सिद्धार्थ राजमार्गमा चल्ने सार्वजनिक यातायातमा पनि बेथिति कायमै रहेको पुतलीबजार १ का लक्ष्मण केसीले बताए । यात्रु तानातान गर्दै चढाउने र गतिमा प्रतिस्पर्धा गर्ने सवारीका कारण यात्रुलाई असुरक्षासमेत रहेको उनको भनाइ छ । ‘कम्पिटिसन गरेर चलाउँछन्,’ उनले भने, ‘एउटाले रोकेका ठाउँमा अर्को गाडीले रोक्न पाउँदैन । धेरै बेथिति छन् ।’ यसको जिम्मेवार यातायात व्यवसायी रहेको उनले बताए ।


यहाँका अधिकांश ग्रामीण सडक साँघुरा र बढी घुम्ती भएका छन् । धेरै ठाउँ सडक बिग्रे–भत्कोका छन् । यातायात व्यवसायी समितिले सार्वजनिक सेवाका गाडी अझै पनि लाइन र नम्बरका आधारमा चलाउँदै आएका छन् । यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले पनि सिन्डिकेट हटाउन जतिसुकै पहल गरे पनि सुधार गर्न नसकिएको बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?