निजी लगानीमा बन्दै तीन तले पुल

नारायण शर्मा

नवलपरासी — यहाँका एक व्यक्तिले निजी लगानीमा तीन तले पुल बनाउँदै छन् । चोरमाराका सामान्य जग्गा व्यापारी लक्ष्मी ज्ञवालीले आफनो व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा तीन तले आर्कषक पुल बनाइरहेका छन्। जग्गा व्यापारी ज्ञवाली आफैले पुलको डिजाइन गरेको दाबी गरे ।

निजी लगानीमा बन्दै तीन तले पुल

चोरमाराका पूर्वको मध्यविन्दु नगरपालिकाको वडा नम्बर २ सेहरी र वडा नम्बर–६ भडरा जोड्ने उल्टी खोलामा एक करोड ५ हजार ५५ रुपैँया खर्चिएर पुल निर्माण गरिएको ज्ञवालीले बताए ।


पुलको ८२ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो तलामा ठूला सवारी, दोस्रो तलामा साईकल मोटरसाईकल, रिक्सा र पैदलयात्री हिँड्न मिल्ने गरी निर्माण गरिएको छ । भने तेस्रो तलामा आपतकालीन अवस्थामा बस्न मिल्ने र अवलोकन गर्न मिल्ने गरेर पूल निर्माण गरिएको छ । ज्ञवालीले मध्यविन्दु नगरपाकिाका अन्य स्थानमा पनि निजी लगानीमा बाटो निमार्ण गरेका छन् ।


पुलको दुवै छेउबाट अपांगता भएकाहरुलाई वारपार गर्न मिल्ने गरी संरचना बनाइएको छ । पुलको माथिल्लो तलामा टिनको छाना लगाइएको छ । निर्माणकर्ता ज्ञवालीका अनुसार माथिल्लो तलामा टवाईलेट बाथरुम पनि बनाईने छ र खानेपानीको पनि व्यवस्था हुनेछ । पुलको माथिल्ला तला गोठाला तथा बटुवाहरुका लागि थकाई मेट्ने ठाउँको रुपमा प्रयोग गर्न सकिनेछ ।


९० फुट लम्बाई र २८ फुट उचाई भएको यस पुल निर्माण अबको १५ दिनमा सम्पन्न हुने निर्माणकर्ता ज्ञवालीले जानकारी दिए ।


यस क्षेत्रमा वर्षैपिच्छे वर्षाको समयमा खोलाले बगाएर मानिसले ज्यान गुमाउनु परिरहेको , गाईवस्तु समेत बग्ने, दलदलमा फस्ने गर्दा धनजनको क्षति हुँदै आएकाले त्यसलाई रोक्ने उद्देश्यले आफूले पुल निर्माण गरेको ज्ञवालीले बताए ।


‘समाजमा केही नयाँ काम गर्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे भएकाले नयाँ डिजाईनको पुल निर्माण गरेको हुँ,सम्भवत: नेपालमा यस्तो किसिमको पुल बनेको छैन ।’ उनले भने,‘ईन्जिनियर नभए पनि मेरो रुचिको विषय भएकाले पुलको डिजाईन मैले नै गरेको हुँ । ’

प्रकाशित : मंसिर ३, २०७५ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?