३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जीर्ण पुलले जोखिम

गोरखा — बुढीगण्डकी नदीमाथिको अप्राङ झोलुंगे पुल जीर्ण हुँदा उत्तरी गोरखामा आउजाउ र खाद्यान्न ढुवानी प्रभावित भएको छ ।

जीर्ण पुलले जोखिम

चुमनुव्री गाउँपालिका ३ सिर्दिवासको घट्टेखोला र फिलिम जोड्ने उक्त पुलबाट चिप्लिएर लड्दा सोमबार आठवटा खच्चड घाइते भएको सिंगलाका तेजबहादुर गुरुङले बताए ।


नेपाल खाद्य संस्थानको चामल ती खच्चडमा बोकाएर लगिएको थियो । ‘पुलको दुईमध्ये एउटा लठ्ठामा दुई वर्षअघि नै माथिबाट खसेको ढुंगाले क्षति पुर्‍याएको थियो,’ उनले भने, ‘पुल अहिले कोल्टिएको छ । आज (सोमबार) बिहान ६ बजे ब्यालेन्स नमिल्दा आठवटा खच्चड पुलमै झुन्डिए । वरिपरिका गाउँले बोलाएर बल्ल–बल्ल निकाल्यौं ।’ सबै घाइते रहेको उनले बताए । शीत परेको पुलमा चिप्लिएर खच्चडहरू भत्किएको बारमा झुन्डिएका थिए ।


जीर्ण पुलका कारण यसअघि पनि पटक–पटक यस्ता दुर्घटना भइरहेको उनले बताए । सडक सञ्जालले नछोएको उत्तरी गोरखामा दैनिक उपभोग्य सामग्री ढुवानीको एक मात्र साधन खच्चड हो । ‘एउटै खच्चडको ६० हजारदेखि एक लाखसम्म मूल्य तिरेर ल्याउनुपर्छ,’ खच्चड व्यवसायीसमेत रहेका गुरुङले भने, ‘धराप भएको पुल र बाटोको कारण कुनै खच्चड मर्छन्, कुनै घाइते हुन्छन् । यो वर्षौंदेखिको समस्या हो ।’


लठ्ठा झोल्लिएर अप्राङ झोलुंगे पुल कोल्टिएको छ भने बारहरू पनि भत्किएका छन् । ‘पुलको स्थिति नाजुक भइसक्यो,’ उनले भने, ‘हिँड्नै नहुने पुलमा खच्चड र मान्छे जबरजस्ती हिँडेका हुन् । मर्मत नगरे यस्ता घटना अझै भइरहन्छन् ।’ उत्तरी गोरखाका साबिक सात गाविसमा दैनिक उपभोग्य सामग्री ढुवानी र गाउँले आउजाउका लागि उक्त पुलबाहेक वैकल्पिक मार्ग छैन ।


‘पुल कोल्टिएको छ । मान्छे हिँड्न पनि डर नै हुन्छ,’ सिर्दिवासका बासिन्दासमेत रहेका वडाध्यक्ष रामकुमार गुरुङले भने, ‘यो पुल नतरी अर्को बाटो जाने ठाउँ पनि छैन । घुमाउरो बाटो जाँदा धेरै समय लाग्छ ।’ विकल्प नभएकाले तत्काल आउजाउ रोकेर मर्मत गर्न पनि सजिलो नभएको उनले बताए । ‘मर्मत गर्नुभन्दा अर्कै पुल बनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘दुई वर्षअघि पनि पुल बनाउने मागको निवेदन दिएका थियौं । यो पुलमा सधैंको जोखिम भइरह्यो, अब अर्को नबनाई हुँदैन ।’


करिब दुई सय मिटर लम्बाइको झोलुंगे पुल जीर्ण भएर आउजाउ असहज भएपछि वारिपारिका गाउँले पनि चिन्तित छन् । पुल मर्मतको विषयमा छलफल भए पनि ठोस योजना नबनेको गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताइन् ।


‘हामी स्थानीय तहमा निर्वाचित भइसकेपछि एकपटक पुल बनाउनुपर्छ भनेर कुरा चलेको थियो तर कुनै ठोस योजना बनेन,’ उनले भनिन्, ‘अब यसलाई बनाउनका लागि हामी गम्भीर छौं ।’

प्रकाशित : मंसिर ४, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?