कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बलात्कार घटना दबाबमै ढाकछोप

स्याङ्जा — बलात्कारका घटना अझै पनि दबाबमा ढाकछोप भइरहेको भन्दै चनाखो हुनुपर्ने यहाँ सोमबार आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । 

अनौपचारिक सेवा केन्द्रले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक समीक्षामा बैठकका सहभागीले यस्तो बताएका हुन् । केही महिनाअघि चापाकोटका एक शिक्षकमाथि आफ्नै छात्रालाई बलात्कार गरेको आरोप लाग्यो ।


५५ वर्षीय शिक्षकले एक जोर कपडा र एउटा मोबाइल किनिदिने प्रलोभन दिई बारम्बार बलात्कार गरेको खुल्न आएको थियो । घटनामा आरोपीमाथि कारबाही हुन नदिन पीडितलाई १५ लाख र मिलाउनेलाई १० लाख दिने भन्दै दबाब आएको अधिकारकर्मीले बताए । घटना बाहिरिएपछि शिक्षकलाई कारबाहीबाट जोगाउन नेता र जनप्रतिनिधिले पनि दबाब दिएका थिए ।


चापाकोटमै १४ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कार प्रयासको घटना पनि प्रहरीसम्म ढिला पुगेको थियो । समाजमै मिलाउन दबाब दिने काम भइरहेका बेला पीडित पक्षले नमानेपछि प्रहरीले घटना दर्ता गरी कारबाही अघि बढाएको थियो । ‘समाजमा अझै पनि चेतनाको कमी छ,’ अधिकारकर्मी लक्ष्मीपति पौडेलले भने, ‘टाठाबाठाहरू लुकाउन खोज्छन् । गरिबलाई पैसाको प्रलोभन दिइन्छ ।’


गरिबीका कारण पनि पीडित पैसामा सजिलै मिल्ने भएपछि पीडितमाथि कारबाही गराउन अप्ठ्यारो रहेको उनले बताए । छलफलमा सहभागीमध्येका रवीन्द्र श्रेष्ठले चापाकोट क्षेत्रमा छात्राहरू आफ्नै शिक्षकबाट दुव्र्यवहारको सिकार भएको गुनासो आइरहेको बताए ।


इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले गत साउनयता स्याङ्जामा जबरजस्ती करणीका २३ वटा घटना दर्ता भएको बताए । उनका अनुसार एउटा घटनामा मात्रै एकजना आरोपीले अदालतबाट सफाइ पाएका छन् । तीनजना फरार छन् ।


१८ मुद्दाका पक्राउ परेका आरोपी पुर्पक्षका लागि जिल्ला कारागारमा छन् । इन्सेकको प्रतिवेदनअनुसार जबरजस्ती करणीका घटनामा पीडित हुनेमा ९ वर्षीया बालिकादेखि ६५ वर्षीया वृद्धासम्म छन् । यस्तैगरी न्यायिक उपचार खोज्न आएका घरेलु हिंसाका २१ वटा घटना छन् । १३ वटा मेलमिलाप भएको छ भने अन्य छलफलकै क्रममा छन् ।


बलात्कारका मुद्दा गत वर्षभन्दा दोब्बर भएका छन् । गत वर्ष १० वटा घटना थिए । जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले कतिपय घटना प्रहरीसमक्ष छिटो नआउने बताउँदै अधिकारकर्मीको सहयोग आवश्यक रहेको बताए । कामु प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बलात्कारका घटना समाजमा नै दबाउन दिन नहुने बताए ।

प्रकाशित : मंसिर ४, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?