सारङ्गीबाटै रोजगारी

प्रताप रानामगर

दमौली — तनहुँका गन्दर्भ समुदायका युवा पुर्खाैली पेसा अँगालेर रोजगारी सिर्जना गरेका छन् । भानु १ नयाँ बस्तीका युवाले सारङ्गी बनाउने पुर्खौली पेसा अँगालेदेखि विदेश पलायन हुनु परेको छैन । सारङ्गी बनाउने पेसाले गन्दर्भ युवालाई घर–घरमा रोजगारी दिएको छ । 

सारङ्गीबाटै रोजगारी

दीपक गन्दर्भ उमेरले ३५ वर्षका भए । उनलाई रोजगारीका लागि विदेश जाने सोच आएन । बरु पुर्खौली पेसा जगेर्ना गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले उनी एक दशकदेखि घरमा नै बसेर सारङ्गी बनाउँदै आएका छन् । ‘११ वर्षको उमेर हुँदा दाइ रामकृष्ण गन्दर्भसँग सारङ्गी बनाउन सिकें,’ उनले भने, अहिले यही पेसा काम लागेको छ । अर्काको देशमा काम गर्नभन्दा आफ्नै परम्परागत पेसा नै ठीक छ ।


यही पेसाबाट खर्च कटाएर महिनामा २५ हजार रुपैयाँ आम्दानी हुन्छ । विदेश गए पनि त्यत्ति नै हो कमाउने । छोराछोरीको पढाइ र घरव्यवहार यही आम्दानीबाट नै भएको छ । किन जानुपर्‍यो विदेश ? उनले गाउँका नयाँ पुस्तालाई सारङ्गी बनाउने सीप सिकाएका छन् ।


गाउँका भाइहरू बेरोजगार हुन नपरोस् । सीप सिकेमा केही बिग्रँदैन भनेर सिकाउन थालेको उनले बताए । गाउँका प्रदीप, मिलन, विशाल र सुजनले उनीसँग यो सीप सिकेका छन् । स्कुल बिदाको दिनमा भाइहरूले सारङ्गी बनाउने गरेका छन्, उनले भने । यसबाट दुई–चार पैसा पनि आउँछ । दीपकजस्तै गाउँका रमेश, एकबहादुर, मनोज, श्याम, रामकृष्ण गन्दर्भको मुख्य पेसा नै सारङ्गी बनाउने हो ।


उनीहरूले बाबु र बाजेसँग सारङ्गी बनाउन सिकेका हुन् । बनाएको सारङ्गी उनीहरूले २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी लिँदै आएका छन् । यही आम्दानीले गुजारा चलाउँछन् । सारङ्गीको मूल्य हेरी–हेरी हुन्छ । एउटा सारङ्गीलाई ५ सयदेखि १० हजार रुपैयाँसम्म पर्छ । उनीहरूले बनाएको सारङ्गीको बजारमा बढी माग छ । पोखरा, चितवन र काठमाडौंका व्यापारीले सारङ्गी लैजाने गरेका छन् ।


यहाँ बनाएको सारङ्गी राम्रो भएकाले माग पुर्‍याउन सकेका छैनन् । हामीले बनाएको सारङ्गी कलात्मक हुन्छ, रमेश गन्दर्भले भने । ग्राहकको रोजाइ अनुसार सारङ्गीमा कला भरिन्छ । प्राय: गणेश भगावन्को तस्बिर अंकित सारङ्गी बनाइन्छ । यस्ता खालका सारङ्गी रुचाएको पाइएको छ । अन्य समुदायले बनाएको भन्दा आफूहरूले बनाएको सारङ्गी बज्ने गरेको उनले बताए । कोही व्यापारी घरमै लिन आउने गरेका छन् । बढी सारङ्गी माग भयो भने बजारसम्म उनीहरू आफैं पुर्‍याउन जान्छन् ।


गाउँका समुन गन्दर्भ पुर्खौली पेसा छाडेर साउदी गए । उनी साउदी अरबमा दुई वर्ष पनि टिक्न सकेनन् । साउदीमा दु:ख, कष्ट झेल्नुपरेका उनी अन्तत: घर फर्केर पुखौली पेसा अँगालेका छन् । विदेशमा गरेको मिहिनेत घरमा गरे राम्रै पैसा कमाउन सकिने उनले बताए । अर्काको देशमा काम गर्नुभन्दा आफ्नै पुर्खाैली पेसालाई निरन्तरता दिन्छु भनेर घर फर्केको हुँ, उनले भने, अब सारङ्गी बनाउने काम छोड्दिनँ ।


आफ्नै पेसाबाट राम्रो कमाइ हुँदोरहेछ । किन जानु पर्‍यो विदेश ? अरूलाई पनि यही पेसामा लाग्न प्रेरणा दिन्छु, उनले भने । सारङ्गीबाट राम्रो आम्दानी लिन थालेपछि छिमेकी तामाङ समुदायले पनि यही पेसा गरेका छन् । तामाङ समुदायले एक दशकदेखि मुख्य पेसा नै सारङ्गी निर्माणलाई बनाएका छन् । गाउँका पदम, श्रीप्रसाद, अमृत तामाङलगायतले घरमै सारङ्गी बनाउने गर्छन् ।


पेसा जे गरे पनि हुन्छ, अमृतले भने, जातिविशेषले गर्नुपर्छ भन्ने छैन । गन्दर्भ दाजुभाइसँग सारङ्गी बनाउन सिकियो । हामीले मुख्य पेसा नै सारङ्गीलाई बनाएका छौं, उनले भने । गन्दर्भहरूसँग मिलेर सारङ्गी बजारमा सँगै बिक्री गर्ने गरेको पदम तामाङले बताए । सारङ्गी बनाउन खिर्रा, बकाइनो, डबडबेजस्ता कुकाठ प्रयोग हुन्छ । तर कुकाठ भए पनि मेहेनत लाग्छ ।

प्रकाशित : मंसिर ४, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?