२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घट्याे तोरण तार्ने चलन

दिप्ती सिलवाल

पर्वत — हरिबोधिनी एकादशीमा मोदीवेणीबाट कालीगण्डकी रंगीचंगी देखिन्थ्यो । वारिपारि गरेर तोरण तार्नेहरूको भीड लाग्थ्यो । यसपटकको एकादशी पहिलेजस्तो नभएको अनुभव कुश्मा ५ का हरिप्रसाद उपाध्यायले गरे । 

घट्याे तोरण तार्ने चलन

‘पोहोर–परारजस्तो न तोरण तार्ने देखिए, न त्यत्रोविधि भीड,’ उनले भने, ‘तोरण तार्ने चलन घटेछ ।’ यस क्षेत्रको पवित्र र प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिएको कालीगण्डकी किनारको मोदीवेणीमा कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म पहिले–पहिले तोरण तार्नेहरूको निकै भीड लाग्ने गरेको उनले बताए ।


‘हामी सानो छँदा तोरण तार्नेको ठेलमठेल हुन्थ्यो,’ उनले भने, ‘कुश्मादेखि मोदीवेणीसम्म तोरणका लस्कर हुन्थे । आज एउटै तोरण तारेको देखिएन ।’ एक दशकयता बर्सेनि तोरण तार्ने चलन हराउँदै जान थालेको उनले बताए ।


हरिबोधिनी एकदशीमा आषाढ शुक्ल एकादशी अर्थात् हरिसयनी एकादशीमा रोपेको तुलसीको विवाह गर्ने चलन छ । भगवान् विष्णुको आराधना गरी मनाइने वर्षभरिका २४ वटा एकादशीमध्येको हरिबोधिनी सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । हरिसयनी एकादशीदेखि फलाहार व्रत बसेर हरिबोधिनीमा पवित्र नदीमा तोरण तारेपछि विष्णु खुसी हुने धार्मिक मान्यता छ ।


कालीगण्डकी विष्णुको स्वरूप मानिने शालिग्राम शिला पाइने नदी भएको हुनाले पनि तोरण तारेर तुलसीको विवाह गर्दा पुण्य मिल्ने विश्वास छ । तर, असार शुक्ल एकादशीदेखि कात्तिक सम्मको लामो व्रत कठोर हुने भएकाले पछिल्लो समय त्यस्तो व्रत बस्नेहरू घट्दै जाँदा तोरण तार्ने प्रचलन हराएको मोदीवेणी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष केशवदास पौडेल बताउँछन् । ‘चतुर्मासलाई निकै कठोर व्रत मानिन्छ,’ उनले भने, ‘त्यो समयमा फलफूल मात्रै खाएर व्रत बसेपछि मात्रै तोरण तार्ने हो । अहिले त्यसरी व्रत बस्नेहरू भेटिँदैनन् । अनि तोरण कसले तारोस् ।’


तोरण तार्न बाजागाजासहित आउने टोलीको मोदीवेणीमा घुइँचो हुन्थ्यो । त्यो अवस्था हिजोआज छैन । धार्मिक विधिमा सजिलो बाटो खोज्ने चलनले पुराना संस्कृतिमा असर गरेको मोदिवेणी धार्मिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष युवनाथ रेग्मीले बताए ।


‘केही वर्षअघिसम्म फाट्टफुट्ट तोरण आउँथे,’ उनले भने, ‘यो वर्ष एउटै आएन । हामी पनि चकित छौं ।’ दशकअघिसम्म एकादशीभन्दा साता दिनअघिदेखि निकै टाढा–टाढाबाट आएर बास बसेरै स्नान गर्ने र तोरण तार्नेको भीड लाग्ने गरेकोमा अहिले त्यस्तो चलन लोप भएको उनले बताए ।


‘आफ्नो मनोकामना पूरा गर्न फलाहारी व्रत बसेकाहरूले बाटेको तोरण हरिबोधिनी एकादशीमा तारेपछि चौमासिक व्रतको सांगे पूजा गरिन्छ,’ पण्डित चैतन्य कृष्णले भने, ‘यो एक कठिन तपस्या हुने भएकाले तोरण तार्नेहरूको विस्तारै कमी आएको हुन सक्छ ।’


धर्मप्रति आस्था भए पनि नदी वारिपारि तोरण तार्न वृद्धवृद्धाले सक्दैनन् । युवा सहर र विदेश पलायन हुँदा गाउँमा तोरण बाट्ने र बोकेर नदीसम्म ल्याउने तथा तार्ने मान्छेको नहुने कटुवाचौपारीका तोयानाथ पौडेल बताउँछन् ।

प्रकाशित : मंसिर ४, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?