१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कर्मचारी अभाव, वडाध्यक्षलाई भार

‘कर्मचारीको काम पनि आफैं गर्नुपर्दा दिन ४८ घण्टाको हुँदा ठिक्क हुन्थ्यो जस्तो लाग्छ’

बागलुङ — निर्वाचित भएयता जैमिनी नगरपालिका २ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा सधैं बेफुर्सदी छन् । बिहान उठेदेखि बेलुकी अबेरसम्म वडा समितिको काममा व्यस्त हुन्छन् । 

‘वडाध्यक्षको हैसियतले गर्ने काम त गर्नैपर्‍यो, वडासचिव, लेखापाल, प्राविधिक र कार्यालय सहयोगी कोही छैनन्,’ उनले भने,’ ‘अरूका भागको पनि काम गर्ने बाध्यता आइपरेको छ ।’ स्थानीय तह निर्वाचनको डेढ वर्ष पुग्दा पनि वडामा सचिव, प्राविधिक र लेखा हेर्ने कर्मचारी आइनपुगेको उनले बताए ।

एकजना कृषि प्राविधिक छन् । उनको काम अधिकांश समय किसानको खेतबारीमा हुन्छ । जसका कारण कार्यालयमा आएर बस्न भ्याउँदैनन् । त्यसमा पनि कृषि प्राविधिक रवीन्द्र शर्माले अर्को वडा पनि हेर्ने बाध्यता छ । उनले नै नगरपालिकामा चल्ने अन्य धेरै वडाको तालिम हेर्ने बाध्यताले कार्यालयमा साथ दिन सकेका छैनन् ।


नगरपालिकाको बैठक या अन्य कारणले सापकोटा सदरमुकाम जानुपर्दा वडा कार्यालय बन्द रहन्छ । बन्दको समयमा आउने सेवाग्राही काम नभएपछि निरास भएर फर्कन्छन् । सचिव अभावमा सबै काम गर्नुपर्दा वडामा हुने कार्यक्रम, योजना निर्माण र अनुगमन तथा जनताको घरदैलोमा पुग्ने काम अवरुद्ध भएको उनले गुनासो गरे । ‘जनताको बीचमा गरेका प्रतिबद्धता पूरा गर्न नसकिने भइयो,’ सापकोटाले गुनासो गर्दै भने, ‘कर्मचारीको काम पनि आफैँ गर्नुपर्दा दिन ४८ घण्टाको हुँदा ठिक्क हुन्थ्योजस्तो लाग्छ ।’ कार्यालयको कामको चापले आफ्नै परिवारका लागि समय निकाल्न नसक्दा राजीनामा दिने मनस्थितिमा पुगेको उनले बताए ।


नगरपालिकाले भने कार्यालयमै अभाव भएकाले कर्मचारी पठाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए । ‘नगरपालिकामै कर्मचारी पुगेका छैनन् । त्यसैले उहाँहरूको माग पूरा गर्न सकिएन,’ उनले भने, ‘जिल्लामा भएका जगेडा कर्मचारी व्यवस्थापन गरिदिने जिम्मा सिडिओ साबको हो ।’ कार्यपालिकाले निर्णय गरेर उक्त वडामा कार्यालय सहयोगी नियुक्ति गर्ने प्रक्रिया थालेको उनले बताए । जैमिनी नगरका १ र ३ नम्बर वडामा पनि वडासचिव छैनन् । सचिव अभावमा अधिकांश सेवाग्राहीले सास्ती खेपेको गुनासो गर्दै आएका छन् ।


प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले समस्या थाहा पाए पनि जिल्लामा पर्याप्त संख्यामा कर्मचारी नहुनुले पठाउन नसकेको बताए । ‘भएका कर्मचारी पठाउने जिम्मा मेरो नभए पनि केन्द्रमा माग गरेको छु,’ उनले भने, ‘नयाँ आउने कर्मचारीलाई पठाउने सोचाइ छ । खरिदार तहका कर्मचारी प्राप्त हुनासाथ सचिवको जिम्मेवारी दिएर पठाउनुपर्ला ।’ लेखा हेर्ने कर्मचारी अभावमा वडामा आएको बजेटको हिसाब गर्दा जनप्रतिनिधि भएर पनि अनावश्यक तनाव लिन बाध्य भएको सापकोटाको गुनासो छ ।

प्रकाशित : मंसिर ५, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?