कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जाडोका लागि गुइँठाको जोहो

जंगलमा दाउरा कम पाइने भएकाले आगो ताप्न गुइँठा सहज विकल्प
हरिराम उप्रेती

गोरखा — तराईका ग्रामीण क्षेत्रमा दाउराको विकल्पमा गोबरका गुइँठा प्रयोग गरेको देखेकालाई जिज्ञासा लाग्नसक्छ । हिमाल फेदीका लेकाली बस्तीका बासिन्दा पनि गुइँठा पार्छन्/पार्दैनन् ? 

जाडोका लागि गुइँठाको जोहो

उत्तरी गोरखाको यात्रामा घरका भीत्ताभरि गुइँठा देख्दा सजिलै बुझिन्छ । पहाड र लेकमा पनि गुइँठा पार्ने चलन छ । चुमनुव्री गाउँपालिका ७ छेकम्पारका २ सय ७३ घरधुरीमध्ये अधिकांशका भित्ता र पर्खाल यतिखेर चौंरीका गोबरका गुइँठा भरिएका छन् । तिब्बतको सिमानासँग जोडिएको हिमालपारिको गाउँ छेकम्पारका बासिन्दा हिउँदको जाडोमा तातोका लागि गोबरका गुइँठा जोहो गरिरहेका छन् ।


‘खर्क र गोठबाट टिपेर ल्याएको गोबरका गुइँठा पार्छौं,’ स्थानीय पेमा लामाले भनिन्, ‘आलो भए भीत्तामा आफैं टाँसिन्छ, सुक्न थालेको भए पानी हालेर टाँस्नुपर्छ ।’ भित्तामा टाँसेका गुइँठा सुकेर तयार हुन करिब चार साता लाग्ने उनले बताइन् । हिउँ परेर जाडो बढेको समयमा गुइँठा बाल्दा तातो हुने स्थानीय बताउँछन् । ‘एक/दुईवटा दाउरा राखेर गुइँठा जोरेपछि बेस्सरी तातो हुन्छ,’ ७५ वर्षीय छिम दोर्जेले भने, ‘जाडो बढेपछि बूढाबूढी, केटाकेटी बाहिर निक्लन सक्दैनन् । यही तापेर घरभित्रै बस्ने हो ।’ धेरै हिमपात हुँदा दाउरा खोज्न निस्कन नसकिने अवस्था हुन्छ । ‘त्यतिखेर दाउरा खोज्न निस्कनुभन्दा आफ्नै घरमा बाल्ने कुरा भएपछि चिन्ता पनि हुँदैन,’ उनले भने, ‘धूवाँ हुन्छ तर तातो चाहिएको बेला त्यसको फिक्री गरेर

पनि भएन ।’


वर्षांैदेखि यसरी गुइँठा पार्ने गरिएको स्थानीय बताउँछन् । जंगलमा दाउरा कम पाइने भएकाले आगो ताप्न गुइँठा सहज विकल्प छ । ‘जुनसुकै बेला जंगलमा दाउरा काट्न पाइँदैन । फेरि यताको वनमा पर्याप्त दाउरा पनि पाइँदैन । जाडो बढदा आगो नबाली बस्न पनि सकिँदैन,’ उनले भने, ‘सुगम ठाउँ भएको भए हिटर बाल्थे होलान् । हाम्रो यहाँ गोबर पाइन्छ । जहाँ जे पाइन्छ त्यसैलाई प्रयोग गर्ने त हो ।’


छेकम्पारका गाउँले चौंरी पाल्छन् । त्यसकै गोबरको गुइँठा पनि पार्छन् । चांैरीको गोबरका गुइँठा बाल्न राम्रो हुने स्थानीय नबाङ लामाले बताए । ‘घोडाको गोबर सुकाउँदा पनि सुकाइँदैन । बाल्न पनि प्रयोग हँुदैन,’ उनले भने । जाडोमा तातोका लागि प्रयोग गर्ने भएकाले गोबरको महत्त्व रहेको उनले बताए । गुइँठाको आगोमा बनाएको खानेकुरा स्वादिलो हुने लोप्साङ लामा बताउँछन् ।


‘भुङ्ग्रोमा हालेपछि यसको आगो नै अरू भन्दा रापिलो बल्छ,’ उनले भने, ‘एउटा–दुईटाले खाना नै पाक्छ ।’ छेकम्पारमा सात सयदेखि नौ सयको हाराहारी संख्यामा चौंरीगाई छन् । ‘यो भित्तामा सुकाएको गोबर फारु गरेर बाले दुई/तीन महिना पुग्छ,’ लोप्साङले भने, ‘दाउरा पनि कम पाइने भएपछि खाना बनाउन यहाँका मान्छेले खच्चडमा बोकाएर ग्यास पनि ल्याउन थालेका छन् ।


ग्यासमा आगो ताप्न मिल्दैन । ताप्नका लागि त कि गोबर कि दाउरै चाहिन्छ ।’ धेरै चिसो हुने भएकाले बोटबिरुवा निकै ढिला हुर्कन्छन् । दाउराका लागि बोटबिरुवा काटदा छिटो जगाउन नसकिने उनले बताए ।

प्रकाशित : मंसिर ५, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?