‘मोडेल नवलपुर’ बनाउने खाका सार्वजनिक

राष्ट्रिय योजना आयोगले देश विकासको खाका कोरेझैं विज्ञको समूहले जिल्लामा गर्न सकिने योजना बनाए
कान्तिपुर संवाददाता

नवलपरासी — नवलपुरलाई मोडेल जिल्लाका रूपमा विकास गर्न बनाइएको नमुना जिल्ला विकास योजनाको खाका सार्वजनिक गरिएको छ ।

शाश्वत धाममा एक कार्यक्रमको आयोजना गरी नवलपुरबाट प्रतिनिधित्व गर्ने सबै सांसद, प्रदेश सभासदहरू र ८ वटै पालिकाका प्रमुखले परिकल्पना खाका सार्वजनिक गरेका हुन् । नवलपुरबाट तीनवटै निकाय र निर्वाचित प्रतिनिधिको संयुक्त दस्तावेज हो । यो दस्तावेजमा समावेश गरिएका विकास निर्माणका योजना कार्यान्वयन गर्न सके नवलपुर आउँदो ५ वर्षमै ७७ जिल्लामै विकास र समृद्धिमा मोडेल बन्ने दाबी गरिएको छ । यस्तो संयुक्त कार्यक्रम अन्य जिल्लाका लागि पनि नयाँ मोडेल हुनेछ ।

राष्ट्रिय योजना आयोगले देश विकासको खाका कोरेझैं यहाँ पनि विज्ञहरूको समूहले जिल्लामा गर्न सकिने योजनाको खाका तयार गरेको हो । नवलपुर जिल्लामा आगामी २० वर्षमा गर्न सकिने विकास, निर्माण र प्रवद्र्धनका लागि विज्ञ समूहले बनाएको विकास योजनासहितको खाका सार्वजनिक गरिएको हो ।

यहाँका सांसद तथा चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीको अग्रसरतामा नवलपुर जिल्लालाई ७७ जिल्लाकै विकास मोडेल बनाउने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका बनाएर सार्वजनिक गरिएको हो ।

जिल्लाभित्र ८ वटा गाउँपालिकामा गरेर आगामि १ वर्ष, ५ वर्ष र २० वर्षभित्र गर्न सकिने विकासका योजनालाई किताबमा राखेर सार्वजनिक गरिएको हो । ९ महिना लगाएर चौधरी फाउन्डेसन, जिल्ला समन्वय समिति नवलपुर र समिति गैंडाकोटले ती विकासका खाका बनाएका हुन् । हरेक पालिका र जिल्लाभरि गरेर फरक– फरक १२ सय ७५ वटा विकासका योजना किताबमा समेटिएको छ । योजनामा समेटिएका विकास निमार्णका काम अघि बढाउँदा नवलपुर मोडल जिल्ला बन्नेतर्फ प्रेरित हुने आयोजकको दाबी रहेको छ ।

सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मोडल नवलपुरका परिकल्पनाकार एवं सांसद विनोद चौधरीले देशभरिको केन्द्रमा रहेको र भौगोलिक बिचित्रताको जिल्ला भएकाले यसलाई देशकै नमूना जिल्ला बनाउन योजनासहितको प्रारम्भिक खुड्किलोको सुरुवातको थालनी गर्न पाउँदा खुसीलागेको बताए ।

उनले यो खाकामा समेटिएका योजनामा टेकेर काम गर्दा राम्रो गन्तव्यको सुरुवात हुने बताउँदै यो दस्तावेज सबैको सयुक्त पुँजी भएकाले ३ तहका सरकार, निजी क्षेत्र, गैरसरकारी संघ–संस्था र सरोकारवालाले जिम्मा लिएर अघि बढे नवलपुर साँच्चै मोडेल जिल्लाका रूपमा चित्रित हुने बताए ।

राष्ट्रिय योजना आयोगले देशको नक्सा कोरेझैं आफ्नो प्रयासमा विज्ञहरूको समूहले स्थानीय तहको तल्लो निकायसम्म त्यहाँका आवश्यकताका बारेमा छलफल गरेर तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका कोरेको हो । यस्तो योजना अहिलेसम्म अरू जिल्लाले बनाएका छैनन् । योजना बनाउनुअघि विज्ञहरूको टोलीले जिल्लाका सबै सांसद, प्रदेश सभासदहरू रस्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग पटकपटक स्थानीय आवश्यकता र प्राथामिकताका बारेमा छलफल गरेको सहमति संस्थाका संयोजक करुणसागर सुवेदीले बताए ।

सार्वजनिकीकरण कार्यक्रममा बोल्दै सांसद तिलक महतले शुक्रबार सार्वजनिकीकरण गरिएको मोडल नवलपुरको खाकाको सबै सरकारले स्वामित्व लिएर काम गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा यसै क्षेत्रका सांसद डा. शशांक कोइरालाले आफू ३ पटक नवलपरासीबाट निर्वाचनमा विजयी भएको र योजनाबद्ध विकासको खाका कोर्न पाउँदा खुसी लागेको रतथा आफूले मोडेल नवलपुर बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए । शुक्रबार सार्वजनिक गरिएको विकासको दस्तावेजमा कृषि, पर्यटन, उत्पादन, औद्योगीकरण, स्वास्थ्य, शिक्षा, पानी, र प्रविधिका विषयलाईप्राथामिकतामा राखेर योजनाहरू बाँडफाँड गरिएको छ ।

दस्तावेजमा समावेश गरिएका विकासका योजनालाई ८ वटै पालिकाले यसअघिको बजेटमा पर्याप्त बजेट विनियोजन गरिसकेको पालिकाका प्रमुखहरूले कार्यक्रममा जानकारी दिए । बाँकी रहेका योजनालाई आगामी बजेटमा प्राथामिकतामा राख्ने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।

प्रकाशित : मंसिर ५, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्

जाडोका लागि गुइँठाको जोहो

जंगलमा दाउरा कम पाइने भएकाले आगो ताप्न गुइँठा सहज विकल्प
हरिराम उप्रेती

गोरखा — तराईका ग्रामीण क्षेत्रमा दाउराको विकल्पमा गोबरका गुइँठा प्रयोग गरेको देखेकालाई जिज्ञासा लाग्नसक्छ । हिमाल फेदीका लेकाली बस्तीका बासिन्दा पनि गुइँठा पार्छन्/पार्दैनन् ? 

उत्तरी गोरखाको यात्रामा घरका भीत्ताभरि गुइँठा देख्दा सजिलै बुझिन्छ । पहाड र लेकमा पनि गुइँठा पार्ने चलन छ । चुमनुव्री गाउँपालिका ७ छेकम्पारका २ सय ७३ घरधुरीमध्ये अधिकांशका भित्ता र पर्खाल यतिखेर चौंरीका गोबरका गुइँठा भरिएका छन् । तिब्बतको सिमानासँग जोडिएको हिमालपारिको गाउँ छेकम्पारका बासिन्दा हिउँदको जाडोमा तातोका लागि गोबरका गुइँठा जोहो गरिरहेका छन् ।

‘खर्क र गोठबाट टिपेर ल्याएको गोबरका गुइँठा पार्छौं,’ स्थानीय पेमा लामाले भनिन्, ‘आलो भए भीत्तामा आफैं टाँसिन्छ, सुक्न थालेको भए पानी हालेर टाँस्नुपर्छ ।’ भित्तामा टाँसेका गुइँठा सुकेर तयार हुन करिब चार साता लाग्ने उनले बताइन् । हिउँ परेर जाडो बढेको समयमा गुइँठा बाल्दा तातो हुने स्थानीय बताउँछन् । ‘एक/दुईवटा दाउरा राखेर गुइँठा जोरेपछि बेस्सरी तातो हुन्छ,’ ७५ वर्षीय छिम दोर्जेले भने, ‘जाडोबढेपछि बूढाबूढी, केटाकेटी बाहिर निक्लन सक्दैनन् । यही तापेर घरभित्रै बस्ने हो ।’ धेरै हिमपात हुँदा दाउरा खोज्न निस्कन नसकिने अवस्था हुन्छ । ‘त्यतिखेर दाउरा खोज्न निस्कनुभन्दा आफ्नै घरमा बाल्ने कुरा भएपछि चिन्ता पनि हुँदैन,’ उनले भने, ‘धूवाँ हुन्छ तर तातो चाहिएको बेला त्यसको फिक्री गरेर
पनि भएन ।’

वर्षांैदेखि यसरी गुइँठा पार्ने गरिएको स्थानीय बताउँछन् । जंगलमा दाउरा कम पाइने भएकाले आगो ताप्न गुइँठा सहज विकल्प छ । ‘जुनसुकै बेला जंगलमा दाउरा काट्न पाइँदैन । फेरि यताको वनमा पर्याप्त दाउरा पनि पाइँदैन । जाडो बढदा आगो नबाली बस्न पनि सकिँदैन,’ उनले भने, ‘सुगम ठाउँ भएको भए हिटर बाल्थे होलान् । हाम्रो यहाँ गोबर पाइन्छ । जहाँ जे पाइन्छ त्यसैलाई प्रयोग गर्ने त हो ।’

छेकम्पारका गाउँले चौंरी पाल्छन् । त्यसकै गोबरको गुइँठा पनि पार्छन् । चांैरीको गोबरका गुइँठा बाल्न राम्रो हुने स्थानीय नबाङ लामाले बताए । ‘घोडाको गोबर सुकाउँदा पनि सुकाइँदैन । बाल्न पनि प्रयोग हँुदैन,’ उनले भने । जाडोमा तातोका लागि प्रयोग गर्ने भएकाले गोबरको महत्त्व रहेको उनले बताए । गुइँठाको आगोमा बनाएको खानेकुरा स्वादिलो हुने लोप्साङ लामा बताउँछन् ।

‘भुङ्ग्रोमा हालेपछि यसको आगो नै अरू भन्दा रापिलो बल्छ,’ उनले भने, ‘एउटा–दुईटाले खाना नै पाक्छ ।’ छेकम्पारमा सात सयदेखि नौ सयको हाराहारी संख्यामा चौंरीगाई छन् । ‘यो भित्तामा सुकाएको गोबर फारु गरेर बाले दुई/तीन महिना पुग्छ,’ लोप्साङले भने, ‘दाउरा पनिकम पाइने भएपछि खाना बनाउन यहाँका मान्छेले खच्चडमा बोकाएर ग्यास पनि ल्याउन थालेका छन् ।

ग्यासमा आगो ताप्न मिल्दैन । ताप्नका लागि त कि गोबर कि दाउरै चाहिन्छ ।’ धेरै चिसो हुने भएकाले बोटबिरुवा निकै ढिला हुर्कन्छन् । दाउराका लागि बोटबिरुवा काटदा छिटो जगाउन नसकिने उनले बताए ।

प्रकाशित : मंसिर ५, २०७५ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्