दृष्टिविहीनको सगरमाथा सपना

‘हामी अपांग होइनाैं, फरक क्षमता भएकाहरू हौं’
प्रकाश बराल

बागलुङ — भूकम्पले धरहरा ढल्दा २०७२ वैशाखमा अमिट केसी नजिकै थिए । आफ्नो सगरमाथा आरोहरणको लक्ष्य रहेकाले भूकम्पले केही नगरेको उनलाई लाग्छ । 

दुर्घटना देख्न सकेनन् । उनले के भएको हो भन्नेचाहिँ बुझे । टुँडिखेलमा रात बिताए । छेवैका धेरैको ज्यान गयो । उक्त घटना सम्झेर केसी भन्छन्, ‘सगरमाथा चढ्नु छ, मलाई केही हुँदैन ।’ बागलुङको जैमिनी ४ का ३५ वर्षीय केसी दृष्टिविहीन हुन् । दुई वर्षअघिको जेठमा उनी सगरमाथा आरोहणमा हिँडेका थिए । मौसमी खराबीले चुचुरोमा नपुग्दै फर्कनुपर्‍यो ।


उनले अझै हिम्मत हारेका छैनन् । फेरि सगरमाथा चढ्ने साहस बटुलेर प्रशिक्षणमा जान थालेका छन् । ‘मानसिक रूपमा साहस बटुलेर थालेको काम भएर होला, सपना पनि सगरमाथा चढेकै देख्छु,’ उनले भने, ‘अघिल्लो पटक प्रकृतिले साथ दिएन । अब जसरी पनि पुग्छु ।’ डेढ वर्ष लामो अभ्यासपछि उनी आरोहणमा गएका थिए । त्यसबेला विदेशी आरोहीको टोलीसहित उनलाई मौसमले साथ दिएन ।


८ हजार मिटरको ‘साउथकोल’ पुग्दा मौसमले साथ नदिएर फर्कनु परेकाले फेरि जाने तयारी गरेका हुन् । यसअघि अमेरिकी दृष्टिविहीन एरिक एहिङ मेयरले सगरमाथा आरोहण गरेको रेकर्ड छ ।


‘दृष्टिविहीन भए पनि नसकिने भन्ने छैन, सगरमाथाको चुचुरोमा पुगेरै छाड्छु,’ उनी भन्छन् । यसअघि विदेशी एकजना दृष्टिविहीनले चुचुरोमा नपुग्दै फर्केको जानकारी पाएपछि उनमा पुगेरै छाड्ने चाहना पलाएको हो । सगरमाथा चढ्ने अभियानकै कारण उनले सदरमुकामको रामरेखा निमाविमा अध्यापन गर्दागर्दै छाडेका थिए ।


आर्थिक संकलनको प्रयास सफल भए आगामी वैशाखको सिजनमा सगरमाथा चढ्ने उनको योजना छ । त्यसका लागि उपकरण, सामग्री, गाइड खर्चसमेत झन्डै ७० हजार डलर लाग्ने अनुमान छ । त्यसका लागि उनी फेरि रकम संकलन अभियान लिएर हिँडेका छन् । सगरमाथा आरोहणमा जानुअघि ६ हजार २ सय मिटर उचाइको सोलुखुम्बुको आइसल्यान्ड पिक पनि उनले चढेका थिए ।


त्यतिबेला पनि केसीसँगै गएका केही मानिस बेपत्ता भएका थिए । उनी सकुशल फर्किएका हुन् । दुई सातासम्म हिउँमै रमाउने अनुभव बटुलिसकेका उनलाई आगामी आरोहण पनि सकिन्छ भन्ने लागेको छ । दृष्टिविहीन भएकाले यात्रामा उनलाई दया गर्न खोज्नेहरू धेरै भए । तर, उनी दयाको नभई सहयोगको आस गर्छन् । ‘दयाले कमजोर बनाउँछ,’ केसी भन्छन्, ‘अपांगता भएका व्यक्तिलाई साहस दिने व्यक्तिको खाँचो छ । केही स्थानमा सहयोग चाहिन्छ ।’


ब्रेल लिपिमा पढेर एसएलसी उत्तीर्ण गरेपछि उनको पढाइमा पनि संघर्ष नै गर्नुपर्‍यो । साथीहरूले पढेर रेकर्ड गरिदिएको सुनेरै उनले धौलागिरि बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरे । घरपरिवारबाटै बोझ सम्झने अपांगलाई सबैको प्रेरणाको स्रोत बनाउन सक्नुपर्छ भनेर उनले साहसिक कदम उठाएको बताए । ‘हामी अपांग होइनाैं, फरक क्षमता भएकाहरू हौं,’ उनले भने, ‘यसो भनिरहँदा के फरक क्षमता छ भनेर हामीले समाजलाई प्रमाणित गरिदिनु पर्नेछ ।’


आरोहणका लागि सपोर्ट एड्भान्स तालिमसमेत लिएकाले पैसा जम्मा गर्न सके दुई महिनाको फिजिकल फिट्नेस तालिम लिएर सगरमाथा चढ्ने उनको तयारी छ । सगरमाथा चढ्न सक्ने हिम्मत भएकाले नेपाल पर्वतारोहण संघले सफल आरोहीको प्रमाणपत्र पनि दिइसकेको छ ।


दृष्टिविहीनका तर्फबाट संसारकै पहिलो व्यक्तिका रूपमा सगरमाथा चढ्ने सूचीमा नाम लेख्ने उनको एकमात्र धोको छ । सामाजिक समस्या भनिने अपांगप्रतिको हेराइ फेर्ने उनको अर्को धोको हो । ‘अपांगले केही गर्न सक्दैनन् भन्ने हाम्रो सामाजिक मान्यता तोड्ने अभियान हो,’ उनले भने, ‘देशका १० प्रतिशत अपांगको शिर उँचो बनाउन मेरो एक्लो प्रयास नै प्रेरणा बन्नेछ ।’

प्रकाशित : मंसिर ८, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?