हराउन थाले पानीघट्ट

हिमाली भेगमा मकै, कोदो, गहुँ र जौलगायतका अन्न पिस्न लोकप्रिय मानिएको पानीघट्टको चलन लोप हुँदै
मिलमा कुटानीपिसानी पानीघट्टमा भन्दा सजिलो र छिटो
हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका ६ चुम्चेतको लोक्पाका छेबाङ रेन्जिङ लामा एक बोरा मकै पिस्न चार घण्टाको पैदल हिँडेर सिर्दिवास फिलिमको मिलमा जान्छन् । कुटानीपिसानी मिलमा पालो कुरेर घर फर्कंदा एक दिन पूरै लाग्ने लामाले बताए । 

हराउन थाले पानीघट्ट

‘पहिले गाउँ नजिकै पानीघट्ट थियो । अहिले घट्ट चल्न छाडे,’ उनले भने, ‘खानैपर्‍यो, एक दिन माया मारेर फिलिम पुगेर अन्न पिस्ने गरेका छौं ।’ भौगोलिक हिसाबले अति दुर्गम मानिएको उक्त क्षेत्रका बासिन्दा घण्टौं हिँडेर अन्न पिस्न फिलिम नै पुग्नुको विकल्प छैन । ‘तीन/चार वर्षअघिसम्म खोला किनारमा चार–पाँचवटा घट्ट थिए । अहिले गाउँ नजिकै एउटै छैन,’ उनले भने, ‘लोक्पाबाट प्रत्येक दिन कम्तीमा एकजना दिन माया मारेर फिलिमको मिल नगएको दिन हुँदैन ।’


घट्ट लोप हुँदै जाँदा चुम्चेतवासीले झनै दु:ख पाएको लामाको भनाइ छ । ‘यहाँ धानखेती हुँदैन, मकै, कोदो, गहुँ, जौ मात्र लगाउँछौं,’ उनले भने, ‘बिहान चामलको भात खाए बेलुकी ढिँडो । बेलुकी चामलको भात खाए बिहान ढिँडो खाने हो । किनेको चामल सधैं खान पनि सकिँदैन ।


जति दु:ख गरेर भए पनि अन्न नपिसेर के गर्नु ?’ खोला तथा मूलको पानीलाई कुलो बनाएर विद्युत् उत्पादन हुने जस्तै तरिकाबाट सञ्चालन हुने घट्ट सामान्यत: आउजाउमा सजिलो पर्ने ठाउँमा हुँदैनन् । खोला छेउछाउ र भीरमा हुने घट्टमा सञ्चालकले अन्न पिसेबापत ज्यालामा अन्न नै लिने चलन थियो । नजिक गाउँमा बिजुली आएसँगै कुटानीपिसानीको मिल सञ्चालनमा आयो । पानीघट्ट खोज्दै अन्न बोकेर आउनेहरू घट्ट सञ्चालक निरास भएर चलाउन छाडेका हुन् ।


घट्ट लोप हँुदै जाँदा घण्टौं हिँडेर मिलमै पुग्नुपर्ने बाध्यता रहेको सिर्दिवासमा भेटिएकी न्याकफेदीकी संगिता गुरुङले बताइन् । ‘मिलसम्म आइपुग्न दुई घण्टा लाग्यो । यहाँ पालो कुरेर मकै पिँधेर फर्कंदा रात पर्छ,’ उनले भनिन्, ‘गाउँ नजिकै मिल छैनन् । घट्टहरू देखिन छाडे, यहाँका मान्छेलाई धेरै दु:ख छ ।’ आउजाउमा समय लागे पनि मिलमा भनेजस्तो पिसाइ हुने उनले बताइन् । ‘पानीको फोर्स भए पनि घट्टमा १० पाथी पिस्दा १ घण्टाभन्दा बढी लाग्छ,’ उनले भनिन्, ‘मिलमा आधै छिटो हुन्छ ।’


हिमाली भेगमा मकै, कोदो, गहुँ र जौ लगायतका अन्न पिस्न लोकप्रिय मानिएको पानीघट्टको चलन विस्तारै हराउन लागेको छ । बिजुली पुगेका ठाउँमा कुटानीपिसानीका मिल सञ्चालनले छिटो र सजिलो हुन थालेपछि घट्ट चलाउनेले छाडेका हुन् । कतिपयका नयाँ पुस्ताले घट्टको जिम्मेवारी नलिँदा बूढापाकाले चलाउन नसकेका पनि हुन् ।


केही वर्षअघिसम्म यहाँका उत्तरी क्षेत्रका गाउँहरूमा खोलैपिच्छे घट्ट भेटिन्थे । धार्चे गाउँपालिका ४ लाप्राकमा तीन वर्षअघि पाँचवटा घट्ट सञ्चालनमा थिए । अहिले एउटा मात्र घट्ट सञ्चालनमा छ । त्यो घट्ट पनि आफूले सकुञ्जेल पुख्र्यौली पेसा धान्छु भन्दै ८४ वर्षीय सायु गुरुङले चलाएका छन् । ‘तीन/चार वर्षअघिसम्म अन्न पिस्न यहाँ भीड लाग्थ्यो,’ उनी भन्छन्, ‘अहिले दिनमा एक/दुईजना मान्छे मात्र आउँछन् ।’ लाप्राकको मनी डाँडामा कुटानीपिसानीको मिल सञ्चालनमा आएपछि परम्परागत पानीघट्टमा अन्न पिस्न जानेको संख्या घटेको हो ।


एक पाथी अन्न पिस्दा एक माना ज्याला लिने गरेको गुरुङले बताए । ‘पैसा दिए एक पाथीको १० रुपैयाँ लिन्छौं,’ उनले भने । मिलमा पिस्दा पनि उस्तै रकम तिर्नु परेपछि गाउँले उतै आकर्षित छन् ।


कतिपय घरका वृद्धवृद्धा मिलमा पिसेको मन पराउँदैनन् । उनीहरूका लागि बाध्य भएका परिवार भने घट्ट खोज्दै अन्न लिएर खोला धाइरहेका भेटिन्छन् । जाँतो घुमाएजस्तै पानीको बहावले चल्ने घट्ट उत्तरी गोरखाका केही ठाउँमा वर्षायाममा मात्रै चल्छन् । ठाडा खोला वर्षामा बढ्ने हिउँदमा घट्ने भएकाले जाडोयाममा घट्टलाई पानीको गति पर्याप्त हुँदैन ।

प्रकाशित : मंसिर ८, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?