२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अनलाइन सेवा सुस्त

विना थापा

कास्की — सरकारी कामकाजमा ‘अनलाइन’ प्रविधिमा आधारित सेवा लागू भएको मन्त्री र उच्चपदस्थ सरकारी अधिकारी भन्न छुटाउँदैनन् ।

अनलाइन प्रविधिमा आधारित सेवा रहेको भनिने मालपोत कार्यालयमा सेवाग्राहीका लागि झन्झटमा कमी भने आएको छैन ।


सेवाग्राहीले धेरै कोठा चहारेपछि मात्रै काम फत्ते हुन्छ । मालपोत कार्यालय कास्कीका अनुसार सुरुमा कम्प्युटरमा गएर इन्ट्री गरी जग्गा हेरी ल्याप्चे लगाउने र फोटो खिचाउने जस्ता काम गरिन्छ । त्यसपछि मोठमा गएर जग्गा भए/नभएको हेरी राजस्व बुझाउने कोठामा जानुपर्छ ।


त्यसैगरी पास गर्ने कोठामा गएर पुन: सुरुको कम्प्युटर भएको कोठामा जाने, पुर्जा प्रिन्टमा जाने, मोठमा गएर नयाँ पुर्जा बनाउने ठाउँपछि पास गर्ने ठाउँमा जानुपर्छ । सेवाग्राहीका अनुसार अनलाइन प्रविधिमा आधारित भनिएको सेवा लागू हुनुअघि जग्गा पास गर्ने कोठामा गए पुग्थ्यो, अहिले सबै कोठामा सम्बन्धित व्यक्ति आफैं उपस्थित हुनुपर्छ ।


कार्यलयमा अनलाइन सिस्टम लागू भएको वर्षदिन भए पनि सेवाग्राहीले पहिलेको भन्दा धेरै समय पालो कुर्नुपरेको बताउँछन् । ‘पहिलेको तरिका नै सजिलो थियो । अहिलेको सिस्टममा धेरै समय लागेर कुर्नुपर्छ,’ पोखराको चाउथेकी धनकुमारी पुनमगरले भनिन्, ‘जग्गा रोक्काका लागि आए दिनभरि कोठा चहार्दा हैरान भइन्छ । अनलाइन सिस्टममा सजिलो होला भन्ने ठानेको, झन्झट रहेछ ।’ अनलाइन प्रविधि भनिए पनि सेवाग्राहीका लागि प्रक्रियामा सरलीकरण नभएको उनले गुनासो गरिन् ।


‘काममा छिटो र छरितो पहिले नै थियो,’ पस्र्याङका दीपकराज गिरीले भने, ‘कहिले सिस्टमले काम नगर्ने, कहिले कम्प्युटर बिग्रने, कहिले ह्याङ् भएको भन्दै कर्मचारी काम नगरी बसिरहन्छन् ।’


बल्लतल्ल समय मिलाएर आएका सेवाग्राहीले कम्प्युटर प्रविधिलाई सराप्दै काम कहिले छिटो होला भनेर पर्खिनुको विकल्प नभएको उनले बताए । ‘कम्युटर बिग्रने, सर्भरले काम नगरेको भनेर सेवाग्राहीलाई ढिला गरिदिँदा कसले नयाँ व्यवस्थालाई राम्रो मान्छ ?’ उनले भने, ‘एउटा कागज लिएर आएको मान्छेको काम एउटै फाँटबाट सिस्टममा हेरेर सजिलै गरिदिने व्यवस्था मिलाएमात्रै सजिलो हुन्थ्यो ।’ प्रविधिमा आधारित सेवाका लागि कर्मचारी पनि दक्ष हुनुपर्ने उनले बताए ।


प्रविधिमा आधारित सेवाका अवगुणभन्दा फाइदा धेरै रहेको दाबी कर्मचारीको छ । ‘ट्याक्स छल्न नपाउने, बिचौलिया र जग्गाबाट सुरक्षित हुने, लालपुर्जा हराएमा फिंगर प्रिन्टको आधारमा प्रतिलिपि निकाल्न छिटो र सहज हुने लगायतका फाइदा छन्,’ मालपोतका शाखा अधिकृत केशव सुवेदीले भने, ‘ल्याप्चे, सही र फोटोका लागि केही समय लाग्छ । जग्गा पास र नयाँ पुर्जा बनाउनलाई थोरै ढिला हुन्छ ।’


दोहोरो कामका कारण सेवाग्राहीले भने जस्तो छिटो काम नभएको अवस्था रहे पनि छिटै सेवा सहज हुने दाबी उनको छ । ‘लगभग अब पूरै डाटा आइसकेको छ, बिस्तारै सेवा सहज हुन्छ,’ उनले भने ।


कास्की मालपोतमा गत आर्थिक वर्षमा राजीनामा लिखत ८ हजार ८ सय ८ पास भएका छन् भने धितो लिखत बैंक रोक्का ९ हजार ८ सय ४१ वटा आएका थिए । चालु आर्थिक वर्ष हालसम्म राजीनामा लिखत २३ सय ४७ र धितो लिखत बैंक रोक्का ३४ सय ६५ आएका छन् ।

प्रकाशित : मंसिर ९, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?