पर्यटक लोभ्याउँदै पञ्चकोट

बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण गरेर पञ्चकोट धार्मिक गन्तव्य बनाउने बृहत् गुरुयोजनाको काम सुरु
संसारकै अग्लो कलश निर्माण गरिने योजना
प्रकाश बराल

बागलुङ — शैक्षिक भ्रमणका लागि विद्यार्थी लिएर आएका चितवनका हरिप्रसाद सापकोटाले बागलुङ आइपुगेपछि मात्रै पञ्चकोटका बारेमा थाहा पाए ।

पर्यटक लोभ्याउँदै पञ्चकोट

बागलुङ कालिका र पञ्चकोटबारे धेरैले पुग्नैपर्ने ठाउँ भनिदिएपछि उनले पूर्वनिर्धारित तालिकाबाट पञ्चकोटका लागि एक दिनको समय छुट्याए ।


पञ्चकोटको आकर्षणले तृप्त नभएको भन्दै उनले आगामी वर्ष पनि घुम्न आउने भन्दै फर्किए । ‘धेरै पूर्वाधार बनिरहेको रहेछ, अर्को वर्ष अझ आकर्षक गन्तव्य बन्ने देखियो,’ उनले भने, ‘धेरै ठाउँ घुम्दा स्थापित गन्तव्यभन्दा निर्माणाधीन पञ्चकोटले मन लोभ्यायो ।’


दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधारले पञ्चकोट आकर्षक बनेको उनले बताए । बागलुङ बजारदेखि ७ किमि पश्चिममा निर्माणाधीन पञ्चकोट यतिबेला सयौं आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको छ ।


दैनिक ५ सयदेखि हजार जनासम्मले पञ्चकोट घुम्न थालेका छन् । बस, जिप र ट्याक्सी रिजर्भ गरेर आउनेको संख्या दिनदिनै बढेको यातायात व्यवसायी विष्णुप्रसाद अधिकारीले बताए । दुई वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झन्डै १६ करोड रुपैयाँका संरचना निर्माण भइसकेका छन् ।


५ वटा कोट मिलाएर पञ्चकोट भनिने यहाँ संसारकै अग्लो कलश निर्माण गरिने योजना छ । दुई वर्षअघि बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण गरेर पञ्चकोट धार्मिक गन्तव्य बनाउने बृहत् गुरुयोजनामा काम सुरु भएको थियो । योजनाले सबै पूर्वाधार निर्माणसँगै वार्षिक १ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।


आकर्षक धार्मिक मठमन्दिर निर्माण गरेर हिन्दु र बौद्ध धर्मको गन्तव्य बनाउन लागिएको पञ्चकोट निर्माण समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए । मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यको अगुवाइमा यो अभियान सुरु भएको हो ।


‘कलश स्थापनाअघि अन्य पूर्वाधार बनिरहेका छन् । केही समयमा तामाको कलश पनि स्थापना गरिनेछ,’ प्रपन्नाचार्यले भने, ‘करोडौं खर्च लाग्ने भएकाले सहयोगीको खोजी पनि भइरहेको छ ।’ जोगीले सपना मात्र देख्ने र दाताहरूको सहयोगले काम पूरा गरिने उनले बताए । अग्लो कलश राखिने स्थान धौलागिरिका अधिकांश स्थानबाट समेत देख्न सकिन्छ ।


विस्तृत गुरुयोजनाअनुसार यहाँका सबै पूर्वाधार निर्माणका लागि झन्डै २ अर्ब खर्च हुने अनुमान छ । हालसम्म गरुड शिला, गण्डकी माताको मन्दिर, सिसमहल, अन्य देवीदेवताका मन्दिर र हनुमानको ठूलो मूर्ति स्थापना भइसकेका छन् । ५ हजार ५ सय ५५ केजीको घण्ट राख्ने तयारी छ । त्यस्तै सत्तल र धर्मशालाका भवन निर्माणाधीन छन् ।


सदरमुकामदेखि यहाँसम्म पुग्ने अधिकांश सडक कालोपत्रे भइसकेको छ । पूर्वाधार निर्माण सम्पन्न भएमा मुक्तिनाथ जाने अधिकांश पर्यटक बागलुङमा कम्तीमा एक दिन बसाल्न सकिने होटल संघका अध्यक्ष नीलेश राजभण्डारीले बताए ।


अहिले पनि दैनिक सयौंले बागलुङ कालिका र पञ्चकोट घुमेर जाने गरेका छन् । ‘दैनिक कति पर्यटक आउँछन् भन्ने तथ्यांक भने राख्न सकिएको छैन,’ उनले भने, ‘अब त्यस्तो तथ्यांक राख्ने व्यवस्था पनि सुरु गर्न खोजेका छौं ।’ निर्माणाधीन कालीगण्डकी कोरिडोर बनेर सवारी आउजाउ सजिलो भएपछि उल्लेख्य संख्यामा भारतीय पर्यटक भित्रिने व्यवसायीको भनाइ छ ।


पञ्चकोटमा ३ सय ६५ तुलसीका मठ र १ सय ८ वरपीपलका चौतारी निर्माण गर्ने योजना छ । रैथाने जातका गाई संरक्षण गर्दै गौशाला निर्माण गरिने समितिका सदस्य नगेन्द्रराज शर्माले बताए ।


एक/एक सय वटाका दरले गाई पाल्ने कम्तीमा तीनवटा गौशाला बनाउने योजना छ । एउटा निर्माण भइसकेको छ । माटो परीक्षण भइसकेकाले केही समयमै कलश निर्माणको काम सुरु गर्ने तयारी छ ।


यहाँ सदरमुकामदेखि २ घण्टाको पैदल यात्राबाट पनि पुग्न सकिने गरी सिंढी मार्ग पनि बनाइएको छ । चार वर्षदेखि नियमित महायज्ञ समेत भइरहेको पञ्चकोटमा धार्मिक अनुष्ठानबाट संकलित रकमबाट प्रारम्भिक पूर्वाधार बनिरहेका हुन् ।


सदरमुकामदेखि पञ्चकोटका पाँचवटै कोट जोड्ने केबुलकार निर्माणका लागि बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघले कार्यायोजना बनाएका छन् । ‘केबुलकार निर्माण गरेर पर्यटक लैजान सकियो भने जिल्लाकै पहिचान बढ्नेछ,’ संघका अध्यक्ष जयराम भारीले भने, ‘योजना पूरा गर्दा पर्यटन व्यवसायबाट समृद्धिको यात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन सकिनेछ ।’ पञ्चकोटलाई सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गर्न व्यवसायी र जनप्रतिनिधिको माग छ ।

प्रकाशित : मंसिर १०, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?