२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मालपोतमा सास्ती उस्तै

स्याङ्जा — दुई वर्षअघि खुट्टा भाँचिएका वालिङ–११ बग्रेबजारका ४५ वर्षीय ख्यामबहादुर अधिकारीलाई हिँडडुल गर्न असजिलो छ । उपचार गर्न निकै खर्च गरेका उनलाई ऋण तिर्न गाह्रो परेपछि खेत बेच्नुको विकल्प भएन ।

मालपोतमा सास्ती उस्तै

नामसारी गराउन उनी स्याङ्जा जिल्ला मालपोत कार्यालय धाउन थालेको मंगलबार तीन दिन भयो । कहिले कम्प्युटरले काम गरेन, सर्भर चलेन त कहिले नेट चलेन भनेर कर्मचारीले असमर्थता जनाइरहँदा आधा घण्टामै हुने कामका लागि उनले पटक–पटक धाउनु परेको गुनासो गरे । ‘अहिले सबै काम अनलाइनमा हुन्छ भन्थे,’ उनले भने, ‘कोठैकोठा चहार्दा दिन बित्छ । बेलुकासम्म लाइनमा बसें तर पालो आएन । अझै कति दिन धाउनुपर्ने हो थाहा छैन ।’ मालपोत कार्यालयबाट पहिले पाइने सेवाभन्दा अहिले झन् सास्ती भोग्नुपरेको उनले गुनासो गरे ।


तथ्यांकलाई डिजिटल फम्र्याटमा सुरक्षित राख्दै सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने उद्देश्यले गत भदौदेखि मालपोत कार्यालयमा अनलाइन सेवा सुरु भएको हो । सरकारको लक्ष्य अनुरूप नै देशभरका मालपोतमा अनलाइन सेवा विस्तार गर्ने क्रममा स्याङ्जामा पनि गरिएको थियो । अनलाइनमा आधारित सेवा भनिए पनि झन् बढी झन्झटिलो भएको सेवाग्राहीले बताएका छन् । ‘कर्मचारीले काम बन्दैन पनि प्रष्ट भन्दैनन्,’ अधिकारीले भने, ‘कम्प्युटरले काम गरेन एकछिन बस्नुस् है, हजुरको काम बन्छ भनेर भनिरहन्छन् । तर, काम कहिले गर्ने हो थाहै छैन ।’


कम्प्युटर र सर्भरका कुरा ग्रामीण सेवाग्राहीले बुझ्ने भाषा नभएको उनले बताए ।

जग्गा रोक्का र फुकुवाका लागि बिहानदेखि लाम लागेका धेरै सेवाग्राही पहिलेभन्दा कामको गति झन्झटिलो भएको बताउँछन् । जग्गा कारोबारका लागि पोखराबाट आएका मेघबहादुर थापाले प्रविधिमा आधारित सेवाका लागि सञ्चार उपकरण उपयुक्त व्यवस्थापन गरेरमात्रै लागू हुनुपर्नेमा हतार भएको जस्तो देखिएको बताए ।


‘पहिले फोटो खिचेर काम बन्थ्यो । बूढाबूढीलाई एक दिन ल्याउँदा काम नभएमा अर्को दिन आफूमात्र आए पनि हुन्थ्यो,’ उनले भने, ‘अहिले सबैतिर अनलाइनमा फोटो खिच्ने भनेर बूढा बाउलाई डोर्‍याउँदै हिँडेको छु ।’ सानो कामका लागि तीन/चार दिन धाउनुपरेको उनले बताए । ‘प्रक्रिया झन्झटिलो भयो, एउटा कामका लागि धेरै कोठामा जानुपर्छ,’ उनले भने ।


मालपोत कार्यालयका अनुसार सुरुमा कम्प्युटरमा गएर इन्ट्री गरी जग्गा हेर्ने, ल्याप्चे लगाउने र फोटो खिचाउने जस्ता काम गरिन्छ । त्यसपछि जग्गा भए/नभएको हेरेर राजस्व बुझाउनुपर्छ । पुर्जा प्रिन्टमा जाने, नयाँ पुर्जा बनाएर र पास गर्ने गरिन्छ । यो सबै कामका लागि फरक–फरक कोठामा व्यवस्था गरिएको छ । सबै कोठामा अहिले सम्बन्धित जग्गधनी आफैं उपस्थित हुनुपर्छ ।

धितो राखेको जग्गा फिर्ता गराउन १० दिन धाउनुपरेको गुनासो एक सेवाग्राहीले गरे । कहिले कम्प्युटर नचल्ने, कहिले सफ्टवेयरले काम नगर्ने त कहिले नेट नचल्नेजस्ता समस्या आफूहरूको हातको नभएको मालपोतका कर्मचारी बताउँछन् ।


त्यसो त अधिकांश कर्मचारी कम्प्युटर प्रविधिमा सिकारु छन् । कम्प्युटर सिक्दै काम गर्नुपरेको छ । जागरिमा लामो समय बिताएका कर्मचारीले बल्ल कम्प्युटरमा अनलाइनमार्फत काम गर्नुपर्दा समस्या हुने गरेको गुनासो सेवाग्राहीको छ । प्रविधिसँग खेल्न नसक्ने कर्मचारीका कारण काम ढिला हुने गरेको सेवाग्राही मेघबहादुर बताउँछन् । ‘जग्गा रोक्का राख्न र रोक्का राखेको जग्गा फुकुवा गर्न पहिले १५ मिनेटमा सकिन्थ्यो,’ उनले भने, ‘अहिले नेट के–के भयो भन्छन्, भगवान् भरोसाको काम छ ।’


मालपोत अधिकृत दिनेश अधिकारी अनलाइन प्रणाली छिटोछरितो प्रविधि भए पनि यसको व्यवस्थापन अझै स्तरीयरूपमा हुन बाँकी रहेको बताउँछन् । ‘हातले गर्ने काम धेरै छिटो हुन्छ ।


रजिस्टरमा साइन गर्‍यो, रोक्का– फुकुवा खुलायो, काम सकियो,’ उनले भने, ‘अहिले कम्प्युटर र सर्भरमा गरिने कामका लागि कहिलेकाहीं इन्टरनेटको स्लो स्पिडका कारण समस्या हुन्छ ।’ सर्भर र इन्टरनेटमा भर पर्ने गरेकाले सेवाग्राहीलाई कतिबेला काम हुन्छ भनेर समय किटान गर्न गाह्रो रहेको उनले बताए ।


‘अहिले सजिलो सेवा दिने भनिएको हो तर गाह्रो भएको छ । सबै काम गर्‍यो, सेभ नै हुँदैन । एउटा नाम खोज्दा अर्को आइदिन्छ,’ उनले भने, ‘सेवा छिटो छरितो पार्न प्रयास भइरहेको छ ।’ इन्टरनेट सेवा प्रदायकसँग नेटको स्पिडका बारेमा कुरा भइरहेको उनले बताए ।


‘सामान्य मिस्टेक भए सफ्टवेयरले काम गर्दैन,’ उनले भने, ‘काम गर्दै जाँदा सिस्टममा आधारित सेवा दिने बानी पर्न थालेको छ । यो छिटो हुन केही समय लाग्छ ।’ अनलाइन सेवाले कर्मचारी बढी व्यस्त भएको र प्रविधिले कामको चाप बढाएको उनले बताए ।

प्रकाशित : मंसिर १२, २०७५ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?