कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लघुजलविद्युत्मा गाउँलेको लगानी

प्रकाश बराल

बागलुङ — सदरमुकाम बागलुङबाट १ सय ४० किमि पश्चिमको निसीका टेकमान बुढाले जीवनका ऊर्जाशील युवावस्था समय घट्टमा पिसेको मकै र कोदोको भरमा बिताए । मकै पिस्नकै लागि दिनभर लगाएर पैदल हिँड्नुपरेका दिनको सास्ती अझै सम्झन्छन् । 

लघुजलविद्युत्मा गाउँलेको लगानी

बत्ती थिएन । गाउँको विद्यालयबाट स्थानीयले बालबालिका बजारका डेरामा राखेर पढाउँथे । अक्षर चिनेपछि बजारमा रमाएका युवापुस्ताले गाउँ फिर्न मन गर्दैनथे । बिजुली ल्याए धेरै समस्या हट्ने निष्कर्षमा पुगेका गाउँले लगानी र श्रमदान जुटाएर लघु जलविद्युत् निर्माणमा लागिपर्दै गए ।


निसीखोला गाउँपालिकाका ७ वटा वडामा यतिबेला दर्जन हाराहारी लघु जलविद्युत् छन् । बिजुलीको सुविधा भएपछि गाउँमा कुटानीपिसानीका मिल खोलिए । सबैका घरमा बत्ती बल्न थालेयता जीवनस्तर पहिलेभन्दा धेरै फेरिएको छ । आफ्नो श्रमको मूल्यबाहेक घर–घरले ४० हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गरेर जलविद्युत् आयोजना निर्माण गरेपछि बिजुली बाल्न सम्भव भएको उपभोक्ताले बताए ।


बिजुली आएपछि कुखुरापालन, ग्रिल र फर्निचरका घरेलु उद्योगहरूको सञ्चालन सुरु भयो । यी उद्योगले स्थानीयस्तरमा धेरैले रोजगारी पाउने बाटो खोलेको बुढाले बताए । ‘थुप्रै यस्ता उद्यम रहेछन्, जसका लागि बिजुली भए मात्रै सजिलो हुने रहेछ,’ उनले भने, ‘छोराछोरीले बिजुली बालेर घरैमा पढ्न पाउने भएपछि बजार पठाउने बाध्यता पनि हट्यो ।’ यो अवस्था ल्याउनका लागि स्थानीय खोलाको पानीलाई सदुपयोग गरिएको उनले बताए ।


परम्परागत कुलोलाई पक्की बनाएर लघु जलविद्युत् निर्माण गरेपछि बिजुली उत्पादन भएको छ । राष्ट्रिय प्रसारण लाइन वर्षाैंसम्म अझै आउन नसक्ने भएपछि यहाँका बासिन्दाले दुई वर्षसम्म लघु जलविद्युत्मा लगानीसँगै श्रमदान गरेका हुन् ।


आफै लगानी र सञ्चालन गरेका लघुजलविद्युत्मा गाउँलेलाई बेलाबखत हुने समस्या भने व्यवस्थापकीय अनुभव नभएकाले परिरहन्छ । उत्पादन होउन्जेल उपयोग गर्न सजिलै हुन्छ । बेलाबखत मर्मत गर्नुपर्दा भने बारम्बारको लगानी परिरहन्छ ।


निसीखोलामा ७ वटा लघुजलविद्युत् छन् भने झिंवाखोला, पात्लेखोला र जुग्जाखोला लगायत गरी करिब हजार किलोवाटभन्दा धेरै क्षमताको विद्युत् उत्पादन भएको छ । लघुजलविद्युता निर्माणका लागि गाउँलेलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदान दिएका कारण पनि छिटै निर्माण सम्भव भएको हो ।


अनुदान रकमलाई प्राविधिक र उपकरण खरिदमा लगाए भने श्रम गर्नुपर्ने जति काममा गाउँले आफैंले गरेका थिए । लघुजलविद्युत्को फाइदा विद्यालयलाई पनि भएको छ । यहाँका माध्यमिक तहका अधिकांश विद्यालयले यतिबेला कम्प्युटर राखेर सूचनाप्रविधि सहितका कक्षा चलाएका छन् ।


विद्यालयका कागजातको अभिलेखीकरणसँगै प्रशासनिक काम सबै कम्प्युटरबाट गर्न सम्भव भएको रत्नराज्य माविका प्रधानाध्यापक भक्तबहादुर केसीले बताए । ‘लगानी बढाउन सकियो भने सबै बालबालिकालाई कम्तीमा एक/एक कक्षा कम्प्युटर सिकाउने योजना छ,’ उनले भने, ‘अभिभावकको सहयोगमा छुट्टै शिक्षकको व्यवस्थापनको खोजीमा पनि छौं ।’ लघु जलविद्युत्कै कारणले यहाँका मानिसले रेडियो, टेलिभिजन र मोबाइल प्रयोग गर्न पनि सजिलो भएको छ । ‘हातमा मोबाइल छ, चार्ज गर्न नपाएर बुर्तिबाङ झरेको अझै सम्झन्छु,’ उनले भने ।


गाउँपालिकाको सहयोगमा किसानले आलु भण्डारण केन्द्र निर्माणको योजना बनाएका छन् । यहाँका अधिकांश किसान निसेल ढोरमा आलु खेती गर्छन् । यस क्षेत्रको आलु स्वादिलो मानिने भएकाले बजारमा बिक्री गर्न गाह्रो पनि छैन । तर, धेरैतिर राम्रो फलेका बेला अपेक्षित मूल्य नपाउँदा भण्डारण केन्द्रको आवश्यकता बोध भएको हो ।


त्यसका लागि पनि विद्युतकै आवश्यकता पर्छ । ‘किसानले उत्पादन गर्ने आलु बुटवलसम्म बिक्रीका लागि पठाएर आम्दानी गरेका छन् तर सीधै बिक्री नभएका बेला भण्डारण गर्ने व्यवस्थाका लागि पनि विद्युत् आवश्यक छ,’ स्थानीय मानसिंह घर्तीले भने, ‘धेरै नभए पनि एकाध भण्डारण बनाउन सकियो भने कृषि उपजबाट किसानले पाउने फाइदा बढ्थ्यो ।’


लघुजलविद्युत्ले किसानको जीवनशैलीमा ल्याएको परिवर्तनलाई निरन्तरताका लागि पनि विद्युतको अधिकतम उपयोग जरुरी रहेको उनले बताए । ‘कुलो परम्परागत छ, बेलाबेलाको बाढीले क्षति पुग्दा मर्मतमा कठिनाइ हुन्छ,’ उनले भने, ‘नत्र हामीले लघुजलविद्युत्बाट अझै धेरै फाइदा लिन सक्छौं ।’


गएको वर्षायाममा पनि यहाँका दुईवटा विद्युत्गृह र कुलोमा क्षति पुगेको थियो । कुलो मर्मत भएपछि विद्युत्गृहको उपकरण खरिद गर्न नसक्दा स्थानीयले लामो समयसम्म बिजुली उपभोग गर्न नपाएको उनले बताए । सहयोगी संस्था भेटेनन् ।


गाउँलेले सधैं चन्दा उठाएर मर्मत गर्नु परेको गुनासो उनले गरे । राष्ट्रिय प्रसारणको विद्युत लैजाने दायित्व भएको विद्युत प्राधिकरणमा समेत उनीहरूले गुनासो पोखेका थिए । बागलुङ वितरण केन्द्रले केही वर्षमा प्रसारण निसीम्म पुर्‍याउने लक्ष्यले काम गरिरहेको छ । लघुजलविद्युत् मर्मतका लागि भने प्राधिकरणले सहयोग गर्न नसक्ने वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेले बताए ।

प्रकाशित : मंसिर १४, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?