कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ओछ्यानमै नागरिकता

उमेरले हिँडडुल गर्न नसक्ने ९५ वर्षीया सूर्यप्रसाद बस्तीलाई प्रमुख जिल्ला अधिकारीले नागरिकता घरमै दिए

लमजुङ — बेंसीसहर नगरपालिका–१ पौडेलगाउँका ९५ वर्ष पुग्नै आँटेका सूर्यप्रसाद बस्तीले नागरिता प्रमाण पत्र पाएका छन् । उनले ओछ्यानमै आफू नेपाली नागरिक भएको प्रमाणपत्र पाएका हुन् ।

ओछ्यानमै नागरिकता

उनलाई प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले घरमै पुगेर नागरिकता दिए । उनको नागरिकतामा जन्ममिति १९८१ जेठ २० छ । नागरिकता दिइनुअघि उनलाई खादा लगाई सम्मना गरियो । हालसम्म बस्तीलाई नागरिकताको प्रमाणपत्र चाहिएको थिएन ।


अस्थायी निस्सा पेस गरेरै सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । २०३६ मा जारी अस्थायी निस्साको प्रमाणपत्र उनीसँग थियो । चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बुझ्न नागरिकता अनिवार्य गरिएपछि भने उनले बनाउनैपर्ने भएको थियो ।


वृद्धभत्ताका लागि नागरिकता आवश्यक परेको कान्छो छोरा ६५ वर्षीय नारायणप्रसाद वस्तीले बताए । ‘बैंकबाट भत्ता बुझ्न परेपछि खाता खोल्न नागरिकता चाहियो । त्यसअघि बालाई नागरिकता चाहिएको थिएन,’ उनले भने, ‘घुम्ती टोलीले दिएको अस्थायी निस्साले अहिले काम गरेन ।’


अस्थायी निस्सालाई आधार मानेर बस्तीका दुई छोरा र तीन छोरीले नागरिकता बनाएका थिए । डुम्रेको भन्सारबाट १९९० मा लमजुङ बसाइँ आएका बस्ती परिवार पौडेल गाउँमा स्थायी रूपमा बस्छन् ।


सूर्यप्रसाद सुन्न र देख्न सक्छन् । तर, हिँडडुल गर्न सक्दैनन् । ‘आफ्नै नागरिकता लिन जान सकिन । सीडीओ सापले घरमै ल्याइदिनुभयो । खुसी लाग्यो मलाई,’ कामेको स्वरमा उनले भने । नागरिकताको अभावमा चालु आर्थिक वर्षको उनले पाउने भत्ता रोकिएको छ । ‘गाउँलेले नागरिकता बनाउनुपर्छ त भनेकै हुन्,’ उनले भने, ‘अहिले ओछ्यानमै नागरिकता पाउन लेख्या रैछ ।’


बेंसीसहरबाट करबि ७ किमि पर चिप्लेटी पुगेपछि ५ मिनेटको हिँडाइमा वस्तीको घर आइपुग्छ । ‘नागरिकता बनाउन उहाँ आउन सक्नुभएन । त्यसैले उहाँलाई खोजीखोजी हामी आफैं आयौं,’ प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने ।


वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका नागरिकलाई दु:ख दिन नहुने उनले तर्क गरे । ‘नागरिकता र सिफारिस पाएर राज्यबाट पाउनुपर्ने सुविधा पाइन्छ भने नेपाली नागरिकलाई प्रमाणपत्र दिन किन गाह्रो ?’ उनले भने ।

प्रकाशित : मंसिर १४, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?