कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसो बढ्याे, आवागमन घट्यो

घनश्याम खड्का

म्याग्दी — दिन दिनै चिसो बढेसँगै मुस्ताङ भ्रमणमा आउने पर्यटकको लर्को घटेको छ । यतिबेला जहाँ मुस्ताङी जाडो छल्न धमाधम बेंसी झरिरहेका छन्, त्यहीँ दसैंतिहारताका जस्तो पर्यटकको आवागमन बेनी–जोमसोम सडकमा छैन । 

गाडीहरू फाट्टफुट्ट मात्रै आउजाउ गर्न थालेका छन् । असोज–कात्तिकका दुई महिना मुस्ताङ घुमघाममा विदेशीभन्दा आन्तरिक पर्यटककै लर्को थामिनसक्नु थियो ।


पर्यटकको चापको फाइदा मुस्ताङ मात्र नभई यो रुटका बेनी, बागलुङ र पर्वतका होटल व्यवसायीले पनि पाए । निजी सवारी लिएर आउने पर्यटकले पनि मुस्ताङको बाटो हिम्मत नगर्दा बेनीबाट अर्को गाडी रिजर्भ लिएर जान्थे ।


त्यसको फाइदा यातायात व्यवसायीलाई राम्रैसँग भएको थियो । केही समय बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध हुँदा दसैंको बजारमा स्याउ पठाउन हतारिएका मुस्ताङी किसान पनि आत्तिएका थिए । अहिले स्याउ निख्रिसकेको छ ।


जोमसोम जस्ता पर्यटकीय सुविधा भएका होटल रहेको ठाउँ बाहेक मुस्ताङका अधिकांश बस्ती रित्ता छन् । कतिपय घरमा ताला छन्, एकाधमा कुरुवा बसेका छन् । हिँड्न सक्नेहरू जाडो छल्न तल झरिसकेका छन् । बिद्यालयहरू जाडोभरि पोखरामा कक्षा चलाउनेगरि विद्यार्थी लिएर झरिसकेका छन् ।


‘बेनी–जोमसोम रुटमा एकाध दिनबाहेक बाहै्र महिना गाडी चल्छ तर, जाडोमा पेसेन्जर हुँदैनन्,’ म्याग्दी कोरला यातायात प्रालिका अध्यक्ष सुरत केसीले भने, ‘अब चाप हुने फागुनदेखि हो ।’ यात्रुको संख्या घटेसँगै सवारी चाप पनि कम भएको उनले बताए ।


सडकमा सवारी चाप घटेसँगै बेनी–घाँसा खण्डमा दैनिक ८ घण्टा आवागमन बन्द हुने भएको छ । बेनी–जोमसोम सडक स्तरोन्नतिको काम भइरहेकाले दैनिक दुई समय बिहान साढे ७ देखि साढे ११ सम्म र दिउँसो साढे २ देखि साँझ साढे ६ बजेसम्म सडक बन्द हुने सूचना प्रहरीले जारी गरिसकेको छ ।


‘सडक निर्माण र यातायात सञ्चालन व्यवस्थित गर्न रुटिन बनाएर काम भइरहेको छ,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘सडकमा चाप नहुँदा काम गर्न सजिलो हुनुपर्ने हो । तर, चिसो बढेको छ ।’


७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई २ अर्ब ४९ करोडमा ठेक्का लगाइएको छ । आगामी २०७६ पुसमा काम सक्नेगरि ठेक्का सम्झौता भएपनि कामको गति भने सुस्त छ ।


कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार २० किमि खण्डको प्रत्येक प्याकेजमध्ये पहिलो बेनी–तातोपानीसम्म शर्मा–युनाइटेड जेभी, दोस्रो र तेस्रो प्याकेजमा शर्मा–गजुरमुखी जेभीले काम गरिरहेका छन् ।


हिमालपारिको मुस्ताङ क्षेत्रमा पर्ने तेस्रो र चौथो प्याकेजमा भने अधिक चिसोका कारण फागुनसम्मका लागि काम स्थगित गरिएको छ । त्यसैगरी आयोजनाले जोमसोम–कोरला १ सय १० किमी लामो सडकलाई ७ प्याकेज बनाई काम भइरहेको जनाएको छ । आगामी कात्तिकमा सम्पन्न गर्नेगरी २ अर्ब ५० करोडको लागतमा ग्राभेल स्तरमा सडक निर्माण भइरहेको छ ।

प्रकाशित : मंसिर १६, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?