कालीगण्डकी परियोजनाको डीपीआर

पर्वत, बागलुङ र गुल्मीका ६ स्थानीय तह लाभान्वित हुनेगरी परियोजना सञ्चालन हुँदै 
कान्तिपुर संवाददाता

पर्वत — पर्वत, बागलुङ र गुल्मीका ६ स्थानीय तह प्रत्यक्ष लाभान्वित हुनेगरी सञ्चालन हुने कालीगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजना अघि बढ्ने भएको छ । परियोजना अघि बढाउन केन्द्र सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चासो देखाएको हो ।

प्रस्तावित कालीगण्डकी बहुद्देश्यीय परियोजनाको प्रभावित क्षेत्रमा पर्ने मोदीवेणीधाम ।तस्बिर : अगन्धर तिवारी/कान्तिपुर

पर्वतको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माका अनुसार मन्त्रालयको एक विशेषज्ञ टोलीले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम सुरु गरिसकेको छ ।

Yamaha

अघिल्लो वर्ष पर्वतको कुश्मा र फलेवास नगरपालिका तथा बिहादी गाउँपालिका, बागलुङको बागलुङ र जैमिनी नगरपालिका तथा गुल्मीको कालीगण्डकी गाउँपालिकाले कालीगण्डकीमा जलाशययुक्त परियोजना निर्माण गर्ने विषयमा सहमति भएको थियो । ‘तीनै जिल्लाका स्थानीय तहले एक खालको सहमति गरेर मन्त्रालयमा डीपीआरका लागि आग्रह गरेका थियौं,’ शर्माले भने, ‘अहिले समयमै काम सुरु भएको छ । अब आशा जागेको छ । परियोजना देशकै गौरवको हुनेछ ।’

कालीगण्डकी जलाशययुक्त परियोजनामा १ हजार मेघावाट विद्युत्, सिंचाइ र जल यातायातसमेत सञ्चालन गर्न सकिने गरी कालीगण्डकी बहुद्देश्यीय परियोजनाको अवधारणा ल्याइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पर्वत, बागलुङ र गुल्मी जिल्लामा निर्माण हुने परियोजनाको विस्तृत सर्वेक्षणका लागि पहिलो चरणको काम सुरु गरेको हो ।

केन्द्र सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेपछि अध्ययनको काम अघि बढेको हो ।

जानकारहरूका अनुसार अध्ययनका लागि पहिलो चरणमा ५० लाख रुपैयाँ बजेट छ । सर्वेक्षणका लागि विद्युत् विकास विभागको एउटा टोलीले गत सातादेखि भौगोलिक अवस्था, विद्युत्गृह, बाँध निर्माण गर्न सकिने सम्भाव्य स्थलहरूको स्थलगत निरीक्षण र अवलोकन गरेको छ ।

इन्जिनियर रवि नेपालसहितको टोली निर्माणस्थल र भौगर्भिक अवस्थाका बारेमा जानकारी लिएर प्रतिवेदन तयारीमा जुटेको छ । टोलीमा संलग्न फलेवासका नगरप्रमुख शर्माका अनुसार परियोजनाको ड्याम फलेवास ११ पाङराङको श्रीकाङ वा बिहादी–२ बर्राचौरको घुमाउने नजिकै रहनसक्ने टोलीको निष्कर्ष छ । ‘टोलीले अध्ययन गरेर फर्किएको छ,’ उनले भने, ‘सबै डिटेल प्रतिवेदन आइसकेपछि ड्याम कहाँ रहने भन्ने टुंगो लाग्छ ।’

उनले यो परियोजना सफल भए गण्डकी प्रदेशको समृद्धिको ढोका खुल्ने दाबी गरे । बिहादी–१ को खबरा भीरदेखि बाँध निर्माण गर्न सकिने बिहादी–६ सेतीवेणीसम्मको अध्ययन गरेको टोलीका सदस्य तथा इन्जिनियर रवि नेपालले जानकारी दिए । ‘अहिले भौगोलिक र अन्य अवस्थाका बारेमा अध्ययन गरिरहेका छौं । केही समयमा परियोजनाको डिटेल जानकारी आउँछ,’ उनले भने । परियोजनाको विस्तृत अध्ययन गर्न केही समय लाग्ने उनले बताए ।

गण्डकी र प्रदेश ५ को ठूलो जलविद्युत् परियोजनाको रूपमा बन्न सक्ने कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्दै निर्माण अघि बढाउन राष्ट्रिय र स्थानीयस्तरमा तीव्र लबिङ भइरहेको छ । परियोजना अघि बढेमा पर्वत, बागलुङ र गुल्मीको ठूलो क्षेत्रफलको भूभागमा पर्यटन, सिँचाइ र यातयातका क्षेत्रमा फड्को मार्न सकिने सरोकारवालाको दाबी छ । ‘यो परियोजना हाम्रो मात्रै होइन,’ कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘देशले नै आर्थिक क्षेत्रमा फड्को मार्नेछ ।’

विद्युत् प्राधिकरणले २४ वर्षअघि गरेको एक अध्ययनअनुसार कालीगण्डकीको पर्वत खण्डमा जलाशययुक्त परियोजना बनाउन सके हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । त्योबाहेक कालीगण्डकी तटीय क्षेत्रका हजारांै हेक्टर फाँटमा सिँचाइ सहज हुन्छ ।

जलाशयमा कालीगण्डकीको झन्डै ६० किलोमिटर क्षेत्रमा जलयातायात सञ्चालन गर्न सकिने अध्ययनबाट देखिएको थियो । कालीगण्डकीमा पर्वतको बिहादी गाउँपालिका– १ बाच्छा र बिहादी तथा बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको खोंचमा बहाव थुनेर १ सय ४५ मिटर अग्लो बाँध बनाउन सकिने अध्ययन टोलीको भनाइ छ ।

उक्त बाँधबाट ८ किमि सुरुङमार्गको बाटो हुँदै पानी बिहादी–६ गोलाङमा विद्युत् गृहमा पुग्ने बनाउन सकिन्छ । कालीगण्डकी १ सय २० देखि २ सय मिटरसम्म गहिरो खोंच बनाएर बगेका कारण त्यो बाँधबाट बन्ने जलाशय ६० किमि माथि मालढुंगासम्म आइपुग्ने अनुमान छ । यो परियोजना सफल भए तटीय क्षेत्रका करिब एक हजार घरधुरी विस्थापित हुन्छन् ।

गत वर्ष फलेवाससहित ३ जिल्लाका ६ स्थानीय तहले यो परियोजना अघि बढाउन पहल गर्ने निर्णयसहित लगानीबोर्ड र ऊर्जा मन्त्रालयमा एकै व्यहोराको प्रस्ताव बुझाएका थिए ।

प्रकाशित : मंसिर २०, २०७५ ११:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हात्ती त्रासले रातभर जाग्राम

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाही, लालबन्दी नगरपालिका–११, हिरापुरकी माया गोले ४ दिनयता जंगली हात्तीको त्रासले राती सुत्न पाएकी छैनन् । उनी मात्र हैन, उनको परिवारमा बालकदेखि वृद्धसम्म रातभर जाग्राम बस्छन् । 

सर्लाहीको लालबन्दी नगरपालिका– ११, हीरापुरमा हात्तीले भत्काएको स्थानीयको घर । तस्बिर : ओमप्रकाश/कान्तिपुर

केही दिनयता राती गाउँमा देखिने हात्तीले घर भत्काउनुका साथै अन्नपात खाने र ज्यान पनि लिने हो कि भन्ने त्रासले उनी भयभित भएकी हुन् । चार दिनदेखि त्यस क्षेत्रमा देखा परेको जंगली हात्तीले करिब एक दर्जन घरभत्काइसकेको छ ।

गाउँको नजिकको जंगलमा आएको जंगली हात्ती आतंकले हीरापुरबासी त्रासमा छन् । दिनभरी नजिकैको जंगलमा बस्ने र रात परेपछि बस्ती छिर्ने हात्तीका कारण स्थानीयवासी निकै त्रसित बनेका हुन् । गाउँमा आइतबार रातीदेखि हात्तीको समूहले घरमा क्षति र राखिएको अन्नपातसमेत खानेगरेको छ ।

गोलेले साँझ पर्नेबित्तिकै हात्तीको डरले पुरै गाउँ नै त्रासमा बस्ने गरेको बताइन् । ‘चार रात भइसक्यो राती सुत्न पाएका छैनाैं, आजको रात पनि यस्तै बित्ने होला,’ उनले भनिन् ‘रातीको खाना साँझ पर्नुभन्दा अघि नै खाइहाल्छौं, दिउँसो एकछिन सुत्छौं के गर्ने रातीको ड्युउटीगर्नु परिहाल्यो ।’

सो गाउँको सम्पूर्णको दैनिकी गोले परिवारको जस्तै छ । उनीहरू हात्तीको डरले रातभर जाग्राम बस्ने गरेका छन् । हात्तीको आक्रमणबाट बच्न गाउँले समूह–समूहमा जम्मा भएर बस्ने गरेका छन् । घाँस–दाउरा गर्न नजिकैको जंगलमा जान समेत नसकेको स्थानीयले बताए ।

‘हामी जंगली हात्तीको डरले त्रसित छौं, हात्तीबाट बच्न राती हामी समूह बनाएर बस्ने गर्छौं,’ स्थानीय बुद्धिमान गोलेले भने, ‘हात्तीको डरले नजिकको जंगलबाट घाँसदाउरासमेत ल्याउन सकिएको छैन ।’ हात्ती आउनेबित्तिकै गाउँले मिलेर भाँडा ठटाउने, आगो बाल्ने, पटका पडकाउनेजस्ता काम गर्दै आएका छन् ।
चार दिनदेखि त्यस क्षेत्रमा देखा परेको जङ्गली हात्तीले घर भत्काउँदा पीडितको बिजोग भएको छ ।

हात्तीले घर भत्काएकाको राती ओत लाग्ने ठाउँ पनि नरहेको वडाध्यक्ष दिपक लामाले बताए । हात्तीका कारण स्थानीयमा निकै त्रास बढेकाले हात्ती धपाइदिन वडाध्यक्ष लामाको आग्रह छ । ‘हात्तीका कारण स्थानीय त्रासमा छन्, त्यसकारण हात्ती धपाइदिनुपर्‍यो,’ लामाले भने, ‘हात्तीले घर भत्काएकाको बिजोग छ, उनीहरूलाई यो चिसो मौसममा ओत लाग्ने ठाउँ छैन ।’

प्रकाशित : मंसिर २०, २०७५ ११:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT