कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्यटक तान्दै गोरखा संग्रहालय

गोरखा — गोरखा संग्रहालय परिसरमा आइपुगेर खिचेका फोटा इमेल वा सामाजिक सञ्जालमा पोष्ट गर्न अब आगन्तुकले आफ्नो शुल्कले मोबाइल डाटा चलाउनु पर्दैन । यहाँ सोमबारदेखि नि:शुल्क वाईफाई सेवा सुरु भएको छ । 

पर्यटक तान्दै गोरखा संग्रहालय

गोरखा नगरपालिकाको नगर परिषद्बाट स्वीकृत योजना तथा बजेटले यहाँका सात ठाउँमा फ्रि वाईफाई सेवा सुरु हुन लागेको हो । योजनाअन्तर्गत नगरपालिकाले पर्यटकको चाप भइरहने संग्राहालयबाट सेवा सुरु गरेको छ ।


आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी पश्चिमकाली, गोरखा दरबार, चिल्ड्रेन पार्क, भीमसेन पार्क, पुरानो बसपार्क र लोकतान्त्रिक चोकमा पुसभित्रै वाईफाई जडान गरिने नगरपालिकाका सूचनाप्रविधि अधिकृत सुयोगरमण खनालले बताए । ‘नगर परिषद्बाट चालु वर्ष ७ लाख रुपैयाँको बजेट स्वीकृत भएको छ,’ उनले भने, ‘प्रविधिमैत्री नगर बनाउन वाईफाई जडान गरेका हौं ।’


इन्टरनेट प्रदायक संस्था सुविसुसँगको सहकार्यमा ५० एमबीपीएस क्षमताको इन्टरनेट उपलब्ध गराउने उनले बताए । वाईफाई जडान भएसँगै पर्यटकलाई सजिलो हुने योजनाको अपेक्षा हो । ‘वाईफाई कनेक्ट गर्नुभन्दा पहिले एउटा पेज खुल्छ । त्यहाँ नगरपालिकाको सामान्य परिचय र गतिविधि देख्न मिल्ने बनाउन लागेका छौं । त्यहाँ ओके गरेपछि मात्र नेट चल्ने भयो,’ अधिकृत खनालले भने, ‘यसो हँुदा नगर क्षेत्रको प्रचारप्रसार पनि हुने भयो ।’


एक ठाउँमा जडान भएको डिभाइसबाट करिब चार सय जनाले एकैसाथ इन्टरनेट चलाउन सक्ने उनले बताए । ‘पर डिभाइस सयवटा कनेक्सन हुन्छन्, सय मिटर रेन्जमा डिभाइसले नै काम गर्ने भयो । त्यहाँबाट नटिप्ने ठाउँमा आवश्यकता अनुसार रिपिटर राखेर तीन/चार सय जनाले एकैचोटि कनेक्ट गर्न मिल्ने बनाउँछौं,’ उनले भने ।


चालु आर्थिक वर्ष सात ठाउँका वाईफाई जडान गर्ने र आगामी वर्षदेखि आवश्यकताअनुसार अन्य ठाउँमा पनि नि:शुल्क इन्टरनेटको सेवा विस्तार गर्ने योजना नगरपालिकाको छ । नि:शुल्क वाईफाई सेवा सुरु भएसँगै पर्यटक आवागमन पनि वृद्घि हुने गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए । ‘संग्रहालय आएका पर्यटकले यहीं भित्रबाट फोटो पोस्ट गर्न सक्ने भए,’ उनले भने, ‘यसो हँुदा पर्यटकीय स्थलको प्रचारप्रसार छिटो र सजिलोगरी हुने नै भयो ।’


नगर क्षेत्रमा सीसी क्यामेरा

गोरखा नगरपालिकाको मुख्य बजार क्षेत्रमा सीसी टीभी क्यामेरा जडान गरिएको छ । सामुदायिक सेवा केन्द्रको संयोजनमा गोरखा नगरपालिकासहित वित्तीय, टोल विकास र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा ३९ वटा क्यामेरा जडान गरिएिको हो ।


यसका लागि २६ लाख ७७ हजार खर्च भएको सामुदायिक सेवा केन्द्रले जनाएको छ ।


योजनाका लागि गोरखा नगरपालिकाले मात्र १८ लाख रुपैयाँ उपलब्ध गराएको छ । नयाँ बसपार्क, ठूलोआँगन, पाटेचौर, गोरखा अस्पताल र लोकतान्त्रिक चोकलगायतका मुख्य क्षेत्रमा क्यामेरा जडान भएको केन्द्रका उपाध्यक्ष कैलाशबाबु श्रेष्ठले बताए । जिल्लाभरको सुरक्षा चुनौती विश्लेषण गर्दा गोरखा नगरमा बढी चुनौती देखिएको सुरक्षा प्रमुखहरूले बताउँदै आएका थिए ।


बजार क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सीसी क्यामेरा सहयोगी हुने नगरप्रमुख राजनराज पन्तले बताए । यसको व्यवस्थापन चुनैतीपूर्ण रहेको भन्दै यसको सुरक्षा र व्यवस्थापनमा टोलवासीले जिम्मेवार बन्नुपर्ने सरोकारवालाले बताएका छन् ।


बसपार्कमा आइल्यान्ड

गोरखा नगरपालिकाको वातावरण तथा पर्यटन विकास कार्यक्रमअन्तर्गत पुरानो बसपार्कमा आइल्यान्ड निर्माण गरिएको छ ।


नगरपालिकाले ११ लाख ७० हजार लागतमा पानीको फोहरासहितको आइल्यान्ड निर्माण गरेको हो । फूलका गमला, पानीका फोहरा र बत्तीसहितको आइल्यान्डले बसपार्कको आकर्षण बढेको छ ।

प्रकाशित : मंसिर २०, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?