कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

व्यापारीका विकासे नारा

बागलुङ — बागलुङ उद्योग वाणिज्य संघको नेतृत्वका आकांक्षी व्यापारीले विकासे नारा अगाडि सारेका छन् । संघको १७ औं अधिवेशन आगामी शनिबार हुँदैछ ।

राजनीतिक दलले संसदीय निर्वाचनमा ल्याउने नारा संघको निर्वाचनमा आएका छन् । आफूले जितेमा सडक निर्माण गर्ने, पर्यटन प्रवद्र्धन र पर्यटकीय क्षेत्र घोषणा गर्ने तथा पञ्चकोट जाने केबुलकार निर्माण गर्ने समेत घोषणा गरेर उम्मेदवारले चुनाव प्रचार गरिरहेका छन् ।


निर्वाचनमा राजनीतिक रूपमै दुई प्यानल भएर व्यापारी बाँडिएका छन् । कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिको एउटा प्यानलबाट युवराज राजभण्डारी र नेकपाको प्यानलबाट दयाराम पौडेलको नेतृत्वमा व्यापारीलाई चुनाव लागेको छ । राजभण्डारी संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने पौडेल महासचिव हुन् ।


झन्डै १ हजार २ सय मतदाता रहेको संघमा दुवै पक्षले आफ्नो बहुमत भएको दाबी पनि गरिरहेका छन् । ‘व्यावसायिक हितका लागि नारा लगाउनुपर्नेमा राजनीतिक नेताले झैं विकासका एजेन्डा अगाडि सारिनुले व्यापारीको चुनावमा राजनीति लागेको स्पष्ट हुन्छ,’ अधिवक्ता राम शर्माले भने, ‘व्यापारीको चुनावमा झन्डा ओढाएर आफ्नो बनाउने प्रवृत्ति हाबी भएको छ ।’ जनप्रतिनिधि र स्थानीय तहले गर्ने काम व्यपारीले गर्छु भन्दै एजेन्डा बनाएको उनले टिप्पणी गरे ।


राजभण्डारी समूहले विकाशे कामभन्दा व्यावसायिक हितमा काम गर्ने प्रतिबद्धता जनाएको दाबी सदस्यका उम्मेदवार नरेश कँडेलले गरे । ‘हरेक स्थानीय तहमा संघको इकाइ खोलेर राजस्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधि तोक्ने व्यवस्था गर्छौं भनेका छौं,’ उनले भने, ‘हामीले केबुलकार बनाउने नारा लगाएका छैनौं ।’ उनले करको वैज्ञानिक व्यवस्थापन गर्न स्थानीय तहमा पहल गर्ने नारा लगाएको दाबी गरे । कम्तीमा दुई सय महिलालाई पर्यटन व्यवसायसम्बन्धी तालिम दिने कार्यक्रम ल्याउने उनले बताए ।


पौडेल समूहले १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । उक्त समूहले केबुलकार र अग्लो पुल बनाउने नारा लगाएको हो । ‘नगरपालिकाले जथाभावी कर लगाएर व्यापारीको ढाड सेकेको छ । घटाएर व्यापारीलाई राहत दिने भनेका छौं,’ पौडेलले भने, ‘पर्यटन सूचना केन्द्र स्थापना गरेर पाहुना बढाउने योजना ल्याउँछौं ।’ व्यवस्थापन अभावमा सम्भावना भएका स्थानमा पर्यटक भित्र्याउन नसकिएको उनले बताए ।


दुवै पक्ष निर्वाचनमा घरदैलो, भेटघाटमा लागेका छन् । धार्मिक, राजनीतिक र सांस्कृतिक समूह बनाएर प्यानल जिताउने निर्णय गराउने र वनभोजसमेत गर्न थालेका छन् ।

प्रकाशित : मंसिर २०, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?