राजमार्ग अझै साँघुरो

बागलुङदेखि गलकोट हुँदै बुर्तिबाङ जाने खण्डमा १० मिटरभन्दा कम दूरीमा समेत घर बन्दै 
प्रकाश बराल

बागलुङ — पोखरा–बागलुङ सडक खण्ड राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पनि सूचीकृत छ । अहिले यहाँ धमाधम पुनर्निर्माणको काम जारी छ । अधिकांश स्थानमा पुरानै नाली भत्काएर त्यही जगमै नाली र पर्खाल बनाउने काम भइरहेको छ । 

राजमार्ग अझै साँघुरो

करोडौं खर्चेको सडक फराकिलो नभएको भन्दै विभिन्न भेलामा कुरा उठ्ने गरेको छ । दुई/चार वर्षमै भत्काउनै पर्नेगरी सडक साँघुरो बनाइएको भन्दै निर्माणको तरिकामाथि प्रश्न उठेका छन् । सामान्यतया राजमार्गको मध्यभागदेखि २५ मिटरको दरले दायाँ–बायाँको खण्डमा घरटहरा बनाउन नपाइने प्रावधान पनि छ ।


बागलुङ सदरमुकामदेखि गलकोट हुँदै बुर्तिबाङ जाने खण्डमा १० मिटरभन्दा कम दूरीमा समेत घर बनिरहेका छन् । भूकम्पपीडितको पुनर्निर्माण र व्यावसायिक प्रयोजनका लागि धेरै घरटहरा बनेका हुन् । मापदण्ड नपुगेका स्थानमा बनेका घरलाई पुनर्निर्माण प्राधिकरणले अनुदान दिन नमिल्ने भए पनि स्थानीय तहले समेत धमाधम अनुमति दिएका छन् ।


पोखरादेखि बागलुङको निसीसम्मको झन्डै २ सय किमि सडक चक्लाउने, कालोपत्रे गर्ने र मर्मतको काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजनाका डिभिजन इन्जिनियर रमेश दृष्टिले बताए । ‘हामीले पुरानो ७ मिटरको बाटोलाई १० मिटर फराकिलो बनाउँदैछौं । केही ठाउँमा पहरा परेकाले बढाउन सकिएको छैन,’ उनले भने, ‘डिजाइनमा भएअनुसारकै काम गरिरहेका हौं । दायाँ–बायाँ चक्ल्याउन नमिलेको स्थानमा वाल उठाएर बनाउँछौं ।’ चालु वर्षभित्रै बागलुङ खण्डको अधिकांश भाग कालोपत्रे हुने उनले दाबीसमेत गरे ।


पर्वत सदरमुकाम कुश्मादेखि बागलुङ तर्फको घुम्ती, अर्मादी, नयाँपुल र सहश्रधारामा पुरानै नालीको जगमा निर्माण भइरहेको छ । साँघुरो सडक भएकाले निर्माण सम्पन्न नहुँदै दैनिक घण्टौं सवारी जाम हुने गरेको छ । मध्यपहाडी लोकमार्गको अधिकांश ट्रयाक खुलेकाले सुर्खेतदेखि पोखरासम्मका सवारीले यो बाटो प्रयोग गर्दा सडक झन् अस्तव्यस्त हुने यातायात व्यवसायी बताउँछन् ।


‘विकल्प नदिई काम भएकाले जाममा परिरहेका छौं,’ व्यवसायी खेमबहादुर जीसीले भने, ‘आधा घण्टाको बाटो २ घण्टासम्म लागेको छ ।’ सडक निर्माणको क्रममा केही अप्ठ्यारो भएको इन्जिनियर दृष्टिले स्वीकार गरे ।


उनले १० मिटर फराकिलो सडक बनाएर ७ मिटर कालोपत्रे हुने बताएका छन् । राजमार्गकै छेउमा निर्माणाधीन घरटहरा भने नीतिगत अस्पष्टताले रोक्न नसकेको उनले बताए । ‘राजमार्गको मापदण्ड २५ मिटर भन्ने त छ ।


तर, नयाँ घोषित राजमार्गका लागि कानुन बनेको छैन,’ उनले भने, ‘बरु स्थानीय तहले समन्वय गरेर नजिकमा संरचना बनाउन नदिँदा हुन्थ्यो ।’ कानुनी बाध्यताले सल्लाह मात्र दिन सकेको उनले बताए । पुनर्निर्माणको कामले भने गति लिएको छ तर सडकमै जोडेर घरटहरा बनाउने क्रम पनि बढिरहेको छ ।


गलकोट, बिहुँ, बडिगाड र बागलुङ नगरपालिकाभित्रै समेत अव्यवस्थित तरिकाले घर निर्माण भइरहेका छन् । मुख्य सडकमै जोडेर पेट्रोलपम्प, व्यावसायिक घर र पसलसमेत निर्माण भएका छन् । सडक छेउमै व्यापारिक सामग्री थुपार्ने प्रवृत्ति बढेकाले पैदलयात्रीले मूलबाटोमै हिँड्नुपर्ने बाध्यता छ ।


यसरी निर्माण भएका घरटहराले नक्सापास भने गरेका छैनन् । कतिपय घरको नक्सा पास नभएपछि मापदण्ड मिचेर बनेको टिप्पणी सुरु भएको छ । ‘हामीले मापदण्ड नपुगेर फिर्ता पठाएका कतिपय घर बनेको सुनेका छौं । त्यस्तो हो भने अनुगमन गरेर रोक्नेछौं,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘अनुगमन समितिलाई चुस्त बनाएर मापदण्ड लागू गराउन तयार छौं ।’


गलकोट नगरले भने सडकको मापदण्ड बनाएर लागू गरिसकेको प्रमुख भरत शर्मा गैरेले बताए । ‘राजमार्गको मापदण्ड हामीले बनाएका छैनौं, भित्री सडकमा भने तोकिएको मापदण्ड पूरा नभई नक्सा पास हुँदैन,’ उनले भने, ‘नगरपालिकाको सहमति बिना बनेका घरटहरा भत्काउँदा आफैं जिम्मेवार हुने भनेका छौं ।’

प्रकाशित : मंसिर २०, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?