टावरबिनाको फोन

मोबाइलबाट कुराकानी नभएपछि गेम खेल्न, फोटो खिच्न र भिडियो हेर्न प्रयोग
धार्चेका बासिन्दालाई कतै फोन गर्नु परे १ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता
हरिराम उप्रेती

गोरखा — नेटवर्क नै नभए मोबाइल फोनसेटको के काम ? उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ उहिया तातोपानीमा गाउँलेका हात हातमा मोबाइल भए पनि कुराकानी भने गर्न सकिन्न । 

टावरबिनाको फोन

कतै फोन गर्नुपरे १ घण्टा हिँडेर गाउँले खोर्लाबेंसी झर्छन् । कुराकानी गर्ने काम नपर्दा मोबाइल गेम खेल्न, फोटो खिच्न र भिडियो हेर्न काम लागेको छ । तातोपानीका रने गुरुङ फोन गर्नकै लागि खोर्लाबेंसी झर्छन् । धेरै पटक उनलाई गाउँमा नेटवर्क नहुनुले दिक्क लाग्छ ।


‘उहियामा टावर राख्ने रे भन्ने सुनेर २ वर्षअघि नै मोबाइल किनेको हुँ,’ उनले भने, ‘टावर राख्ने कुरा मात्र चल्यो, काम सुरु भएन । मोबाइलको सजिलो काम गेम खेल्न, फोटो खिच्न र भिडियो हेर्न मात्र भएको छ ।’ सञ्चार सेवाको अभावमा उहियाका बासिन्दाले निकै सास्ती भोग्नुपरेको उनले बताए । ‘उहिया गाउँका तीन सय घरधुरी सबै सञ्चार सम्पर्कबाहिर छन्,’ स्थानीय बुद्घिबहादुर घलेले भने । गाउँमा कुनै पनि मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क नपुगेको उनले बताए ।


‘मान्छे कोही बिरामी भइहाले हेलिकप्टर चार्टरका लागि भन्न टावर टिप्ने ठाउँ खोज्दै हिँड्नुपर्छ,’ उनले भने, ‘यही गाउँको पनि डाँडामा पुगे कहिलेकाहीं त कहाँको टावरले हो काम गरेर बोल्न मिल्छ ।’ मोबाइल सेवाको नेटवर्क नपुगे पनि गाउँले अधिकांशका हातमा मोबाइल सेट छन् ।


आवश्यक पर्दा जहाँबाट नेटवर्क टिप्छ, त्यहीं पुगेर कुराकानी गर्छन् । ‘छोराछोरी बजारमा पढ्छन् । उनीहरूको हालखबर थाहा पाउन पनि मुस्किल छ,’ स्थानीय संगीता घलेले भनिन्, ‘फोनमा बोल्न परे टावर टिप्ने ठाउँमा जान १ घण्टा, फर्कंदा उकालो बाटो २ घण्टा लाग्छ । बोल्नकै लागि आधा दिन त्यसै जान्छ ।’ दूर सञ्चार सेवा प्रदायक कम्पनीहरूले नेटवर्क विस्तार गरे गाउँलेलाई धेरै सजिलो हुने उनले बताइन् ।


मनास्लु पदमार्गअन्तर्गत पर्ने उक्त क्षेत्रमा पुगेका पर्यटकहरू पनि फोन सेवाको अभावमा समस्यामा पर्ने गरेका छन् । सरकारी कार्यालय र गैसस कर्मचारीले पनि फोन सेवा नहँुदा निकै समस्या परेको गुनासो गर्दै आएका छन् । ‘यहाँको बाटो अप्ठ्यारो छ । कोही बाटोमै ठेस लागेर घाइते भए भने पनि अर्को मान्छेले देखे उद्धार गर्ने भयो,’ रने गुरुङले भने, ‘नत्र त्यसै छट्पटाउनुको विकल्प छैन ।’ सञ्चारविहीन बस्न नहुने जमानामा पनि फोन सेवा उपयोग गर्न नपाउँदा गाउँलेलाई मर्का परिरहेको उनले बताए ।

दसैं–तिहारलगत्तै उक्त क्षेत्रमा टावर राख्न सर्वे गर्ने टेलिकमले आश्वासन दिए पनि हालसम्म प्रक्रिया सुरु नगरेको गाउँलेको गुनासो छ । ‘स्काइफोन कहीं–कहीं टिप्छ, आवाज काटिएर आउँछ,’ गुरुङले भने, ‘यो जमानामा पनि फोन नहँुदा निकै दु:ख पाएका छौं । टेलिकमका कर्मचारीलाई भन्यो हुन्छ–हुन्छ मात्र भन्छन् ।’


टेलिकमलाई बारम्बार फोन सेवा उपलब्ध गराइदिन आग्रह गरे पनि बेवास्ता गरेको स्थानीयको भनाइ छ । सुगम क्षेत्रमा इन्टरनेटको प्रयोग बढिरहेका बेला यहाँको धार्चे र चुमनुव्री गाउँपालिकाअन्तर्गतका केही गाउँका स्थानीय अझै पनि टेलिफोन सेवा पाउनबाट वञ्चित छन् ।


तीन वडाका केही गाउँका स्थानीय फोन सेवाबाट वञ्चित रहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘हुल्चोक, उहिया, रुन्चेत र लामाबेंसीमा फोनले राम्रो काम गर्दैन,’ उनले भने, ‘यही वर्षभित्र टावर राखेर सञ्चार सेवा दिलाउन पहल गरिरहेका छौं ।’


उहियामा टावर राख्ने प्रक्रिया सुरु भइसकेको नेपाल टेलिकमको गोरखा शाखा प्रमुख चन्द्र श्रेष्ठले बताए । ‘सर्वे गरेर छिटै टावर राख्ने योजना छ,’ उनले भने ।

प्रकाशित : मंसिर २१, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?