१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चितामा राखेको शवसहित मलामी पक्राउ

प्रतिक्षा काफ्ले

स्याङजा — १९ वर्षीय तिलबहादुर थापाको मृत्यु शंकास्पद भएपछि जलाउनको लागि चितामा राखिएको शवसहित मलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार सेतीवेणीस्थित कालीगण्डकी किनारमा जलाउन तयारी अवस्थामा राखिएको शवसँगै प्रहरीले मलामी गएका चारजनालाई पनि नियन्त्रणमा लिइएको हो ।


गल्याङ नगरपालिका–६ का तिलबहादुरको शिकार खेल्न जाने क्रममा मंगलबार बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए । ‘थापाको मृत्यु कसरी भयो भन्ने बारेमा कोही बोल्न चाहेनन्,’ उनले भने, ‘स्कूलबाट घरमा फर्किने क्रममा जंगलमा चिप्लिएर लडेर मृत्यु भएको भने । शव हेर्दा शंका लाग्यो र घटना अनुसन्धान गर्‍यौ ।’


प्रहरीको अनुसन्धानले शिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्कदा उनी घाइते भएका थिए । उपचारको क्रममा गल्याङतर्फ लैजादा बाटोमा नै मृत्यु भएको एसपी लम्सालले बताए । शिकार खेल्नको लागि लगेको एकनाले एकवटा भरुवा बन्दुकसहित शिकार खेल्न प्रयाेग भएकाे लु १ च २५६१ नम्बरको जीप प्रहरीले नियन्त्रणमा लिएको लम्सालले बताए ।


उनीहरु जीपमाथी बसेर जंगलको यात्रा गर्ने क्रममा रोमबहादुर रानाले बोकेको भरुवा बन्दुक अचानक फायर भएको उनले बताए । प्रहरीले गल्याङ–६ का जीप चालक २८ वर्षीय कृष्णबहादुर रखाली, जीप साहु ३४ वर्षीय डिमबहादुर थापा, ३४ वर्षीय छकबहादुर थापा र ३० वर्षीय रोमबहादुर रानालाई पक्राउ गरी बिहीबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको एसपी लम्सालले बताए ।

प्रकाशित : मंसिर २१, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?