कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महिला सहकारी अब्बल

सहकारीले गाउँका केटाकेटी र गृहणीका लागि बचत गर्ने बानीको विकास गरायो

पर्वत — घरखर्च चलाउन र केटाकेटी पढाउन दुई/चार वटा बाख्रा पाल्न समस्या परेपछि २०६९ सालमा महिलाले सहकारी खोल्ने निर्णय गरेका थिए । त्यसबेला ६ सय २० रुपैयाँ बचत गरेर सुरु गरेको सहकारीको सेयर पुँजी अहिले ६३ लाख पुगेको छ । 

महिला सहकारी अब्बल

सहकारीले एकै वर्षमा एक करोडभन्दा बढी लगानी गर्न सफल भएको छ । हिजोआज सानोतिनो व्यवसाय गर्न, पशुपालन गर्न र तरकारी खेती आदि गर्न गर्जो पर्दा जलजला २, ३ र ४ का वडावासी मल्लाजकै माझफाँट महिला बचत तथा ऋण सहकारीलाई नै सम्झन्छन् ।


‘पहिला हाम्रै अत्तो फुकाउन समस्या थियो,’ सहकारीकी अध्यक्ष शान्ता लामिछानेले भनिन्, ‘अहिले पैसा चाहियो भनेर आउने जोकोहीलाई फिर्ता पठाउनु परेको छैन ।’ सहकारीमा ७ सय १ जना सेयर सदस्य पुगेका छन् । सञ्चालक समितिले अब सेयर सदस्य एक हजार र पुँजी एक करोड पुर्‍याउने लक्ष्य लिएको छ ।


सेयर सदस्य महिलाले मासिक दुई सय रुपैयाँका दरले बचत गर्दै आएका छन् । सहकारीमा आबद्ध भएपछि दुई/चार सय रुपैयाँ र सानोतिनो व्यवसायका लागि चाहिने खर्च आवश्यक पर्दा घरपरिवारका सदस्यको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको सेयर सदस्य हेमकुमारी अधिकारीले बताइन् ।


‘घरव्यवहार चलाउन साह्रै गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘गाउँमा सयकडा तीन रुपैयाँ दिन्छु भन्दा पनि कसैले पत्याउँदैनथे । अहिले गर्जो पर्दा सबैलाई खाँचो टार्न पाउँदा खुसी लाग्छ ।’ सहकारीले बिनाधितो दुई लाखसम्म ऋण प्रवाह गर्दैआएको उनले बताइन् । सहकारीले बढीमा १५ प्रतिशत ब्याजमा लगानी गरेको छ ।


मल्लाज पछिल्लो समय बजारक्षेत्रका रूपमा विकास हुँदैगएको छ । त्यसैले पनि सहकारीलाई कारोबार बढाउन सजिलो भएको छ । निर्माणाधीन पक्की भवन, कृषिमा आधुनिकीकरण, आधुनिक व्यवसायलगायतका क्षेत्रमा सहकारीले ऋण लगानी गरेको छ ।


पछिल्लो तीन वर्षयता सहकारीबाट ऋण लिएर फर्निचर, हार्डवेयर, कृषि फर्म, किराना पसल, सिलाइकटाइ, फेन्सी, ब्युटीपार्लर, घरेलु तथा हस्तकलाका व्यवसाय चलाउनेको संख्या ५० भन्दा बढी पुगेको छ । ‘पहिला व्यवसाय गर्न ऋण चाहिँदा बजार पुग्नुपथ्र्यो,’ स्थानीय युवा व्यवसायी नवीन जिसीले भने, ‘अहिले जति चाहिए पनि एकै दिनमा ऋण पाइएको छ । बैंकिङ कारोबारबाट हुने झन्झट हटेको छ ।’ गाउँबाट विदेशिएका युवाले घर पठाउने विप्रेषण पनि सहकारीले दैला दैलामै पुर्‍याउने गरेको जिसीले बताए । सहकारीले गाउँका केटाकेटी र गृहणीका लागि बचत गर्ने बानीको विकाससमेत गराएको छ ।


टीकाटालोमा पाएको रकम र अभिभावकले खाजा खान दिएको रकम समेत बालबालिकाले सहकारीमै बचत गर्छन् । कामकाजी महिलाले माइतमा पाएको पेवा बचत गर्न सहकारीले छुट्टै खाताको व्यवस्था गरिदिएको छ । जसका कारण आवश्यक पर्दा गर्जो टार्न सहज भएको स्थानीय सरिता विकले बताइन् ।

आगामी दिनमा सहकारीले गाउँपालिकासँग समन्वय गरेर कार्यक्षेत्र गाउँपालिकाभर पुर्‍याउने लक्ष्य रहेको जनाएको छ । शनिबार भएको साधारणसभामा गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले गाउँपालिकाकै साख उच्च हुनेगरी सञ्चालित सहकारीलाई सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘महिलाको मात्रै व्यवस्थापनमा सञ्चालित सहकारीबाट अरू सहकारीले पनि पाठ सिक्न आवश्यक छ ।’

प्रकाशित : मंसिर २४, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?