कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘स्मार्ट’ क्याम्पस अभियान

बुर्तिबाङमा ‘स्मार्ट’ क्याम्पस बनाउन महायज्ञ गरेर झन्डै २ करोड संकलन 
प्रकाश बराल

बागलुङ — उच्च शिक्षा पढ्न पाल्पा वा बागलुङ पठाउन नसक्दा छोराछोरी मजदुरी गर्न बाध्य भएको बुर्तिबाङका टीकाराम कुमालको अनुभव छ । त्यसैले उनले भएको पाखोबारी क्याम्पस खोल्दा दान दिए । 

उनीजस्तै कुमाल गाउँका गौमती, नरबहादुरसमेतले १२ रोपनी जमिन यहाँको निसीभुजी जनता क्याम्पसलाई दान दिएपछि भवन निर्माण गरिएको तत्कालीन अध्यक्ष तारानाथ पौडेल स्मरण गर्छन् । ‘दुई छाक खान नपाउने भए पनि छोराछोरीले पढून् भनेर जमिन दान गरेकाले हामीले यहाँ क्याम्पस बनाउन पायौं,’ पौडेलले भने, ‘अब बुर्तिबाङमै ‘स्मार्ट’ क्याम्पस बन्न लागेको छ ।’


क्याम्पसलाई स्मार्ट बनाउन यहाँ महायज्ञ पनि गरेर झन्डै २ करोड रुपैयाँ रकम जम्मा पारिएको अध्यक्ष चन्द्र अर्यालले बताए ।


ग्रामीण तहमा खुलेको क्याम्पसबाट धेरैले पढ्ने अवसर पाए पनि प्रतिस्पर्धी बनाउन सूचनाप्रविधि र कम्प्युटरलगायतको सेवा थप गर्न लागेको अर्याल बताउँछन् । स्मार्ट क्याम्पसका लागि पर्याप्त पूर्वाधार, उपकरण र सूचनाप्रविधि पुगेको बनाउने क्याम्पसको योजना छ ।


‘मजदुरी गर्नेले दिएको जग्गाको सदुपयोग र नगद दिनेको रकमसमेत परिचालन गरेर स्मार्ट क्याम्पस बनाउँछौं,’ उनले भने, ‘अब राजधानीमा पाउने शिक्षा गाउँमा दिन हामीले पहल गर्छौं ।’ २०४८ सालमा स्थापना भए पनि जग्गा अभावमा उत्तरगंगा माविमा सञ्चालन भइरहेको यो क्याम्पस केही वर्षअघिदेखि आफ्नै भवनमा सरेको थियो ।


स्थानीय कुमालले दिएको जग्गाले क्याम्पसले आफ्नै भवन पाएको थियो । जग्गा पाएपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको २ करोड २७ लाख रुपैयाँमा भवन बनेर चार वर्षअघिदेखि क्याम्पस सञ्चालनमा आएको थियो । जग्गादान गर्ने कुमालका विद्यार्थीलाई क्याम्पसले नि:शुल्क अध्ययनको व्यवस्था गरेको थियो । मानविकी र शिक्षा शास्त्र संकायमा स्नातक तह अध्यापन हुने यो क्याम्पसमा अहिले ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।


गाउँ छाडेर अन्यत्र जान नसकेका प्राथमिक तहका शिक्षक र अधिकांश छोरी–बुहारीलाई स्नातक अध्ययन गर्न क्याम्पस सहयोगी भएको छ । स्मार्ट क्याम्पस सञ्चालन हुने भएपछि ढोरपाटन नगरप्रमुख देवकुमार नेपाली र अध्यक्ष अर्याललगायतले लाखौं रुपैयाँ सहयोग गरेका छन् ।


आर्थिक संकलनकै उद्देश्यले गरिएको शैक्षिक तथा धार्मिक महोत्सवको रूपमा सञ्चालित सप्ताह महायज्ञमा १ करोड ६६ लाख नगद संकलन भएको छ । अन्य जिन्सी सामानसमेत २ करोड रुपैयाँ संकलन भएको अर्यालले बताए ।


बुर्तिबाङमा अध्ययन गर्न निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका अधिकांश स्थानका बासिन्दा आउँछन् । ढोरपाटन जाने मुख्य प्रवेशमार्ग भएकाले विभिन्न स्थानबाट बुर्तिबाङमा बसाइँ सरेर आउने क्रम बढेको छ ।


जनसंख्याको चाप बढेपछि शिक्षा र स्वास्थ्य सेवालाई सहज बनाउन नगरपालिकाबाट पनि पहल सुरु भएको नगरप्रमुख नेपालीले बताए । ‘आर्थिक अभावले सहरी क्षेत्रमा जान नसकेका विद्यार्थीलाई यहीं अवसर दिनका लागि शैक्षिक संगठनको विस्तार गर्न आवश्यक छ,’ उनले भने, ‘दलित, कुमाल र ग्रामीण जनतालाई स्वास्थ्य सेवा पनि अब गाउँमै पाउने बनाउँछौं ।’


बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल बनाउन पनि काम भइरहेको उनले बताए । यहाँका बासिन्दाले स्नातकोत्तर तहसम्मको पढाइ हुने क्याम्पस बनाउने चाहना राखेका छन् । अपरेसनसहितको स्वास्थ्य उपचार पाउने अस्पतालको चाहना नगरपालिकाले पनि राखेको उनले बताए ।

प्रकाशित : मंसिर २४, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?