कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

परीक्षा बोर्ड गम्भीर नभएको आरोप

कक्षा ११ को विज्ञानको नतिजामा असन्तुष्टि
संयुक्त आन्दोलन घोषणा

पोखरा — कक्षा ११ विज्ञानतर्फको परीक्षा नतिजामा पोखरालगायत गण्डकी प्रदेशका अधिकांश जिल्लाका प्राय: सबै विद्यार्थीको असामान्य ग्रेड आएको प्रति परीक्षा बोर्ड गम्भीर नभएको भन्दै सरोकारवाला आन्दोलित भएका छन् ।

परीक्षा बोर्ड गम्भीर नभएको आरोप

फिजिक्स, केमेस्ट्री र गणित विषयको ग्रेड सामान्यभन्दा पनि निकै तल आएपछि सरोकारवालाले आक्रोश व्यक्त गरेका हुन् ।


विज्ञान विषय पढेर भविष्यमा केही गरौंला भन्ने सोचेपनि त्यसमा असामान्य नतिजाले तगारो हालेको भन्दै विद्यालय, विद्यार्थी, अभिभावक र विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । गत असोज २० मा नतिजा प्रकाशित भएको थियो ।


एकाध विद्यार्थीबाहेक ‘सी’ ग्रेडभन्दामाथि कसैको पनि आएको छैन । सुरु सुरुमा प्राप्तांकको पुन: जाँच माग गर्ने र राष्ट्रिय परीक्षा बोर्डअगाडि प्रदर्शन गर्दै आएका विद्यार्थी र शिक्षकको मागमा बेवास्ता भएपछि उनीहरू आन्दोलित भएका हुन् । ‘नतिजाप्रति सन्तुष्ट हुने कुनै ठाउँ छैन । तनाव छ । कापीको जाँचमा खेलवाड भएको छ,’ जनप्रिय माविका विद्यार्थी पवन गिरीले भने, ‘कक्षा १२ मा राम्रोसँग पढ्न पनि वातावरण भएन ।’ लेखेको जति अंक पाउनुपर्ने भन्दै उनले उत्तरपुस्तिका पुन: जाँचको माग गरे ।


अपेक्षा गरेभन्दा निकै कम ग्रेड आएको र नतिजाले आश्चर्य र दुखी बनाएको अभिभावक मोहनराज तिवारीले बताए । ‘रिजल्ट अप्रत्याशित, अयथार्थपरक र लापारबाहीपूर्ण रहेको र अभिभावक र विद्यार्थीलाई हतास र आक्रोशित बनाउने खालको छ,’ उनले भने, ‘उच्च शिक्षामा मेडिकल, इन्जिनियरिङ तथा विज्ञान र अन्य प्रविधिका विषय पढ्ने बाटो छेकेर अभिभावक र विद्यार्थीको चाहनामाथि कुठराघात भएको छ ।’ तिवारी यही विषयमा आन्दोलित अभिभावक सरोकार समितिका संयोजक हुन् ।


सुरुमा आफ्नो मात्रै विद्यालयको नतिजा बिग्रेको हो कि भन्ने सोचेका प्रधानाध्यापक/प्रिन्सिपलले पछि सबैतिर उस्तै भएको थाहा पाएपछि गम्भीर लापारबाही गरिएको निचोडमा पुगेका हुन् । यो विषयलाई लिएर परीक्षा बोर्ड, शिक्षा मन्त्रालय र मन्त्रीकोमासम्म पुगे ।


छानबिन समिति गठन गरी समस्याको समाधान गर्ने आश्वासन दिइयो । समिति गठन पनि भयो तर त्यसको प्रतिवेदन सार्वजनिक गरिएन । पछि बुझ्दै जाँदा परीक्षा बोर्डको हेटाैंडा कार्यालय हुँदै प्रदेशका उत्तरपुस्तिका वीरगन्ज पुगेको थाहा भयो ।


केही कापी पुन: जाँच गर्दा दिनुपर्ने उत्तरको नम्बरै नदिएको गम्भीर लापारबाही भेटिएको र त्यसलाई मिलाउन पुनर्योग (रिटोटलिङ) गर्ने र त्यसका लागि निवेदन दिन भनियो । सोहीअनुसार कास्कीका ३८ विद्यालयले करिब ३५ लाख रुपैयाँसहित रिटोटलिङका लागि निवेदन दिए ।


तर त्यसको परिणाम पनि सन्तोषजनक नरहेको आन्दोलित विद्यालयको तर्फबाट संयोजन समितिका संयोजक बाबुराम पन्तले आइतबार पत्रकार सम्मेलनमा बताए । ‘कापी अयोग्य व्यक्तिले जाँचेको र परीक्षा बोर्डमा स्क्रिनिङ गर्नेले पनि लापारबाही गरेको भेटियो,’ पन्तले भने, ‘त्यसलाई ढाकछोप गर्न खोजियो ।’ विज्ञान विषयको परीक्षामा सहभागी कक्षा ११ का २ हजार ७ सय ३९ विद्यार्थीमध्ये एकाधको मात्र ए ग्रेड आएको थियो ।


रानीपौवास्थित ग्लोबल कलेजियटबाट परीक्षा दिएका ८२ विद्यार्थीमध्ये फिजिक्स विषयमा एकजनाको मात्रै सी प्लस आयो । ४४ जनाको सी, २२ जनाको डी प्लस, ११ जनाको डी र बाँकीको ई ग्रेड छ । कक्षामा सधैं प्रथम भइरहने विद्यार्थीको पनि डीमात्रै आएको प्रिन्सिपलसमेत रहेका पन्तले बताए ।


पटकपटक यस विषयमा कुराकानी गरेको, लापारबाही पुष्टी भएको, शिक्षा मन्त्रीकोमा पुग्दा पनि समस्या समाधान नभएपछि आन्दोलनमा जाने निर्णय भएको पत्रकार सम्मेलनमा जनाइयो । पोखरा महानगरका मेयर, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन बुझाउने र सोमबारदेखि परीक्षा बोर्डको पोखरा कार्यालयमा रिले अनशन बस्ने घोषणा गरिएको छ ।


यसैगरी मंगलबार सबै पक्ष काठमाडौं गएर परीक्षा बोर्ड, शिक्षामन्त्री, प्रधानमन्त्रीलाई ज्ञापन दिने र यसले पनि नभए परीक्षा बोर्डका पदाधिकारीको निलम्बनको मागसहित आन्दोलनका अन्य कार्यक्रम सार्वजनिक गरिने उनीहरूले बताए । विद्यार्थी संगठनका नेताहरूले पोखरा शैक्षिक हबको रूपमा विकास भइरहेको अवस्थामा त्यसलाई छिन्नभिन्न पार्ने षड्यन्त्रअनुसार नतिजा बिगारिएको दाबी गरेका छन् ।


अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कृष्ण दाहाल, अनेरास्ववियु कास्की भूगोल अध्यक्ष शेखर गौतम, नेविसंघ केन्द्रीय सदस्य भानु ढकाललगायतले आन्दोलनमा जाने बताएका हुन् । उनीहरूले उत्तरपुस्तिकाको पुन: परीक्षण र लापारबाही गर्नेविरुद्ध कारबाहीको माग गरेका छन् ।


परीक्षा बोर्डले विद्यार्थीको निवेदन र संस्थागत पहलपछि डी प्लस वा सोभन्दा तलको ग्रेड आएको एक विषयमा मात्र मौका परीक्षा दिन पाइने प्रावधानलाई संशोधन गरी सी प्लस वा सोभन्दा तलको ग्रेड आएका कुनै दुई विषयमा मौका परीक्षा दिन पाइने नियम पनि बनाएको छ ।


यो नियम संशोधन गर्ने बोर्डले उत्तरपुस्तिका पुन: परीक्षण किन गर्न मान्दैन भन्दै विद्यार्थी आक्रोशित भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय पोखराका प्रमुख विष्णुनारायण श्रेष्ठले यस विषयमा बोर्डले एउटा निर्णय गरिसकेको बताए । ‘यहाँबाट भएका गतिविधिको रिपोर्टिङमात्र गर्ने हो । सबै काम केन्द्रबाटै हुन्छ,’ उनले भने ।

प्रकाशित : मंसिर २४, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?