कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाहुनालाई कोसेली हातेझोला

पाहुना घर फर्कंदा आफन्तलाई सम्झना र चिनो हातबुना सामग्री लैजाने 
नागी र हिस्तानका झोला विदेशमा समेत निर्यात
घनश्याम खडका

नागी, म्याग्दी — आमा पुस्ताले घर–माइत गर्ने र गाउँका स्कुले बालबालिकाले अझै कापी–किताब बोक्ने हातबुना झोला हिजोआज ल्यापटप, आइप्याड, नोटबुक र मोबाइल फोन बोक्ने ‘ब्याग’ हुन थालेको छ । 

गाउँ आएका पर्यटकलाई गाउँलेको चिनो एउटै हुन्छ, बुनेको हातेझोला र भांग्रा । आमाहरूका हातले बुनेका फूलबुट्टे झोला र भांग्रा स्वदेशी–विदेशी पाहुनालाई आकर्षक उपहार बन्ने गरेका छन् । गाउँलेले बिदाइमा पाहुनालाई दिने उपहारको काम रैथाने उत्पादनले गरेको छ । पाहुनाले पनि घर फर्कंदा आफन्तलाई सम्झना र गाउँको चिनो हातबुना सामग्री लैजान्छन् ।


‘गाउँमा आएका पाहुनालाई आफ्नै हातले बुनेका सामान उपहार दिने गरेका छौं । टुरिस्टले पनि मन पराएर लैजान्छन्,’ अन्नपूर्ण गाउँपालिकाकी जनप्रतिनिधिसमेत रहेकी नागी आमा समूह सदस्य राममाया पुनले भनिन्, ‘पाहुनाको मागअनुसार हामीले बनाउने पुराना झोलाको डिजाइन फेरेर ल्यापटप, आइप्याड, नोटबुक र मोबाइल फोन बोक्ने ब्याग पनि बनाएका छौं ।’


गाउँमा पर्यटक आउन थालेपछि सदरमुकाम बेनीदेखि एक दिन पैदल यात्रामा पुग्न सकिने अन्नपूर्ण गाउँपालिकाको नागी, राम्चे र हिस्तानका महिलाले परम्परागत हातबुना झोलालाई परिष्कृत गरेर आधुनिक शैलीका ‘ब्याग’ बनाउन थालेका हुन् ।


‘पुराना पाराका झोला र भांग्रा हराउँदै गए । सहरका नयाँ कपडासँगै हाम्रो पुख्र्यौली सीप पनि हराउने भो,’ तानमा भांग्रा बुन्दै गरेकी अन्नपूर्ण–८ राम्चेकी मनमाया तिलिजाले भनिन्, ‘नयाँ जमानामा पुराना सामानको महत्त्व बढे पनि सीप संरक्षण भएन । कहिलेकाहीं त चिन्ता पनि लाग्छ ।’ तर, स्वरूप नयाँ दिएपछि सामान बिक्री भएको देख्दा भने उत्पादन गर्न जाँगर चल्ने गरेको उनले बताइन् ।


मेलापात र घरगोठको कामबाट उब्रेको समयमा बुनेका झोलाहरू दैलोमा बिक्री हुन थालेपछि महिलाको आर्थिक उपार्जनको दरिलो स्रोत भएको छ । समूहका सदस्यहरूले आफ्नो ज्याला र तानधागोको लगानी कटाएर गत वर्ष ५० हजार आम्दानी गरेका थिए । आम्दानीलाई समूहले सदस्यहरूको लगानी र परिश्रमको आधारमा बाँडफाँट गर्ने गरेको छ ।


नागी र हिस्तानका महिलाले बुनेका झोला विदेशमा समेत निर्यात हुन थालेको छ । गाउँका महिलाहरूको जीविकोपार्जन सुधार ल्याउन फ्रान्सेली महिला सहयोगी एल्सा सलिनभको मिलिझोला एसोसियसनले फ्रान्समा बजार प्रवद्र्धन गर्ने गरेको छ ।

प्रकाशित : मंसिर २५, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?