कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सडक विस्तारलाई तीव्रता

प्रकाश बराल

बागलुङ — जैमिनी नगरपालिका–७ का राजेन्द्र पौडेलले एक दिन लगाएर सदरमुकाम पुगेको अहिले पनि सम्झन्छन् । तर, डेढ वर्षदेखि ३ घण्टामै जैदीस्थित घर पुगेर फर्कन भ्याउने भए । 

सडक विस्तारलाई तीव्रता

कालीगण्डकी कोरिडोरको ट्रयाक नखुलेसम्म सदरमुकामदेखि ३६ किमिको जैदी र छिस्ती एक दिनको बाटो थियो । बीचमा ठूलो पहरा भएकाले घुमाउरो बाटो हिँड्न बाध्य स्थानीयलाई सोझो र सजिलै पुग्ने अवस्था सुरु भएको हो । गत वर्ष ट्रयाक खुलेको कालीगण्डकी कोरिडोरको बागलुङ र गुल्मी खण्डमा सेनाले १० मिटर चौडाको काम थालेपछि सडक अझै सहज भएको पौडेलले बताए ।


बागलुङ खण्डमा सेनाले अझै काम थालिसकेको छैन । काम भइरहेको गुल्मी खण्डमा सरर ट्याक्सी चढेरै यात्रा गर्न सकिने भइसकेको सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले बताए । ‘ठेकेदारहरूले समयमा काम नगर्दा जनता धेरै पछाडि परेका रहेछन् । अहिले सेनाले समयमै काम गरिरहेकाले धेरैको मुहारमा खुसी देखियो,’ उनले भने, ‘बम पडाएर ठूलो जोखिमका साथ सेनाले काम गरिरहेको छ ।’ करिडोरमा गुल्मीको रिडीदेखि रुद्रवेणी र बागलुङ खण्डको पनि अनुमगन गरेको उनले बताए ।


अनुगमनको क्रममा उपभोक्ता, जनप्रतिनिधिले पनि सेना आएकै कारण सयममा सडक खुलेको दाबी गरे । ‘वर्षौंदेखिको चाहना अहिले आएर पुरा हुन लागेको छ,’ करिडोर सरोकार समितिका अगुवा टीकाराम ढकालले भने, ‘यो देशकै मेरुदण्डको रूपमा चिनिने काममा ढिलाइ गर्न हुँदैन ।’ सेनाले केही समयभित्रै १० मिटर चौडा बनाउन लागेकाले सरकारले आवश्यक बजेट दिनुपर्ने समेत उनले माग गरे ।


सेनाले हाल गुल्मी खण्डमा काम गरिरहेको छ । बागलुङ खण्डका लागि चालु वर्षभित्रै चौडा पार्न २० करोड बजेट माग गरेको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताए । ‘हामी रात–दिन नभनी काम गर्छाैं, सरकारले आवश्यक बजेट दिनुपर्‍यो,’ भट्टराईले भने, ‘ग्रेड मिलेको र सहज यात्रा गर्न सकिने बाटो बनाएर देखाउँछौं ।’ करिडोरका विभिन्न खोलामा सेनाले बेलीब्रिजसमेत बनाएको छ ।


सडक चौडा पार्ने क्रममा नाली निर्माणको काम पनि सुरु भएको छ । बजेट विनियोजन भएमा बागलुङको ३६ किमि खण्डमा असारभित्रै काम सक्नेगरी जनशक्ति परिचालन गर्ने उनले बताए । जिल्ला भित्र ६० किमिभन्दा धेरै सडक करिडोरको भएपनि नयाँ ट्रयाक ३६ किमि हो ।


मालढुंगादेखि बेनीतर्फ तत्कालका लागि पुरानै ट्रयाकमा गाडी गुडेका छन् । नयाँ ट्रयाकका लागि पनि बजेट माग भएको भट्टराईले बताए । ‘सडक चौडा पार्ने कामका लागि अर्थमन्त्रालयमा बजेट माग भएको छ । स्वीकृत भएमा चालु वर्षमै काम गर्छाैं,’ उनले भने, ‘माननीयहरूले पनि हामीलाई आग्रह गर्नुभएको छ, मैले बजेट विनियोजनमा पहल गर्नुहोस् भनेको छु ।’ दसैंपछि करिडोरमा नियमित बस चल्न थालिसकेको छ । पश्चिम नेपाल यातायात व्यवसायी र धौलागिरि अञ्चल बस सञ्चालक समितिले बागलुङदेखि कुश्मीसेरा हुँदै बुटवलसम्म नियमित बस चलाउन थालेको हो ।


पहिलो चरणमै सेनाले ट्रयाक खोल्दा करिडोरमा पर्ने १८ वटा साना–ठूला पुल पनि अस्थायी रूपमा बनाइसकेको छ । तीमध्ये ४ वटा पक्की पुल तयार भएका छन् भने अन्य ट्रस्ट पुल हुन् । सडक चौडा पार्ने काम सँगै सेनाले कल्भर्ट, कज–वे र पक्की पर्खाल लगायतका काम पनि गर्ने भट्टराईले बताए ।


सेनाको काम राम्रो देखिएकाले बजेट र सेनाकै निरन्तरताका लागि पहल भएको बागलुङ क्षेत्र नम्बर १ का सांसद सूर्य पाठकले बताए । करिडोरले जोडिएकाले दक्षिण बागलुङका छिस्ती, जैदी, अर्जेवा र धुल्लुबाँस्कोटलगायतका गाउँबाट सदरमुकाम आउने बाटो छोट्टिएको छ । सुनौलीदेखि कोरला नाकासम्म ४ सय १७ किमि खण्डमा यो सडकले भारत र चीन दुई देश जोड्छ ।


कोरिडोरमा नियमित सवारी चल्न थालेपछि आसपासका १० लाख ३० हजार जनसंख्यामा बसाइँसराइ कम हुने विश्वास गरिएको छ । करिडोरले बलेवा, बिनामारे, जैदी, छिस्तीका फाँट, गुल्मी, पाल्पा र पर्वतका समेत बस्तीले आफ्नो कृषि उपजलाइ नारायणगढ, गैंडाकोटसम्म सहज बिक्रीका लागि

पठाउन सक्छन् ।

प्रकाशित : मंसिर २५, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?