३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वृद्धवृद्धाको सहारा बन्यो मिलन केन्द्र

विना थापा

कास्की — पोखरा महानगरभित्र एउटा यस्तो ठाउँ छ, जहाँ वृद्धवृद्धा दिउँसो भेला हुन्छन् । सुख–दु:खका कुरा गर्छन् । भजन सुन्छन्, गाउँछन् । खाजा खान्छन् । दिउँसो आनन्दले बिताएपछि साँझ आ–आफ्ना घर जान्छन् । भोलिपल्टको दिनचर्या फेरि उस्तै हुन्छ । 

वृद्धवृद्धाको सहारा बन्यो मिलन केन्द्र

बेला–बेला चिकित्सक बोलाइन्छन्, वृद्धवृद्धाको स्वास्थ्य जाँच गराइन्छ । आवश्यकताअनुसार अस्पताल पनि लगिन्छ । महिना–महिनामा वृद्धवृद्धा तीर्थस्थल घुम्न पनि जान पाउँछन् । यो ठाउँ हो, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्र ।


विन्ध्यावासिनी क्षेत्र वरपर घर भएका जेष्ठ नागरिकहरूका केन्द्र समय बिताउने थलो मात्रै होइन, सहारा पनि बनेको छ । घरव्यवहारमा परिरहने खटनपटन र असन्तुष्टिले उदास अनुहार लिएर आएका धेरैजना फिर्दा खुसी भएर जान्छन् । ‘सधैं आउँछु, ठूलो सहारा भएको छ,’ स्थानीय ८६ वर्षीया चन्द्रकला पौडलले भनिन्, ‘मिलन केन्द्रमा आएपछि समय गएको पत्तो हुँदैन ।’ घरमा छोराछोरी र नातिनतिना सबै आफ्नै काममा व्यस्त रहेर आफूहरूसँग कुराकानी गर्न पनि समय निकाल्न नपाउने वृद्धवृद्धाका लागि केन्द्रले ठूलो भर गरेको उनले बताइन् ।


‘हाम्रो उमेरले एक्लोपना महसुस हुनु स्वाभाविक हो, केन्द्रले गर्दा एउटा साहस आएको छ,’ मिरुवाका ८५ वर्षीय डिल्लीराज सुवेदीले भने, ‘खुसी हुन पाए स्वस्थ रहन र बाँच्ने ऊर्जा पनि थपिँदोरहेछ ।’ वृद्धवृद्धाका लागि केन्द्रले सजिलोसँग दिन काट्ने मेलो बनेको बगर मानसडकका ७५ वर्षीय इन्द्रबहादुर कार्कीले बताए । ‘कतिपय नजानेका कुरा जान्ने अवसर पाइएको छ,’ उनले भने, ‘घरदेखि जस्तो अवस्थामा आए पनि फर्कने बेला सबै प्रसन्न भएर फर्कन्छन् । मान्छे प्रसन्न भए, निरोगी हुने रहेछ ।’


तीन वर्षदेखि सञ्चालित केन्द्रमा सुरु–सुरुमा ३०/४० जना भेला हुन्थे । हिजोआज दैनिक सय जनाको हाराहारीमा जेष्ठ नागरिक आउने गरेको संयोजक रमेश अधिकारीले बताए । ‘बिहान १० बजेदेखि ५ बजेसम्म खुला हुन्छ,’ उनले भने, ‘विशेषगरी शारीरिक कसरत हुने खेल खेलाउने, भजन गाउने, प्रवचन सुन्ने, खाजा खाने व्यवस्था छ । तीन/तीन महिनामा आँखा जाँच गर्ने पनि सेवा छ ।’ दानमा चलेको केन्द्रलाई महानगरभित्रका दयालुले सघाएका छन् ।


१२ वटा निजी विद्यालयले वृद्धवृद्धा तीर्थस्थल घुमाउन पालैपालो सवारीसाधन सहयोग गर्छन् । वृद्धवृद्धालाई पोखरा उपत्यकाभित्रका विभिन्न स्थानमा महिनामा एकपटक घुमाउन लैजाने गरिएको उनले बताए ।


‘एक्लोपना अनुभव हुन नदिन, दौंतरी साथीसँग भेट गराइदिन र समय बिताउनका लागि उपयुक्त थलो हुनुपर्छ भनेर केन्द्र सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘केन्द्रले अवस्थाअनुसार जेष्ठ नागरिकलाई पारिवारिक, सामाजिक मेलमिलापमा पनि सघाएको छ । व्यावहारिक हुन र सरसफाइको शिक्षा पनि दिने गरेकाले यहाँ नियमित आउने आमबुबामा धेरै परिवर्तन देखिन्छन् ।’


७० वर्षदेखि माथिका जेष्ठ नागरिक केन्द्रमा भेला हुन्छन् । उनीहरूको खर्चका लागि विभिन्न दाताहरूमार्फत अक्षयकोष सञ्चालन गरिएको छ ।

प्रकाशित : मंसिर २५, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?