१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लटरम्म सुन्तला, प्रफुल्ल मुहार

प्रतीक्षा काफ्ले

स्याङ्जा — पश्चिम क्षेत्रका बजारको मागमा आधाभन्दा बढी सुन्तला पुर्‍याइरहेका स्याङ्जाली किसान यतिबेला हँसिला देखिन्छन् । धेरैलाई बगानका सुन्तला टिपेर बजार पठाउनको धमाधम छ ।

लटरम्म सुन्तला, प्रफुल्ल मुहार

बोट गन्ती गरेर व्यापारीलाई बगान पूरै ठेक्का लगाएका किसान परिवार फुर्सदिला भए पनि टिप्दा कतै हाँगा भाँचिने हुन् कि भनेर चनाखो छन् । आफैं टिपेर बजार पठाउने किसानहरूका परिवार पूरै लागिपरेर सुन्तला टिपरहेका भेटिन्छन् । ‘यो पल्ट मौसमले स्याङ्जालीलाई साथ दिएकै हो । बेस्सरी फलेको छ,’ भीरकोट–६ का मीनप्रसाद कोइराला भन्छन्, ‘बाजेको पालादेखि सुन्तला लगाएका राम्रो भाउ हात पार्न पाएका छन् ।’


फलफूलका अन्य जातका तुलनामा सुन्तलामा कम परिश्रम पर्ने उनको अनुभव छ । ‘रोगकीरा, मौसम र मलजल त सबैथोकमा ध्यान पुर्‍याउनैपर्छ,’ उनी भन्छन्, ‘सुन्तलाले सिजनमा एकपटक किसानका हातमा राम्रो आम्दानी पारिदिन्छ ।’


गत वर्ष करिब ५ लाखको सुन्तला बेचेका उनले यसपटक करिब ८ लाख आम्दानी हुने अनुमान गरेका छन् । ‘बजारमा उपभोक्ताले तिर्ने मूल्य किसानका हातमा पर्ने हो भने कुनै पनि किसानले सुन्तला रोप्दिन भन्नु पर्दैन,’ उनी भन्छन्, ‘बिचौलियाले गर्दा अलि कम पैसा किसानका हातमा पर्छ ।’ किसान आफैंले आफ्नो उत्पादन बजारमा लगेर बेच्न सम्भव नभएकाले सबैले बीचका व्यापारीको सहारा लिनैपर्ने अवस्था रहेको उनले बताए ।


स्याङ्जाका पकेट क्षेत्र मानिएका गाउँहरूमा यसपटक सुन्तला धेरै फलेको छ । तुलनात्मकरूपमा भाउ गत वर्षको भन्दा नबढेको किसान बताउँछन् । बिचौलियाले कममा मोलमोलाइ गर्न आउन थालेपछि कतिपय किसानले आफैं गाडीमा राखेर सुन्तला पोखरा पुर्‍याइरहेका छन् । सुन्तला सुरपरजोन कार्यक्रम सञ्चालक समिति अध्यक्षसमेत रहेका किसान बोधराज अर्याल भन्छन् ‘आत्तिएर जसले बिचौलियालाई सस्तोमा दिन्छ उसले फाइदा हात पार्न गाह्रो छ ।’


बर्सेनि सुन्तलाले जिल्लामा करोडौंको आम्दानी भित्र्याए पनि बजार असंगठित हुनुको बेफाइदा किसानलाई रहेको उनले बताए । ‘साना किसान पनि सुन्तलाबाट सिजनमा एक लाखदेखि २५ लाखसम्म आम्दानी गर्छन्,’ उनले भने, ‘भण्डारण र वैकल्पिक उपयोगको बाटो खोलियो भने फाइदा अझ बढाउन सकिन्छ ।’


अर्जुनचौपारीमा फणिनारायण अर्यालले झन्डै ८० रोपनीमा सुन्तला लगाएका छन् । आम्दानी १६/१७ लाखबाट बढदैन ।’ बजार किसानमैत्री हुन अझै बाँकी रहेको उनले बताए । पुतलीबजारका कृष्णप्रसाद अर्याल र करेन्डाँडाका भूमिजंग केसी जिल्लाकै पुराना सुन्तला किसान हुन् ।


बर्सेनि ८ देखि १२ लाख रुपैयाँ बराबरका सुन्तला बजार पठाउने दुवैलाई किसान संगठित हुनुपर्ने आवश्यकता महसुस हुन्छ । खिलुङदेउरालीका गिरिधारी कोइरालाले सुन्तलाबाट बर्सेनि १५/१६ लाख रुपैयाँ सजिलै आम्दानी गर्न सकिने बताए । ‘जानेर भन्दा पनि रहरले सुन्तला लगाउन थालिएको थियो,’ उनले भने, ‘अहिले आम्दानीको गतिलो स्रोत बनेको छ । सुन्तला स्याहार पुर्‍याएर लगाउने किसानले आम्दानीको अरू स्राते खोज्नु पर्दैन ।’


यसपटक धेरै फलेकाले आम्दानी बढ्नेमा उनी ढुक्क छन् । एलादीका खेमबहादुर गुरुङले सुन्तलाबाट सिजनमा करिब ७ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । उनी भन्छन्, ‘अब त सुन्तलाले फाइदा दिन्छ भनेर भीरपाखा सबैतिर लगाउने बढेका छन् ।’

प्रकाशित : मंसिर २५, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?