२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

लापरबाहीविरुद्ध रिले अनशन

गण्डकीका कक्षा ११ का २७३९ विद्यार्थीमध्ये ९८ प्रतिशतको नतिजा अनपेक्षित

पोखरा — कक्षा ११ को विज्ञानतर्फको उत्तरपुस्तिका जाँचमा लापरबाही भएको भन्दै आन्दोलित सरोकारवालाले सोमबारदेखि यहाँस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय गेटमा रिले अनशन सुरु गरेका छन् ।

लापरबाहीविरुद्ध रिले अनशन

गण्डकीका कास्कीसहित विभिन्न जिल्लाका विद्यालयका मेधावी छात्राछात्राको अपेक्षाभन्दा निकै कम प्राप्तांक आएपछि उत्तरपुस्तिकाको पुन: परीक्षण गरी नतिजा प्रकाशन र लापरबाही गर्नेविरुद्ध कारबाहीको माग गर्दै अनशन थालिएको हो ।


उत्तरपुस्तिका जाँचमा गम्भीर लापरबाहीले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै सम्बद्ध विद्यालय, विद्यार्थी, अभिभावक र विद्यार्थी संगठन आन्दोलित छन् । पहिलो दिनको अनशनमा विद्यार्थी संगठनका नेताहरू बसेका छन् । ‘उत्तरपुस्तिका परीक्षणमा भएको लापरबाहीको छानबिन गर्न दबाब दिन रिले अनशन सुरु गरेका हौं,’ अनेरास्ववियु कास्की भूगोल कमिटी अध्यक्ष शेखर गौतमले भने, ‘विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइँदैन ।’


गौतमसहित, नेविसंघका प्रवीन पौडेल, किशोर भण्डारी, अनेरास्ववियुका गोविन्द महत, हरि अछामी, अखिल क्रान्तिकारीका मिलन राई र विशाल तामाङ, अखिल छैठौंका दीपा थापा, नयाँशक्ति विद्यार्थी संगठनका विशाल तिमिल्सिना, रेशम सापकोटा र पीडित विद्यार्थी गरी १२ जना अनशनमा बसे ।


अनसनमा पीडित विद्यार्थी, अभिभावक, शिक्षक, विद्यार्थी संगठन पालैपालो सहभागी हुने गौतमले बताए । पोखरालगायत गण्डकी प्रदेशका अधिकांश जिल्लाका प्राय: सबै विद्यार्थीको फिजिक्स, केमेस्ट्री र गणित विषयमा असामान्य ग्रेड आएकोप्रति परीक्षा बोर्ड गम्भीर नभएको भन्दै सरोकारवालाले आइतबार चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।


असोज २० मा प्रकाशित नतिजाअनुसार ती विषयमा एकाध विद्यार्थीको बाहेक ९८ प्रतिशतको प्राप्तांक ‘सी’ ग्रेडभन्दामाथि छैन । अनपेक्षित नतिजाले विद्यार्थी अगाडिको कक्षा कसरी पढ्ने भन्ने अन्योलमा छन् । भविष्यमा राम्रो विषय चयन गरेर पढ्न असर पर्ने भन्दै अभिभावक पनि आत्तिएका छन् ।


नतिजा प्रकाशित भएलगतै शिक्षक र अभिभावकहरू उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको भन्दै परीक्षा बोर्ड, शिक्षा मन्त्रालय र मन्त्रीसम्म पुगेका थिए । त्यसपछि बोर्डले छानबिन समिति गठन गरी समस्याको समाधान गर्ने भन्दै समिति गठन पनि गरेको थियो । तर, त्यसको प्रतिवेदन अझै सार्वजनिक नगरेको गुनासो सम्बद्ध विद्यालय सञ्चालक र शिक्षकहरूको छ ।


प्रदेशका उत्तरपुस्तिका वीरगन्ज पुगेको र केही कापी पुन: जाँच गर्दा दिनुपर्ने उत्तरको नम्बरै नदिएको गम्भीर लापारबाही भेटिएको र त्यसलाई मिलाउन पुनर्योग (री–टोटलिङ) गर्ने र त्यसका लागि निवेदन दिए पनि चित्तबुझो रूपमा नतिजा नआएपछि आन्दोलनमा जानु परेको पीडित विद्यार्थीको नेतृत्व गर्दै आएका प्रकाश शर्माले बताए ।


आन्दोलित विद्यालयको संयोजन समितिका संयोजक बाबुराम पन्तले कापी अयोग्य व्यक्तिले जाँचेको र परीक्षा बोर्डमा स्क्रिनिङ गर्नेले पनि लापरबाही गरेको भेटिएको बताए । उनले भने, ‘लापरबाही गर्नेहरूलाई बचाउन विद्यार्थीको भविष्य बर्बाद पार्न हुँदैन ।’

प्रकाशित : मंसिर २५, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?