३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘भोज खाँदैमा हट्दैन छुवाछूत’

आश गुरुङ

लमजुङ — झिसमिसे साँझ । गाउँघरमा खाना खाने समय । एक हूल मानिसले पकाएर खानाका परिकार ल्याए । खानेले कुर्चीमा बसेर थपीथपी खाए ।

‘भोज खाँदैमा हट्दैन छुवाछूत’

भीडमा देखिए सुन्दरबजार–४ दुराडाँडा अर्चल्यानीका ७९ वर्षीय पूर्णभद्र न्यौपाने । आलु र काउलीको तरकारीसँग खीर खाँदै मुला, गाजर र केराउको अचार चपाउँदै गरेका उनले भने, ‘दाँत खासै छैन तैपनि खाइरहेको छु ।’ स्थानीय भीमबहादुर बसेल, डिल्लीबहादुर रम्तेल, सन्ध्या परियार, सुभाष विक र बुधराम परियारलगायतले उनलाई ‘के ल्याइदिउँ बा ?’ भनी सोधी–सोधी थपिदिए । न्यौपानेले मीठै मानेर खाए ।


‘यहाँ सबै भ्रममा बाँचेका छन् । ठोस प्रमाण केही छैन । जातका नाममा विभेद गर्नुपर्छ भनेर कुन शास्त्रमा उल्लेख छ र ?,’ न्यौपानेले भने । कथित दलितले पकाएको धेरैपटक खाएको र सँगै बसेर खाएको पनि उनले सुनाए । ‘केही भए अहिलेसम्म हुनुपर्ने हो त । सग्लो नै छु,’ उनले भने, ‘तर, सँगै बसेर भोज खाएर मात्रै समाजबाट छुवाछूत नहट्ने रहेछ । व्यवहार परिवर्तनमा ढिलो छ हाम्रो समाज ।’


उनी मात्रै होइन टीकाराम खनिया, लक्ष्मीप्रसाद मिश्र, विष्णुभक्त अधिकारी र पशुपति खनिया लगायतले पनि भोजमा थपीथपी खानेकुरा खाए । कसैले अप्ठ्यारो महसुस गरेनन् । ‘यहाँ त अप्ठ्यारो महसुस गर्नुहुन्न । यो त सहभोज कार्यक्रम हो । सार्वजनिक कार्यक्रम हो । घरघरमा कहाँ यस्तो हुन्छ र ?,’ एक दलित महिलाले भनिन्, ‘भोज खाएर मात्रै हटदैन छुवाछूत । छुवाछूत आफ्नै घरबाट हटाउनुपर्छ ।’ उनले अझै पनि छुवाछूत रहेको र गैरदलितको घरभित्र पस्न नदिने, आफूले खाएको भाँडा आफैंले पखाल्नुपर्ने, पानी छुन नहुने समस्या रहेको उनले बताइन् ।


दुराडाँडाका अर्चल्यानी बाटेगरा जहाँ २००६ साउन ११ मा पण्डित तोयानाथ अधिकारीलगायत २७ जना ब्राह्मणले हलो जोतेर सामाजिक क्रान्तिको सुरुवात गरेका थिए । जानेबुझेकाहरूका अनुसार त्यसअघि ब्राह्मणले हलो कहीं जोतेका थिएनन् । सहभोजमा सहभागी पण्डित तोयानाथका छोरा शशीकान्तका अनुसार सबैका घरमा कथित दलित हली थिए ।


हलो जोत्नेलाई त्यतिबेला कथित दलितको संज्ञा दिइयो । ‘सामाजिक क्रान्तिका लागि बुबाहरू जेलनेल पर्नुभयो । ठूलै अपराध गरेजस्तो ठहरियो । यसले समाजमा एउटा क्रान्तिको सुरुवात भयो,’ उनले भने, ‘हामीले अब अर्को क्रान्तिको सुरुवात गर्नुपर्छ भनेर सहभोज गर्‍यौं । सहभागी भयौं ।’


धेरै ठाउँमा अझै पनि दलितले छोएको चल्दैन । उपल्लो जातका भनिनेहरू दलितसँगै बसेर खान रुचाउँदैनन् । छोएमा अर्को खानाको व्यवस्था गर्ने चलन छ । यद्यपि दुराडाँडामै कतिपय दलित समुदायसँग छुवाछूतको व्यवहार गर्छन् । आफ्नै बुहारीले पकाएको खाँदैनन् । तर, छुवाछूत विस्तारै हटदै गएको स्थानीय ऋषिराम खनियाले बताए ।


‘गाउँसमाजमा छुवाछूतका गतिविधिलाई हामी निमिट्यान्न पार्न चाहन्छौं,’ हलोक्रान्ति नेपाल तोयानाथ स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनले भने, ‘कसैले पनि कसैलाई छुवाछूत गर्न पाइने छैन । यो अभियानको सुरुवात हामीले सहभोजबाट गर्‍यौं ।’ उनका अनुसार शनिबार आयोजित सहभोजमा दलित र गैरदलित सबैले सामूहिक रूपमा पकाएर सामूहिक रूपमा खुवाएका थिए ।


निम्त्याइएका पाहुनाले पनि सँगै बसेर खाए । प्रतिष्ठानका सचिव दीपक पौडेलका अनुसार सहभोज पनि एउटा सामाजिक क्रान्ति हो । ‘क्रान्तिलाई हामीले हाम्रै पालामा सफल बनाउनुपर्छ,’ उनले भने, ‘ब्राह्मण समुदायकै अगुवाइमा सहभोग आयोजना गर्‍यौं । ब्राह्मणकै अगुवाइमा हलो जोत्ने काम भएकै हो । यसले एउटा सफलता अवश्य प्राप्त गर्नेछ ।’


स्थानीय शिक्षक बुधराम परियारले सार्वजनिक कार्यक्रममा छुवाछूत विस्तारै हटे पनि व्यक्तिगत घरगृहस्थीमा नहटेको बताए । ‘हुन त सबैका आ–आफ्नै नियम होलान् । घरमा पस्न दिने, पस्न नदिने । हामी पनि पस्न पाउनुपर्छ भनेर जबर्जस्ती गर्दैनौं,’ उनले भने, ‘तर, जानेबित्तिकै पिंढीमा चकटी फाल्ने, खाएको भाँडा आफैं धुनुपर्छ भन्नेजस्ता व्यवहार पाएका छौं ।’


घरघरबाटै छुवाछूत हटाउन सहभोजलाई एउटा सुरुवात मान्न सकिने उनले बताए । ‘भोलिपर्सि पुरानै व्यवहार दोहोरिए सहभोजको कुनै अर्थ रहन्न,’ उनले भने । जातीय भेदभावविरुद्ध युवाहरू एक हुन आवश्यक रहेको उनले बताए । ‘हामी दलित–दलितबीच नै छुवाछूत सुन्छौं, देख्छौं । त्यस्तो व्यवहारमा सुधार जरुरी छ,’ उनले भने । गोरखाको पालुङटारकी शिक्षक सरिता विष्टले जातकै आधारमा छुवाछूत र विभेद गर्ने चलनलाई निरुत्साहित गर्नुपर्ने बताउँछिन् । ‘यो त मानवीयताविरुद्धको काम हो । कानुन लाग्छ,’ उनले भनिन्, ‘हामी व्यवहारमा सुध्रिन आवश्यक छ ।’


हलोक्रान्तिका अगुवा तोयानाथका छोरा शशीकान्त अधिकारी अध्यक्ष रहेको मानव र वातावरण संस्थाको सहयोगमा आयोजित सहभोजमा सुन्दरबजार नगरप्रमुख जनकराज मिश्र, नेकपाका नेता भीमबहादुर गुरुङ, कांग्रेस नेता रामबहादुर विक, वडाध्यक्ष अमृत न्यौपाने र कृष्णराज खनिया, नेपाल जातीय मुक्ति समाजका अध्यक्ष प्रेम रम्तेल, दलित संघका अध्यक्ष सुकराम दुलाल, युवा परिषद्का जिल्ला अध्यक्ष विवश बुढाथोकी, युवा नेता हीरालाल विक, सामाजिक अगुवा द्वारिकाप्रसाद मिश्र र लक्ष्मीकान्त अधिकारीलगायत पुगेका थिए ।


‘सामाजिक विकृति र विचलनविरुद्धका आवाज ठाउँ–ठाउँमा पुर्‍याउनुपर्छ । हामी कानुन विपरीत, संविधानविपरीत अघि बढ्न सक्दैनौं,’ नगरप्रमुख मिश्रले भने, ‘रुढीवादी परम्परा हटाउनै पर्छ ।’ अभिभावले आफू सुध्रिएर सन्तानलाई सिकाउन सके मात्रै सामाजिक अन्तर्घुलनले समृद्धि र विकासमा सहयोग पुग्ने उनले बताए ।

प्रकाशित : मंसिर २५, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?